सिटिजन लाइफको नाफा १२.३६ करोड, जीवन बीमा कोष १२ अर्ब पुग्यो

काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढाएर १२ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क २.७० प्रतिशत बढेर २ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । साथै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४.२३ प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती कोष १४ करोड ९६ लाख रुपैयाँ, जगेडा कोष ६८ करोड ९५ लाख रुपैयाँ र जीवन बीमा कोष १२ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ६ महिनामा कम्पनीले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ कमिशन प्रदान गरेको छ । पुस मसान्तसम् कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त आयोजनामा वेबिनार सम्पन्न

काठमाडौं । इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes  बिषयमा भर्चुअल माध्यम मार्फत २०८० साल माघ १० गते वेबिनार सम्पन्न भएको छ । उक्त वेबिनार Cyber Insurance , Parametric Modelling / Catastrophe Modelling मा आधारित रहेको थियो र वल्र्ड बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए भने फेडेरलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका हुन् । कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा इन्स्योरेन्स ईस्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा र्निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बीमा प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो।

फागुनदेखि अवकाश पाउँदै प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले आगामी फागुनदेखि अवकाश पाउने भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईलाई फागुन १ गतेदेखि नै लागू हुने गरी अवकाश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीबार एक सूचनामार्फत सो जानकारी गराएको हो ।