अर्थ समितिमा बीमा ऐन २०७५ बारे छलफल
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ । मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरे । उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरुको बारेमा समितिलाई जानकारी गराएका थिए । २०७५ असार २७ मा दर्ता भएको बीमा सम्बन्धी विधेयक अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । बीमा विधेयक लामो समयसम्म समितिमा अड्किएपछि समितिमा रहेका सदस्यहरुको लगानी विभिन्न जीवन र निर्जिवन बीमा कम्पनीहरुमा रहेको आशंका गरिएको छ । बीमा विधेयकमा भएको बीमा प्राधिकरण गठन गर्ने विषयमा पनि निस्कर्ष ननिस्किँदा विधेयक अगाडि बढेको थिएन तर अहिले समितिमा बीमा सम्बन्धी छुट्टै बीमा प्राधिकरण बनाएर अघि बढ्नेमा अनौपचारिक सहमति जुटेको बताइएको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अर्थ मन्त्रालयले प्राधिकरणको छाताभित्र ल्याउने कोशिस गरेपनि हाल चलिरहेको स्वास्थ्य बीमा कार्यक्रम यथावत अवस्थामा चल्न दिने गरी अर्थ समितिले लगभग सहमति जुटाएको छ । यद्यपी यो विषय छलफलकै क्रममा रहेकोले औपचारिक निर्णय भने भइसकेको छैन ।
नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत १३ लाख १७ हजार ४७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि सो मात्राको सेयर लिलामीमा राखेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशियाको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर हुन् । जसको मूल्य प्रतिकित्ता न्यूनतम क्रमशः ७०० र ४०० रुपैयाँ रहेको छ । इच्छुकले न्यूनतम एक हजार कित्ता सेयरमा आवेदन दिनसक्नेछन् । उनीहरुले असार ८ गतेदेखि असार १६ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आवेदन दिइसक्नुपर्ने छ । सेयरको न्यूनतम मूल्य ७ सय (नेपाल लाइफ) र ४ सय रुपैयाँ (एनआईसी एशिया) तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । सोभन्दा कम मूल्यको आवेदन सबै रद्द हुने छ । इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु आवेदन दिन सक्नेछन् ।
सूर्या लाइफ इन्स्योरेन्सको वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २०२३ को एमडीआरटी, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हासिल गर्न सफल २५ जना अभिकर्तालाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना विजेताहरुको घोषणा गरिएको थियो । ‘लक्की ड्र’मा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जितेका थिए । जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेश प्रमुख शुशिल चापागाईं र बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिम दिएका थिए ।