बिजनेस ग्रोथमा आक्रमक बन्दै एशियन र यूनियन लाइफ, नेपाल लाइफसहित अन्य कम्पनीको कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न ६ जीवन बीमा कम्पनीले ९१ अर्ब रुपैयाँ बढीको बिजनेश गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शीर्ष ६ जीवन बीमा कम्पनीले कूल ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ रहेका छन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढी हो । यी ६ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल ८३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । रकमको आधारमा नेपाल लाइफको अग्रता रहेको छ भने बिजनेश वृद्धिदरको आधारमा एशियन लाइफ अन्य कम्पनीको तुलनामा बढी आक्रामक देखिएको छ । नेपाल लाइफले गत वर्षमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनी श्रोतले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.५२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो वर्षमा ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, अघिल्लो वर्ष १७ अर्बको क्लबमा रहेको लाइफ इन्स्योरेन्स गत वर्ष १८ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६.३० प्रतिशतले बिजनेश बढाएर १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, नेशनल लाइफ बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले गत एक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.६८ प्रतिशतले बढी हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पनि बिजेनश दोहोरो अंकले बढेको छ । अघिल्लो वर्षको तुलनामा संस्थानको प्रिमियम ११.७४ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको सीईओ कबि प्रसाद पाठकले विकासन्युजलाई बताए । जुन अघिल्लो आवमा ७ अर्ब ५८ करोड रुपैयाँ थियो । यता यूनियन लाइफ र एशियन लाइफको बिजनेश वृद्धिदर अन्य कम्पनीको तुलनामा बढी छ । जसमध्ये पनि एशियन लाइफको बिजनेश २१.३२ प्रतिशतले बढेको छ । कम्पनी श्रोतका अनुसार एशियन लाइफको बीमाशुल्क बढेर ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन रकम ५ कम्पनीको तुलनामा कम भएपनि कम्पनीको ग्रोथ भने सबैभन्दा बढी छ । अघिल्लो आवमा ५ अर्ब ९१ करोड रुपैयाँको क्लबमा रहेको एशियन लाइफ यो वर्ष ७ अर्बको क्लबमा सजिलै प्रवेश गर्न सफल भएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी ग्रोथ गर्नेको दोश्रो स्थानमा यूनियन लाइफ रहेको छ । युनियन लाइफले अघिल्लो वर्षको तुलनामा १६.१३ प्रतिशतले बिजेनश बढाई ७ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सको यस्तो रकम ६ अर्ब ८२ करोड रुपैयाँ थियो । हाल २० वटा कम्पनीले जीवन बीमा व्यवसाय गरिरहेका छन् । जसमध्ये यी ६ कम्पनी विभिन्न सूचकमा शीर्ष स्थानमा रहेका छन् । यो पनि पढ्नुहोस् : बीमाशुल्कमा नेको, सिद्धार्थ र एनएलजीबीच टक्कर, शिखर र सगरमाथाको अग्रता कायमै

एशियन लाइफले बढाएर घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । अघिल्लो वर्ष कम्पनीले बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यो बीमालेखका बीमितले न्यूनतम ३८ रुपैयाँ बोनसदर पाएका थिए । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई

काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले विदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशकभन्दा बढी काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको थियाे । यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) चिरायु भण्डारी पनि विदा भएका छन् । भण्डारी दुई वर्षे करार अवधि पुरा गरि विदा भएका हुन् ।