सीईओसहित १५ जनाले छोडे प्रभु महालक्ष्मी लाइफ, भट्टराई नयाँ कम्पनी खोल्दै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले स्वेच्छिक अवकास (भीआरएस) सुविधाका लागि आवेदन दिएका छन् । माघ २५ गतेसम्म खुला गरिएको भीआरएसका लागि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जनाले आवेदन दिएको कम्पनी स्रोतले जनाएको छ । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू बाहिरिएका हुन् । स्रोतका अनुसार भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी हुन् । ‘दुई जना डीसीईओ र कर्पाेरेट डिपार्टमेन्ट हेडहरूले भीआरएसका लागि आवेदन दिनु भएको छ, भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी हुन्, एक/दुई जना कर्पाेरेट हेड बाहेकका कर्मचारी पनि छन्,’ स्रोतले भन्यो । भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी भएकाले मर्जरपछि कम्पनीमा ठूलो खटपट भएको बुझिएको छ । सीईओ भट्टराई र सञ्चालक समितिबीच खटपट भएपछि भट्टराईसहित उनी निकट सबै कर्मचारी बाहिरिएका हुन् । स्रोतका अनुसार सीईओ भट्टराईले सबै कर्मचारीलाई भीआरएस सुविधा लिन दबाब दिएका हुन् । भट्टराईले आफैंले नयाँ कम्पनी खोल्न लागेकाले सबैलाई भीआरएस लिन भनेको स्रोतको भनाइ छ । कम्पनीका अनुसार जागिरको अवधि हेरेर १८ महिनासम्मको तलब बराबर भीआरएस सुविधा पाउने छन् । टर्म अनुसारको डिप्रिसेसन दिने र तलब सुविधा पाउने स्रोतको भनाइ छ । तर, सीईओ भट्टराईले भने १३ महिनाको तलब र सवारी साधन पाउने छन् । ‘१८ महिनासम्मको तलब पाउने छन्, सिनियरलाई धेरै र जुनियरलाई धेरै सेवा दिइएको छैन, सबैलाई एउटै भीआरएस सुविधा प्रदान गरिएको हो, सीईओका लागि सञ्चालक समितिले भीआरएस ल्याएको हो, अन्य कर्मचारीका लागि व्यवस्थापन समूहले ल्याएको हो,’ उनले भने । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा ल्याइएको हो । ‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो, दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए, धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ, त्यसैले भीआरएस सुविधा खुला गरिएको हो,’ उनले भने ।
हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
हिमालयन एभरेष्टको नाफामा ६३.७३ प्रतिशत छलाङ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६३.७३ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २७.५२ प्रतिशत बढेर ४६ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ३२.७५ प्रतिशत घटेर २१ करोड ४५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ ३१ करोड २२ लाख रुपैयाँ, अन्य इक्विटी ३० करोड ६५ लाख रुपैयाँ, निर्जीवन बीमा कोष ४ अर्ब ६२ करोड रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी ६.२४ रुपैयाँ बढेर १६.०२ रुपैयाँ छ ।