प्रिमियमबाट उठेको रकमले भवन निर्माण गर्छौं, कम्पनीलाई उचाइमा पुर्याउँछौं : सीईओ पौडेल
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले प्रिमियमबाट उठेको रकम भवन निर्माणमा लगानी गर्ने बताएकी छिन् । बुधबार आईपीओ बाँडफाँट कार्यक्रममा बोल्दै सीईओ पौडेलले प्रिमियमबाट संकलन भएको रकम कम्पनीको भवन निर्माणमा लगानी गर्ने बताएकी हुन् । ‘प्रिमियमबाट उठेको रकम कम्पनीको भवनमा लगानी गर्छाैं या, त्यो भएन भने राम्रो कम्पनीमा लगानी गर्छौं,’ उनले भनिन् । हाल यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको नक्सालमा रहेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसबाट कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कम्पनीलाई जगबाटै बलियो बनाउने गरी काम गरिरहेको उनले बताइन् । साथै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘हिमालयन रिइन्स्योरेन्स पब्लिक कम्पनी बन्यो, अब कम्पनीलाई उचाइमा पुर्याउने उद्देश्य छ, आन्तरिक बजारमा व्यवसाय गरिरहेको छ, हाम्रो उद्देश्य आन्तरिक बजारमा मात्रै सीमित नभएर विदेशमा पनि काम गर्छाैं,’ उनले भनिन् । उनका अनुसार ३ वर्षको अवधिमा कम्पनीले २९ वटा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छ । नेपालको पहिलो रेटेड कम्पनी भएकाले अन्तर्राष्ट्रिय ब्राण्डेड कम्पनी बनाउने उनले बताइन् । तत्काल लगानीकर्तालाई लाभांश दिनेभन्दा पनि कम्पनीको उद्देश्य दीर्घकालसम्म टिकिरहने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा छाईरहेका छौं, अन्तर्राष्ट्रिय बजारमा नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम उचाईमा पुर्याउने योजना छ, ५० वटा देशका मार्केटले हामीलाई विश्वास गरेर अफर गरेका छन्, २९ वटा देशमा पुगिसकेका छौं,’ उनले भने, ‘रिइन्स्योरेन्सको व्यवसायमा सधैं राम्रो व्यापार हुँदैन, ननप्रोफिटेबल बिजनेश पनि लिनु पर्ने हुन्छ, त्यसमा अण्डरराइटिङ गाइडलाइन अनुरुप अघि बढ्नु पर्छ, पहिला आफू बलियो हुनुपर्छ, तुरुन्तै धेरै लाभांश दिने होइन, दीर्घकाल टिक्ने नाफायोग्य व्यवसाय गर्छाैं ।’ उनका अनुसार तत्काल फाइदा देखाएर लगानीकर्तालाई खुसी बनाउने भन्दा पनि दीर्घकालसम्म लगानीकर्तालाई टिकाउने उद्देश्य हो । सकेसम्म छिटो वार्षिक साधारणसभा गर्ने तयारी रहेको उनले बताइन् ।
हिमालयन रिको आईपीओ बाँडफाँड, २९ हजार बढीले पाए ४० कित्ता सेयर
काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँट भएको छ । मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जारी भएको उक्त आईपीओको बाँडफाँड बुधबार बिहान १० बजे सुवर्ण शमशेर मार्ग बालुवाटारको ताज रिसेप्सनमा भएको हो । मागभन्दा बढी आवेदन परेको उक्त आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । योग्य आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले जति आवेदन गरेका थिए त्यति पाएका छन् । त्यसपछि बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ भने थप बाँकी रहेको २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेवसाइट, सिडीएससीको मेरो सेयरको वेवसाइट र सिडीएससीले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टको वेवसाइटबाट पनि हेर्न सकिन्छ ।
सूर्यज्योति लाइफ मर्जरको एक वर्ष : ३५ अर्बको लगानी, ८ अर्बले बढ्यो बीमाकोष
काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ । सूर्यज्योति लाइफले मर्जरको एक वर्षको आफुलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको छ । एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहक मैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ। मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ। चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना आदरणीय बिमितहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरि सकेको छ। जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ। कम्पनिमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशै भरि करिब ९४ हजार अभिकर्ता सुर्यज्योति लाइफमा आबद्ध छन् । बजारको आवश्यकता र नविनतम सोच अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा नै ठुलो बीमा गर्न सकिने र ७० बर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ । बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बीमाङ्की मूल्याकन , विस्तृत लेखा परिक्षण र साधारण सभापछि यी दुबै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो । नेपालमै आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सूर्यज्योति लाइफ बन्न सफल भएको छ।