हिमालयनलाई सूर्यज्योतिको टक्कर, पछ्याउँदै सानिमा रिलायन्स र प्रभु महालक्ष्मी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको निर्देशन दिएपछि ९ जीवन बीमा कम्पनी मर्जर तथा एक्विजिशन भई ४ वटा जीवन बीमा कम्पनी बने । २० वटा जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनी मर्जर तथा एक्विजिशन भई १४ वटा कम्पनीमा सीमित छन् । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई सानीमा रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ, प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाई मर्ज भई हिमालयन लाइफ र सूर्य लाइफ मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बने । यी ४ वटै जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरपश्चात् बनेका यी ४ जीवन बीमा कम्पनीहरूमध्ये अधिकांश सूचकमा हिमालयन लाइफ अग्रस्थानमा छ भने सूर्यज्योति लाइफले पच्छ्याइरहेको देखिन्छ । चुक्ता पुँजी मर्जरपश्चात् हिमालयन लाइफको पुँजी ८ अर्ब बढी पुगेको छ भने अन्य कम्पनीले पुर्याउन सकेका छैनन् । हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफको ४ अर्ब १८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब २९ करोड रुपैयाँ र सूर्यज्योति लाइफको ४ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा सीमित छन् । सेयर प्रिमियम पुस मसान्तसम्मको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी र सूर्यज्योतिसँग मात्रै सेयर प्रिमियम रकम जम्मा छ । प्रभु महालक्ष्मीको १ करोड ९३ लाख रुपैयाँ र सूर्यज्योतिको ३ करोड ७२ लाख रुपैयाँ सेयर प्रिमियममा छ । महाविपत्ति कोष महाविपत्ति कोषका आधारमा हिमालयन लाइफ अगाडि छ । हिमालयनको ४८ करोड ११ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३ करोड १३ लाख रुपैयाँ, सानिमा लाइफको ११ करोड ८३ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग रिटेन्ड अर्निङ्ग सूचकमा सूर्यज्योति लाइफ अग्रस्थानमा छ । सूर्यज्योतिको १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफको १ अर्ब ३० करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सको ९२ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी अन्य इक्विटीमा पनि सूर्यज्योति लाइफ अगाडि छ । सूर्यज्योतिको १ अर्ब १८ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मीको ९ करोड २६ लाख रुपैयाँ, हिमालयनको ७ करोड २२ लाख रुपैयाँ र सानिमा रिलायन्सको २ करोड ४२ लाख रुपैयाँ छ । जीवन बीमा कोष जीवन बीमा कोषमा सबैभन्दा बढी रकम हिमालयन लाइफको छ । हिमालयन लाइफको ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योतिको ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ, सानिमा लाइफको १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कुल बीमा शुल्क आर्जन बीमा शुल्क धेरै संकलन गर्नेमा हिमालयन नै अग्रस्थानमा छ । हिमालयन लाइफको ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्सको २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्क मर्जरपश्चात् व्यवसाय वृद्धिमा हिमालयन अगाडि छ । पुस मसान्तसम्म सबैभन्धेरै खुद बीमा शुल्क आर्जन हिमालयन लाइफले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद दाबी भुक्तानी पुस मसान्तसम्म बीमितलाई सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ, सूर्यज्योतिले ४ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९० कोड ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । अभिकर्ता कमिसन समीक्षा अवधिमा अभिकर्तालाई सबैभन्दा धेरै कमिसन दिनेमा हिमालयन लाइफ छ । हिमालयन लाइफको ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३७ करोड ८५ लाख रुपैयाँ, सानीमा रिलायन्सको २८ करोड ७९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २३ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ । खुद नाफा ६ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफको ३४ करोड ६० लाख रुपैयाँ, सूर्यज्योकिो २३ करोड ६६ लाख रुपैयाँ, सानीमा रिलायन्सको २१ करोड ९७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन् । कुल आम्दानी र खर्च वित्तीय विवरण अनुसार पुस मसान्तसम्म हिमालयन लाइफको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ छ भने १० अर्ब ६३ करोड रुपैयाँ कुल खर्च गरेको छ । यस्तै, सूर्यज्योति लाइफको कुल आम्दानी ५ अर्ब ८६ करोड रुपैयाँ र कुल खर्च ५ अर्ब ६२ करोड रुपैयाँ, सानिमा रिलायन्सको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ र कुल खर्च ३ अर्ब १८ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको कुल आम्दानी २ अर्ब ६० करोड रुपैयाँ र कुल खर्च २ अर्ब ४२ करोड रुपैयाँ छ । बीमा लेख यस अवधिमा सबैभन्दा बढी बीमा लेख बिक्री गर्नेमा सूर्यज्योति लाइफ रहेको छ । यस कम्पनीले ९ लाख ८५ हजार बीमा लेख बिक्री गरेको छ । यस्तै, सानिमा लाइफले ८ लाख ६७ हजार, प्रभु महालक्ष्मीले ४ लाख ७८ हजार र हिमालयनले ३ लाख ८४ हजार बीमालेख बिक्री गरेको छ । लगानी हिमालयन लाइफले दीर्घकालिन लगानी ५१ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र छोटो अवधिको लगानी ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ गरेको छ । सानिमा रिलायन्सको दीर्घकालिन लगानी १० अर्ब ८८ करोड ७४ लाख रुपैयाँ र छोटो अवधिको लगानी ४ अर्ब ७७ करोड रुपैयाँ गरेको छ । यस्तै, सूर्यज्योतिको दीर्घकालिन लगानी ३० अर्ब १३ करोड ४८ लाख रुपैयाँ र छोटो अवधिको लगानी ३ अर्ब ४० करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको दीर्घकालिन लगानी ११ अर्ब ३९ करोड १९ लाख रुपैयाँ र छोटो अवधिको लगानी २ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लगानी गरेका छन् ।

पुँजी वृद्धिको योजनालाई पुनर्बीमा कम्पनीको ‘इग्नोर’

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीहरूले नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन अवज्ञा गरेका छन् । प्राधिकरणले १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिए पनि पुनर्बीमा कम्पनीहरू नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले निर्देशन अटेर गर्दै पुँजी वृद्धिको योजना पेस नगरेका हुन् । नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । पुँजी वृद्धिको योजना पेस गर्न दिएको समयावधि सकेको पनि आज चार दिन बढी भइसकेको छ । तर, पुनर्बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेस गरेका छैनन् । प्राधिकरणका अनुसार हालसम्म दुइटै पुनर्बीमा कम्पनीले पुँजी वृद्धि सम्बन्धी कुनै पनि योजना पेस गरेका छैनन् । हिमालयन पुनर्बीमाले वार्षिक साधारण सभाको सूचना सार्वजनिक गर्दै ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरे पनि सो विषयको औपचारिक जानकारी भने प्राधिकरणलाई गरेको छैन । ‘कम्पनीहरूले अध्ययन गरेर योजना पेस गर्न भनेका थियौं । तर, हालसम्म पेस गरेका छैनन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘प्राधिकरणले निर्णय गरिसकेको छ, सरकारले कहिलेसम्म पुर्याउने भन्ने विषय रहन्छ, योजना पेस गर्ने समय थप पनि गरिएको छैन, कम्पनीले यसरी अवज्ञा गर्न मिल्दैन ।’ नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल पुँजी वृद्धिको विषय छलफल कै क्रममा रहेकोले योजना पेस गर्न नसकेको बताउँछन् । अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेकाले आजको भोलि नै पुँजी वृद्धि गर्न नसकिने उनको भनाइ छ । प्राधिकरणलाई योजना पेस गर्ने समय थप गर्न माग गरेको पनि उनले बताए । उनका अनुसार कम्पनीको व्यवस्थापन समूहले योजना बनाइरहेको छ । ‘अथमन्त्रीज्यूसँग छलफल भएको छ । तर, उहाँले केही भन्नु भएको छैन, अब हामी योजना बनाएर अर्थमन्त्रीज्यूसँग छलफल गर्छाैं, त्यसपछि निर्णय लिन्छौं,’ उनले भने, ‘१५ दिनको समय सकिएको हुँदा प्राधिकरणसँग थप समय मागेका छौं, मन्त्रालयसँग छलफल गर्न प्रयाप्त समय नभएकाले थप समय मागेका हौं, ५ अर्बको पुँजीलाई २० अर्ब पुर्याउन आजको भोलि सकिँदैन ।’ अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रेस सल्लाहाकार प्रकाश थापाका अनुसार अर्थमन्त्रीले पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका विषयमा कुनै निर्देशन दिएका छैनन् । प्राधिकरणसँग यस विषयमा छलफल गरेको भए पनि पुँजी वृद्धि गर्नुपर्छ भन्ने निर्देशन नदिएको जानकारी थापाले गराए । स्रोतका अनुसार पुनर्बीमा कम्पनीहरूलाई अर्थमन्त्रीले ग्रिन सिंग्नल दिएपछि प्राधिकरणको अवज्ञा गर्दै योजना पेस नगरेका हुन् । टप लेभल अस्वस्थ हुँदा समस्या अहिले नियामक नेपाल पुनर्बीमा कम्पनीको उच्च तहका सबै कर्मचारी अस्वस्थ हुँदा समस्या देखिएको बुझिएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, सुशिल सुवेदी, सहायक निर्देशक केदारनाथ भट्ट लगायतका उच्च तहका कर्मचारी अहिले बिरामी बिदामा छन् । यस्तै, प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछाने पनि चार दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा गएका छन् । त्यसैले नेतृत्व गर्ने उच्च तहका कर्मचारीको अहिले अभाव हुँदा पुँजी वृद्धिको विषयमा प्राधिकरण केही बोलेको छैन ।

यूनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश पारित, ५ जना सञ्चालक निर्वाचित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो । कम्पनीको सभाले सञ्चालक समितिमा समूह ‘क’बाट प्रतिनिधित्व गर्ने अजाद श्रेष्ठ, प्रणव कुमार दास (सीजी फुड्स नेपाल), बलराम खनाल (चौधरी ग्रप) र समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचित गरेको छ । सभाले संचालक समितिका अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।