घरविहीन भएकालाई नेपाल लाइफले दियो राहत सामग्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान गरेको छ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको हो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे । वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए । यस भीषण आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो । मटिहानी नगरपालिका वडा नम्बर ६ मा लागेको आगोले सय भन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव पचास वटा जति घरमा क्षति भएको छ ।

नेपाल लाइफले सञ्चालन गर्‍यो दुई दिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट करिब ५ सय जनाभन्दा बढी लाभन्वित भएको कम्पनीले जनाएको छ । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइललगायतका विशिष्टीकृत जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी,अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेकाले शिविर सञ्चालन गरिएको जानकारी गराए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनले हाल काठमाण्डौमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रूपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए ।

ठूलाबाट ठूलै गल्ती, साना सधैं मारमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार बिहान २८ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले सञ्चालक समितिको बैठक बसेर २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो । आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१ रुपैयाँमा थियो । सोमबार लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४९६ रुपैयाँसम्म कारोबार भयो । बजार बन्द नहुँदै सिटिजनको लाभांश बीमा प्राधिकरणले रोकेको समाचार विकासन्युजले प्रकाशित गरेपछि कम्पनको सेयर मूल्यमा एकाएक गिरावट आयो र प्रतिकित्ता ४६३ रुपैयाँमा रोकियो । यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जानकारी गरायो । ३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निर्णय बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफ इन्स्योरेन्सको दाबी छ । ३४.५ प्रतिशत लाभांश घोषणापछि प्रतिकित्ता ६०६ रुपैयाँसम्म कारोबार भएको आईएमई लाइफको सेयर मूल्य लाभांश घटाउनेवित्तिकै मूल्य घटेर ५४५ को हाराहारीमा आएको छ । दुवै कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लाभांश घोषणा गरेका हुन् । नेपालको सन्दर्भमा ५ अर्ब रुपैयाँ पुँजी लगानी भएको पब्लिक कम्पनीलाई ठूलै कम्पनी मानिन्छ । बैंकिङ र बीमा क्षेत्र नियामकले प्रोफेसनल व्यक्तिहरूले व्यवस्थापन गरेको, नियामकले राम्रोसँग नियमन गरेको, पारदर्शी र लगानीकर्ताको लागि तुलनात्मक रूपमा कम जोखिमपूर्ण क्षेत्र मानिन्छ । तर, ठूलाबढाले चलाएको यही क्षेत्रमा साना लगानीकर्ता मारमा परेका छन् । नेपालमा एक आर्थिक वर्षमा एकपटक मात्रै लाभांश वितरण गर्न पाउने वा अन्तरिम लाभांश वितरण गर्न चाहेमा नियामक निकायसँग पहिल्यै छलफल गरेर मात्रै वितरण गर्न पाउने व्यवस्था छ । तर, नियामकलाई व्यवास्था गर्दै आफूखुसी निर्णय गरेर लाभांश घोषणा गरेपछि नियामकले आफ्नो अधिकार प्रयोग गर्यो । र, लाभांश रकम घटायो वा वितरणमा नै रोक लगायो । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लाभांश वितरणका लागि नियामकबाट अनुमति लिनु पर्ने जानकारी हुँदा हुँदै वेवास्ता गर्दा प्राधिकरणले पनि यस्तो निर्णय लिनु परेको बताउँछन् । ‘प्राधिकरणले पछि स्वीकृत गर्ने गरी भनेर जानकारी नै नगराई लाभांश घोषणा गर्न मिल्दैन,’ उनी भन्छन्, ‘उनीहरूले गल्ती सच्याउन भनेर सजाय स्वरुप नै लाभांश वितरणमा रोक लगाएका हौं ।’ उनले अन्य कम्पनीलाई पनि यस्ता गल्ती नगर्न आग्रह गरेका छन् भने गल्ती गरेका कम्पनीलाई पनि निर्णय सच्याउन निर्देशन दिएको बताएका छन् । एउटा कम्पनीको कमजोरीले सेयर बजारका लगानीकर्तालाई भने ठूलो असर गरेको छ । उच्च लाभांश पाइने भनेर ती कम्पनीहरूमा लगानी गरेका लगानीकर्ताहरूको अहिले ठूलो रकम डुबेको छ । उनीहरू यसमा सम्बन्धित कम्पनी र नियामकको कारण आफूहरूको लगानी डुबेको गुनासो गर्छन् । लगानीकर्ता दिनेश आचार्य यस्तो कमजोरी हुनुमा सम्बन्धित कम्पनी र नियामक पनि दोषी रहेको धारणा राख्छन् । ‘कम्पनीहरूले पनि प्रकृया के हो ? कसरी लाभांश घोषणा गर्ने भनेर बुझ्न जरूरी छ, नियामकले पनि हरेक विषयमा हस्तक्षेप गर्न खोज्नु हुँदैन, यो दुइटैको गल्ती भयो,’ लगानीकर्ता आचार्यले भने । विदेशी स्टक मार्केटमा यसलाई कमजोरी मात्रै होइन, अपराधको रूपमा लिइन्छ । यो एक किसिमको फाइनान्सियल क्राइम नै रहेको लगानीकर्ताको विश्लेषण छ । यस विषयमा नेपाल धितोपत्र बोर्डले पनि चासो राख्नु पर्ने उनीहरूको माग छ । ‘लगानीकर्ताहरूको जुन क्षति व्यहोरेका छन्, यसको क्षतिपूर्ति सम्बन्धित कम्पनी र नियामकले बेहोर्नुपर्छ, यस्ता विषयहरू बारम्बार दोहोरिरहेका छन्, यस्तो गल्ती दोहोरिन नदिनका लागि नीतिगत व्यवस्था नै हुनुपर्छ,’ उनले भने ।