फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै सगरमाथा लुम्बिनी
फाइल फाटो काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार दुई कम्पनीले एकीकृत कारोबार गर्नको लागि उक्त मिति तय गरेका हुन् । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको साधारण सभाले पारित गरिसकेको छ । त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।
हरेक महिनाको २५ गते इसेवाबाट बीमाको प्रिमियम तिर्दा २०० रुपैयाँ क्यासब्याक पाइने
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । इन्स्योरेन्सकाे प्रिमियम अनलाइन मार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागि इसेवाले यो सुविधा ल्याएको जनाएकाे छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिन्छ ।
लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले सेयरधनीलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरन्सले सेयरधनीलाई २.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २९ गते बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित बानेश्वर ब्याङ्केटमा हुने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २.७५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २९ करोड नाघ्ने छ । त्यस्तै, लाभांश वितरण गर्ने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ३ गते एकदिन बुक क्लोज गर्दै छ ।