एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव
काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पाउनेछन् । उक्त बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । तोकिएको २ अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको र नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि पेश गरिसकेको कम्पनीले जानकारी गराएको छ । सोही सभाले कम्पनीको आर्थिक वर्ष २०८०८१ को लागि श्री आर राजकर्णीकार एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गरेको हो । हाल कम्पनीको कुल बीमाशुल्क आम्दानी २ अर्ब ४० करोड, खुद बीमाशुल्क आम्दानी ७४ करोड २२ लाख र खुद नाफा २० करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ४.०९ प्रतिशतले बढेर ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आइरहेको छ । जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरु समेत समावेश गरिएको छ । साथै, कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकहरुसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ ।
जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी सवा ५ खर्ब पुग्यो, कुन कम्पनीको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरूले अर्बाैं रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गर्छन् । नेपाल बीमा प्राधिकरणका बीमा कम्पनीहरूले बैंकको मुद्दति निक्षेप, ऋणपत्र पत्र, घरजग्गा, सूचीकृत कम्पनीको सेयर लगायत कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेका छन् । जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म दीर्घकालीन लगानी ५ खर्बभन्दा बढी पुगेको छ । १४ वटा जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्म ५ खर्ब २१ अर्ब ७ करोड ५ लाख रुपैयाँ दीर्घकालिन लगानी गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब १३ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी २६ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा धेरै सानीमा रिलायन्स लाइफले दीर्घकालिन लगानी बढाएको छ । यस कम्पनको ११७ प्रतिशत बढेर १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको हो । सिटिजन लाइफको ६८.४१ प्रतिशत बढेर १६ अबए १० करोड रुपैयाँ, प्रभु महालक्ष्मीको ६२.७४ प्रतिशत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ, रिलायबल नेपालको ६२.५३ प्रतिशत बढेर १३ अर्ब ८२ करोड रुपैयाँ, हिमालयन लाइफको ५३.६२ प्रतिशत बढेर ५१ अर्ब ६२ करोड रुपैयाँ दीर्घकालीन लगानी गरेको छ । यस्तै, आइएमई लाइफको ४४.५१ प्रतिशत बढेर १० अर्ब ६१ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ४३.१३ प्रतिशत बढेर ३० अर्ब १३ करोड रुपैयाँ, एशियन लाइफको २३ प्रतिशत बढेर २८ अर्ब ५९ करोड रुपैयाँ, नेपाल लाइफको २१.३४ प्रतिशत बढेर १ खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँ दीर्घकालीन लगानी गरेका छन् । यस्तै, नेशनल लाइफको २०.८७ प्रतिशत बढेर ५८ अर्ब ३४ करोड रुपैयाँ, एलआईसी नेपालको १३.५९ प्रतिशत बढेर ८६ अर्ब ४१ करोड रुपैयाँ, मेट लाइफको १३.२१ प्रतिशत बढेर २४ अर्ब ९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमाको ९.२५ प्रतिशत बढेर २८ अर्ब ८२ करोड रुपैयाँ र सन नेपाल लाइफको ९.१२ प्रतिशत बढेर ७ अर्ब ३१ करोड रुपैयाँ दीर्घकालीन लगानी गरेका छन् । साथै, जीवन बीमा कम्पनीहरूले छोटो अवधिको लगानी भने साढे २ प्रतिशतले घटेर ७४ अर्ब २ करोड रुपैयाँ लगानी गरेका छन् । समीक्षा अवधिमा ७ वटा जीवन बीमा कम्पनीको बढेको छ भने ७ वटा कम्पनीको छोटो अवधिको लगानी घटेको छ । सबैभन्दा धेरै छोटो अवधिको लगानी बढाउनेमा सन नेपाल लाइफको ८८७.२२ प्रतिशत बढेर २ अर्ब ९८ करोड रुपैयाँ, सानीमा रिलायन्सको ४०७.८९ प्रतिशत बढेर ४ अर्ब ७७ करोड रुपैयाँ, आइएमई लाइफको १४६.०६ प्रतिशत बढेर २ अर्ब ८६ करोड रुपैयाँ छोटो अवधिमा लगानी गरेका छन् । नेपाल लाइफको ३८.३६ प्रतिशत बढेर ४ अर्ब १७ करोड रुपैयाँ, एलआईसी नेपालको ३७.८४ प्रतिशत बढेर ८ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमाको २४.९६ प्रतिशत बढेर १८ अर्ब २७ करोड रुपैयाँ, रिलायबल नेपालको १०.५५ प्रतिशत बढेर १ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका छन् । यस्तै, सूर्यज्योतिको २.३३ प्रतिशत घटेर ३ अर्ब ४० करोड रुपैयाँ, एशियन लाइफको ९ प्रतिशत घटेर ९ अर्ब ६८ करोड रुपैयाँ, मेट लाइफको १४.८८ प्रतिशत घटेर ३ अर्ब २५ करोड रुपैयाँ, प्रभु महालक्ष्मीको ४१.९७ प्रतिशत घटेर २ अर्ब ९ करोड रुपैयाँ लगानी गरेका छन् । सिटिजन लाइफको ४६.९२ प्रतिशत घटेर ६५ करोड ३२ लाख रुपैयाँ, नेशनल लाइफको ५१.१६ प्रतिशत घटेर ५ अर्ब १० करोड रुपैयाँ र हिमालयन लाइफको ५३.५८ प्रतिशत घटेर ७ अर्ब १८ करोड रुपैयाँ छोटो अवधिको लगानी गरेका हुन् ।
पुनर्बीमा कम्पनीमा सरकार हावी हुँदा भटाभट सेयर बेच्दै पुराना लगानीकर्ता
काठमाडौं । केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै आइएमई ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने जानकारी गरायो । देशको ठूलो व्यावसायिक समूह आइएमई ग्रुप अन्तर्गतको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिने निर्णय सो ग्रुपले गर्यो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको ती कम्पनीले कुल १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । त्यस्तै, एक वर्षयता विशाल ग्रुपले २५ लाख कित्ता, प्रभु इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता र नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्री गरे । नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरूसहित विभिन्न ठूला व्यावसायिक घरानाको लगानी छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा ठूलो सेयरधनी सरकार हो । कम्पनीमा सरकारको ४४ प्रतिशत सेयर स्वामित्व छ । बीमा कम्पनीहरूसहित निजी क्षेत्रका संस्थापकहरूको सेयर हिस्सा ४० प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत लगानी छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित पाँच जना छन् । जसमा सरकारको प्रतिनिधित्व गर्ने दुई जना, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको प्रतिनिधित्व गर्ने एक जना र पब्लिक एवं स्वतन्त्र सञ्चालक दुई जना छन् । स्वतन्त्र सञ्चालक अर्थमन्त्रालयको मन्जुरीमा नियुक्त हुँदै आएको छ । प्रत्यक्ष अप्रत्यक्ष गरी अध्यक्षसहित बहुमत सञ्चालक सरकारी नियुक्तीबाट हुने गरेको छ । सेयर स्वामित्व ४४ प्रतिशत रहेपछि सञ्चालक समितिमा बहुमत रहँदै आएकाले अर्थमन्त्रालयको सहमति विना महत्वपूर्ण निर्णय नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक समितिले गर्न सक्दैन । यस कम्पनीको कसलाई अध्यक्ष बनाउने, कसलाई सञ्चालक बनाउने, कसलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ती गर्ने भन्नेमा अर्थमन्त्रालय नै निर्णयक बन्दै आएको र कम्पनीको समग्र सञ्चालन प्रक्रियामा सरकारी शैली देखिँदै आएको जानकारहरु बताउँछन् । साथै, निजी क्षेत्रका लगानीकर्ता एवं प्रतिनिधिहरुको भूमिका प्रभावहीन भएपछि ठूला संस्थापक सेयरधनीहरुले कम्पनीको सेयर बिक्री गरी बाहिरिने बाटो रोजेको हुनसक्ने कम्पनीका एक पूर्व सञ्चालकले बताए । दक्ष व्यक्तिले कम्पनीको नेतृत्व गर्ने मौका नै नपाएको, पुर्नबीमाको व्यापार विदेशमा विस्तार गर्न नसकिएको, लगानीको प्रतिफल घट्दै गएकोले पनि पुराना लगानीकर्ताले कम्पनीको सेयर बेच्न थालेको बताइन्छ । बीमा पुल पुर्नबीमा कम्पनीमा रुपान्तरण हुँदा प्रमुख कार्यकारी अधिकृत रमेश लम्साल थिए । त्यसपछि चिरायु भण्डारी र शंकर रायमाझी प्रमुख कार्यकारी अधिकृत बने । क्षमताको आधारमाभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्त भएका प्रमुख कार्यकारी अधिृकतले कम्पनीलाई सबल नेतृत्व दिन नसकेको लगानीकर्ताहरूको बुझाई छ । ‘खुला प्रतिस्पर्धाबाट कम्पनीको सीईओ बनेपनि राजनीतिक पहुँचका आधारमा नियुक्त हुँदै आएको छ । उनीहरुलाई पुर्नबीमा बुझ्न र नेतृत्व गर्न सजिलो थिएन । त्यसैले उनीहरुको कार्यसम्पादन पनि कमजोर नै देखियो’ पूर्व सञ्चालकले भने । सबल नेतृत्व नहुँदा कम्पनीको प्रतिफल घट्नु स्वभाविक हाे । कम्पनीले हालसम्म तीन आर्थिक वर्षमा मात्रै लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १९ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ५.२६ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो । तर पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल भने पुराना संस्थापक सेयरधनीले सेयर बेच्नुको कारण अरु नै भएको बताउँछन् । केही बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि भन्दै सेयर बिक्री गरेको, केहीले मर्जपछि सेयर होल्डिङ घटाउन सेयर बिक्री गरेको, केहीले दुई पुर्नबीमा कम्पनीमा क्रस होल्डिङ हुने भएपछि सेयर बेचेको उनको भनाई छ । पुराना लगानीकर्ताले सेयर बेच्दा नयाँले किनिरहेको बताउँदै यसले कम्पनीमा कुनै असर नपर्ने अध्यक्ष अर्यालको भनाई छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको धेरै सेयर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले किनिरहेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमामा सेयर होल्डिङ बढाउँदै लगेको छ । बजारमा आक्षेप लगाइए जस्तो कम्पनीमा सरकारको मात्र हालीमुहाली नभएको अर्याल बताउँछन् । ‘कम्पनी सिस्टममा चलेको छ । यो कम्पनीबाट सरकारले ठूलो फाइदा लिन खोजेको पनि छैन, नेपालमै रिइन्स्योरेन्स गराएर विदेशी पुँजी भित्र्याउन खोजेको हो’ उनले भने । कम्पनीले नोक्सानी ब्यहोरेर पनि पुनर्बीमा गर्नु परेको उनको भनाइ छ । कम्पनीले नाफाभन्दा पनि सेवालाई बढी जोड दिने गरेको उनले बताए । सरकारको बहुमत सेयर भएकाले सञ्चालक समितिको अध्यक्ष पनि सरकारको नै हुने धारणा उनको छ । ‘बढी सेयर भएकोले अध्यक्ष पाउने हो, यो संसारभरको नियम हो । सीईओ छनोट सञ्चालक समितिले गर्छ । सबै कम्पनीमा हुने यहि प्रक्रिया हो । निजी क्षेत्रमा पनि यस्तै अभ्यास छ’ उनले भने । कम्पनीको नियमित काम कारबाहीमा सरकारको कुनै हस्तक्षेप नरहेको उनले बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले संस्थापक सेयरधनीहरू कम्पनीबाट बाहिरिनु सुःखद विषय नभएको भन्दै सञ्चालक समितिले सबै सेयरधनीहरूलाई मिलाएर लैजानु पर्ने बताए । ‘कम्पनीमा सरकारको लगानी ४४ प्रतिशत छ, सरकारले सोही अनुपातमा आफ्नो मान्छे पठाउँछ । तर, खुला अर्थतन्त्रमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, सेयर बिक्री गर्न ऐन कानुनले रोक्दैन तर सबैले किन सेयर बिक्री गर्न लागे भन्ने विषय हाम्रो पनि चासोको विषय हो,’ उनले भने । लगानीकर्ताले उचित प्रतिफल नदेखेर पनि सेयर बिक्री गरेको हुन सक्ने बुझाइ उनको छ ।