आइएमई लाइफको ३४.५ प्रतिशत लाभांश घोषणा, १ अर्ब बराबरको बोनस सेयर

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा बिहीबार बस्दैछ । कम्पनीको सञ्चालक समितिको ४३४औं बैठकको निर्णयअनुसार सभा काठमाडौं तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन गर्नेछ । त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन पनि गरिनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।  निष्काशन गर्नको लागि मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । न्यून आय भएका तथा पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघुजीवन बीमा सेवा पुर्‍याउने उद्देश्यले कम्पनीले धितोपत्र बोर्डबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको हो । यस कम्पनीमा संस्थापक लगानी ७० प्रतिशत रहेको छ भने आईपीओ जारीपश्चात सर्वसाधारणको लगानी ३० प्रतिशत रहनेछ ।