तीन दशकमा ६ कम्पनीमा सीईओ : छिर्दा सेयरधनी, निस्कँदा ह्याण्डसम् मनी
काठमाडौं । वित्तीय क्षेत्रमा सबैले चिनेको नाम हो रमेश कुमार भट्टराई । ४ दशक बढी समय वित्तीय क्षेत्रमा बिताएका भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् । वि.सं. २०३९ बैशाख २ गते नेपाल बैंकमा जागिर सुरु गरेका उनी ४१ वर्षपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट बाहिरिन लागेका हुन् । उनी करिब ४२ वर्ष वित्तीय क्षेत्रमा सक्रिय भए । सो अवधिमा करिब २९ वर्ष उनी विभिन्न कम्पनीको प्रमुख कार्यकारी अधिकृत भए । नेपाल बैंक छोडेपछि उनी क्रमशः महालक्ष्मी फाइनान्स, नेपाल लाइफ, एशियन लाईफ, महालक्ष्मी विकास बैंक, महालक्ष्मी लाइफ इन्स्योरेन्स र अन्तिममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भए । नेपाल बैंकमा हुँदा उनी विशुद्ध जागिरे थिए । त्यसपछि उनी लगातार लगानीसहितको प्रमुख कार्यकारी अधिकृत भए । जहाँ जहाँ उनी प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए त्यहाँ त्यहाँ उनले नियमित तलब सुविधा मात्र लिएर छोडेनन्, स्वेच्छिक अवकासको रुपमा ह्याण्डसम मनि पनि लिएर निस्के । सेयरबाट राम्रो मुनाफा पनि लिएर छोडे । पछिल्लो समय उनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । तर सञ्चालक समितिसँग खटपट र असहमति बढ्दै गएपछि ७ महिनामा जागिर छोडे । तर उनले यस कम्पनीबाट २० महिनाको तलब सुविधा लिए । साथै, कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई सुविधा स्वरुप दिएको गाडी पनि सँगै लगे । ‘प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज गराउन उहाँले राम्रै भूमिका खेल्नु भएको हो । त्यसैले मर्जपछि उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका थियौं । पछि असहमति बढ्दै गएपछि ह्याण्डसम मनिसहित अवकाश दियौं’ कम्पनीका एक सञ्चालकले भने । भट्टराईले मासिक ७ लाख रुपैयाँ तलब बुझ्थे । ७ लाखका दरले २० महिनाको कुल १ करोड ४० लाख रुपैयाँ र करिब ७० लाख रुपैयाँ पर्ने एउटा गाडी दिएर बिदा गरिएको स्रोतले बतायो । सञ्चालक समितिसँग असहमति पछि धेरै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले सोझै राजीनामा दिन्छन् । त्यो त सोझो बाटो भयो । तर रमेश कुमार भट्टराईले यो बाटो रोजेनन् । उनले पद छोड्दा ह्याण्डसम मनिसहितको भीआरएस सुविधा लिएर मात्र छोडेका छन् । उनले नेपाल बैंकमा १३ वर्ष काम गरी राजीनामा दिए । वि.सं. २०५२ मंसिर १५ गते प्रबन्धकबाट राजीनामा दिँदा उनले २ लाख रुपैयाँ बुझेका थिए । नेपाल बैंक छोडेपछि उनी महालक्ष्मी फाइनान्सको प्रबन्ध सञ्चालक-कार्यकारी प्रमुख भए । राजीनामा स्वीकृत भएकै दिन महालक्ष्मी फाइनान्स सञ्चालनमा आएको थियो । यस फाइनान्समा भट्टराईले सेयर लगानी पनि गरेका थिए । नेपाल बैंकबाट भीआरएसबाट लिएको पैसा महालक्ष्मी फाइनान्समा लगानी गरेको भट्टराईले बताए । ‘म पैसालाल मान्छे थिइन । मेरो बुबा सामान्य नगरपालिकामा मुखिया/वैधवार हुनुहुन्थ्यो । त्यो बेलामा मासिक ४/५ सय तलब आउँथ्यो । घर धान्नै गाह्रो थियो । नेपाल बैंकको जागिरले मलाई घर धन्नै गाह्रो थियो । १३ वर्ष काम गरेर राजीनामा दिएकोले नेपाल बैंकबाट निस्कँदा मेरो हातमा २ लाख रुपैयाँ परेको थियो । त्यहि रकम मैले महालक्ष्मी फाइनान्सको संस्थापक सेयरमा लगानी गरेको हुँ । मेरो पहिलो लगानी पनि त्यहि हो ।’ महालक्ष्मी फाइनान्समा १० वर्ष कार्यकारी प्रमुख भएपछि रमेश भट्टराईले राजीनामा दिए । नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत हुने निश्चित भएपछि उनले महालक्ष्मी फाइनान्स छोडेका थिए । महालक्ष्मी फाइनान्स छोड्दा उपदान, संचयकोष सबै गरेर २० लाख रुपैयाँ बुझेको उनी बताउँछन् । ‘म १० वर्ष महालक्ष्मी फाइनान्सको एमडी हुँदा हरेक वर्ष सेयरधनीलाई २० देखि ३३ प्रतिशत लाभांश खुवाएँ । मैले छोड्दा पनि सेयर बाहेक २० लाख रुपैयाँ लिएर निस्केको थिएँ’ उनले भने । महालक्ष्मी फाइनान्समा कार्यकारी प्रमुख हुँदै गर्दा भट्टराई नेपाल लाइफ इन्स्योरेन्समा सञ्चालक समिति सदस्य भएका थिए । भट्टराईको कार्यसम्पादन राम्रो देखेर नै उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव नेपाल लाइफले गर्यो । नेपाल लाइफले उनलाई प्रमुख कार्यकारी अधिकृत मात्र बनाएको थिएन, सस्तो मूल्यमा संस्थापक सेयर पनि दिलाए । नेपाल लाइफमा कति कित्ता सेयर लिएर प्रवेश गरेको भन्ने कुरा भट्टराईले खुलाएनन् तर नेपाल लाइफको सेयरबाट आफू लखपतिबाट करोडपति बनेको सुनाए । २०७७ चैतमा विकासन्युजसँगको कुराकानी गर्दा आफूसँग करिब २५ करोड रुपैयाँ बराबरको सेयर भएको र त्यसमा सबैभन्दा ठूलो योगदान नेपाल लाइफको सेयरबाट भएको उनले बताएका थिए । नेपाल लाइफमा २ वर्ष काम गरेपछि उनले एशियन लाइफ इन्स्योरेन्स खोले । एशियन लाइफमा संस्थापक सेयरधनीसहित प्रमुख कार्यकारी अधिकृत भए । पछि बीमा प्राधिकरणसँग उनको लफडा भयो । प्राधिकरणले निर्देशन पालना नगरेको भन्दै एशियन लाइफमाथि कारबाही गर्ने भएपछि उनी एशियन लाइफ इन्स्योरेन्सबाट बाहिरिए । एशियन लाइफ खोल्दा प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयर कम्पनी छोड्दा प्रतिकित्ता ६०० रुपैयाँमा बेचेर निस्किएको उनले बताए । उक्त कम्पनीमा ३० लाख रुपैयाँ लगानी गरेका भट्टराईले कम्पनी छोड्दा १ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ लिन सफल भएका थिए । त्यसपछि उनी दोस्रो पटक महालक्ष्मी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत भए । विभिन्न कम्पनीको मर्जर तथा एक्विजिशन गराएर महालक्ष्मी फाइनान्सलाई विकास बैंक बनाए । मर्जलगत्तै उनी महालक्ष्मी विकास बैंकमा ४ वर्षको लागि सीईओमा नियुक्त भए । त्यहाँ पनि सञ्चालक समितिमा उनको खटपट भयो । सञ्चालक समितिले भट्टराईलाई छोडाउन खोज्यो । उनले भीआरएस मागे । ‘उहाँ बाँठो मान्छे हो, भीआरएस लिएर जानु भएको हो, कति रकम लिए भनेर तथ्याङ्क याद भएन’ उक्त बैंकका एक सञ्चालकले भने- ‘मर्जपछि भीआरएस लिएर जाने उहाँ एक्लै हो ।’ विकास बैंक पनि छाडेर रमेश भट्टराईले महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गरे । कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भए । यतिबेला प्रमुख कार्यकारी अधिकृतले संस्थापक सेयर लिन नपाउने नियम बनिसकेको थियो । उनले छोरीको नामबाट ६५ लाख रुपैयाँ लगानी गरे र संस्थापक सेयरधनीको स्थान पनि सुरक्षित गरे । महालक्ष्मी लाइफ मर्जपछि प्रभु महालक्ष्मी लाइफ भयो । सञ्चालक समितिसँग खटपटपछि उनी भीआरएस लिएर बाहिरिए । तर कम्पनीमा उनको लगानी यथावत रहेको छ ।
एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि कमपनीले भोलि माघ २५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २४ गतेसम्म कायम सेयरधनीहरू साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।
नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, १ खर्ब ८३ अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ अुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ६८ करोड ९१ लख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ५८ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँ बढेर १०.४२ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।