एकीकृत कारोबार गर्न सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले पाए अन्तिम स्वीकृति
फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । मर्जरको प्रकृयामा रहेका यी दुई जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन् । ‘कम्पनीहरुलाई आज अन्तिम स्वीकृति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी बराबर हैसियत अर्थात एक बराबर एकको अनुपात (स्वाप रेसियो) मा मर्ज हुन लागेका हुन् । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।
सपथ लिँदै अध्यक्ष पौडेलले भने : बीमितको विश्वास र सेयरधनीको लगानीलाई सुनिश्चत गर्छु
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष लक्ष्मण पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । पौडेलले बिहीबार बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा पौडेल सर्वसम्मतिबाट चयन भएका हुन् । सपथ लिँदै अध्यक्ष पौडेलले आगामी दिनमा समेत कम्पनीको ख्यातिलाई उच्च राखी बीमितहरुको विश्वासलाई कायम राख्न तथा सेयरधनीहरुको लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने प्रतिवद्धता समेत जनाए ।
नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले दिए राजिनामा, अध्यक्षमा पौडेल सर्वसम्मत
काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् । दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । जसलाई फागुन १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ । त्यस्तै, सोहि दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण पौडेललाई नयाँ अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै बीमा प्राधिकरणले दुई सञ्चालकको नियुक्तिको सम्बन्धमा सञ्चालक समितिलाई नै निर्णय गर्न पत्राचार गरेको थियो । सम्बन्धित समाचार : नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन