युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सनिबार कोहलपुरमा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित थिए । उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।

यूनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९’८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सन नेपाल लाइफले गर्याे ३५.३९ करोड नाफा, जीवन बीमा कोष साढे ६ अर्ब

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ, जीवन बीमा कोष ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.५२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.०९ गुणा रहेको छ ।