स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या मन्त्रीपरिषदमा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् । स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको बताए । ‘त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले मन्त्रीपरिषदमा लैजाने प्रक्रिया अघि बढाएका हाैं,’ उनले भने । मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताविना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राखे । उनले सो बीमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताए ।

गुराँस लाइफले पोखराको गुरुङ परिवारलाई गर्यो २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको मृतक गुरुङले जीवन बिमा गरेका थिए । मृतक गुरुङको श्रीमती मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल र बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए । यस्तै, बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीवन बीमाले व्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइ राख्न जीवन बीमामा लगानी गर्नुपर्ने बताए ।

कहिले खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा अधिकांश कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मर्जर तथा एक्विजिशनको प्रकृयामा गएका दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । जसमध्ये अधिकांश बीमा कम्पनीहरु रहेका छन् । १० वटा निर्जीवन र ८ वटा जीवन बीमा गरी कूल १८ वटा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । यी सबै कम्पनीले मर्जरमा जानको लागि प्रकृया शुरु गरेसँगै दोश्रो बजारमा कारोबार नभएको हो । जसमध्ये दुई हुन् हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीको गत बैशाख २३ गतेदेखि सेयर कारोबार रोक्का छ । बैशाख २२ गते दुई इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति भएसँगै नेप्सेले भोलिपल्टदेखि सेयर कारोबार रोकिदिएको हो । हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । सामान्यतः मर्जर तथा एक्विजिसनमा गएका कम्पनीबीच एकीकृत कारोबार शुरु भएपछि दोश्रो बजारमा रोक्का भएको सेयर कारोबार फुकुवा गराउने व्यवस्था छ । हिमालयन एभरेष्टको नामबाट एकीकृत कारोबार शुरु भएको करिब एक साता हुन लागेको छ । वित्तीय कारोबार शुरु भएपनि कम्पनीको सेयर कारोबार भने अझै खुला भएको छैन । यससँगै सेयरधनीले यी कम्पनीको सेयर खरिद बिक्री गर्न पाएका छैनन् । अर्थात यी कम्पनीका सेयरधनीको सम्पत्ति विगत २ महिनाअघिदेखि बन्धक भएको छ । यद्पि एकीकृत कारोबार भएपछि सेयर कारोबार छिट्टै खुल्ने आशमा लगानीकर्ताहरु रहेका छन् । तर कम्पनीको सेयर कारोबार खुल्न अझै कम्तिमा एक दुई साता लाग्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रवक्ता धुव्र न्यौपानेले बताए । ‘कम्पनीको सेयर कारोबार खुलाउनको लागि हामीले प्रकृया शुरु गरिसकेका छौं, अझै दुई हप्ता लाग्ला’ उनले विकासन्युजसँग भने । उनका अनुसार दोश्रो बजारमा सेयर कारोबार खुलाउन इन्स्योरेन्सले दुईदिन अघि नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । अब बोर्डबाट स्वीकृत भएपछि नेप्से र सीडीएस एण्ड क्लियरिङमा पठाइने उपमहाप्रबन्धक समेत रहेका न्यौपानेले बताए । ‘कानुनी प्रकृया लामो हुने भएकाले समय लाग्ने भएको हो, अब धितोपत्र बोर्डले जति छिटो दियो त्यति छिटो कारोबार खुल्छ,’ उनले थपे । यता धितोपत्र बोर्डले पनि कम्पनीलाई स्वीकृति दिन केहि दिन लाग्ने बताएको छ । बोर्डका प्रवक्ता रुपेश केशीले इन्स्योरेन्सको पत्र पाइसकेको बताउँदै स्वीकृत दिन थप केहि दिन लाग्ने बताएका हुन् । ‘कम्पनीहरुको निर्णयहरु लगायत विभिन्न फाइलहरु दर्ता गर्नुपर्छ, त्यसको लागि थप एक दुई दिन अझै लाग्छ,’ उनले भने । यस्तो केशमा समान्यतयाः नेप्सेले पनि कम्पनीहरुको निवेदन पाएको भोलिपल्टदेखि सेयर कारोबार खुलाउने गरेको छ । नेप्सेका अनुसार कम्पनीहरुले दिएको निवेदन तथा विवरणहरु मापदण्ड अनुसारकै हुनुपर्ने हुन्छ । यदि मापदण्ड विपरितको विवरण भएमा सेयर कारोबार फुकुवा हुने समय थप केही दिनको लागि लम्बिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर बीमा क्षेत्रमै ऐतिहासिक अर्थात पहिलो मर्जर हो । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।