नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो । रायमाझीको गत पुस ११ गते सेवा अवधि सकिएको हो ।
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । सोमबार मात्रै इन्स्योरेन्सको ३ करोड १५ लाख ६० हजार ५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।
नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।