शिक्षा क्षेत्रमा सहकार्यबारे शिक्षामन्त्री र यूएन टोलीबीच छलफल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहियालगायत राष्ट्रसङ्घअन्तर्गतका अन्य नियोगहरुको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा आपसी सम्बन्ध र दुईपक्षीय हितका विषयमा कुराकानी भएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको हो । साथै, संयुक्त राष्ट्रसङ्घका नियोगहरुबाट नेपालको शिक्षा क्षेत्रमा रहँदै आएको सहकार्य र सहयोगका सन्दर्भमा समेत छलफल भएको छ । शिक्षामन्त्रीसँगको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का निमित्त देशीय प्रतिनिधि जि हुनरा, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लगायत राष्ट्रसङ्घका विभिन्न नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो । भेटमा शिक्षामन्त्री पोखरेलले राष्ट्रसङ्घ नियोगहरुले शिक्षा क्षेत्रमा पुर्याउँदै आइरहेको साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरे । भेटमा विशेषगरी युनिसेफले नेपालको समावेशी शिक्षा, ‘इभिडेन्स बेस्ड लर्निङ’, प्रविधिको प्रयोग, दिगो विकास लक्ष्यका उपलब्धि कार्यान्वयनका लागि समन्वय र सहकार्य, साक्षरता, जीवनपर्यन्त सिकाइको क्षेत्रमा गर्दै आएको सहयोगको विषयमा छलफल भएको थियो । आइओएममार्फत विदेशमा रहेका विद्यार्थीको मानसिक स्वास्थ्यलजस्ता विषयमा ध्यान दिनेबारे उनीहरुबीच कुराकानी भएको छ । साथै विश्व खाद्य कार्यक्रमअन्तर्गत नेपालको विद्यालय दिवा खाजाको क्षेत्रअन्तर्गत पौष्टिक खाजाका लागि स्थानीय कृषकले उत्पादन गरेको सामग्री खाद्यमा जोड्ने तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले नेपालको शिक्षाको बृहत् यौनिक शिक्षा कार्यक्रम, ‘डिजिटल लर्निङ’ का क्षेत्रमा गरेको काम र संयुक्त राष्ट्रसङ्घीय बसाइँसराइसम्बन्धी अन्तरराष्ट्रिय संस्थाले नेपालको सुरक्षित बसाइँसराइको क्षेत्रमा पुर्याउँदै आएको सहयोग र भविष्यमा गर्न सकिने सहयोगका क्षेत्रहरुमा केन्द्रित रहेर कुराकानी भएको छ । शिक्षामन्त्री पोखरेलले अबको दिनमा समावेशी शिक्षा, शिक्षकको पेसागत विकास, शिक्षा, विज्ञान र प्रविधिको प्रयोग, डिजिटल लर्निङलगायत क्षेत्रमा थप सहकार्य गर्नका लागि मन्त्रालय इच्छुक रहेको विचार व्यक्त गरे । आवासीय प्रतिनिधि याहिमाले शिक्षा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका नियोगहरुको प्राथमिकता रहेको र आगामी दिनहरुमा पनि सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
एसईईको नतिजा आज साँझ सार्वजनिक गरिँदै
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ७ बजेपछि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । यसका लागि अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ‘हामीले बोर्ड बैठक साँझ ५ बजे बोलाएका छौं, जहाँ डेमो दोखाउने कार्यक्रम छ, डेमो देखाउने कार्यक्रम सफल भएको एक दुइ घण्टापछि नतिजा सार्वजनिक गर्छौ,’ परीक्षा नियन्त्रक अधिकारीले विकासन्युजसँग भने । उनले साँझ ७ बजे नतिजा सार्वजनिकका लागि पत्रकारलाई बोलाउने तयारी भइरहेको बताए । यस वर्ष पहिलोपटक परीक्षा सकिएको एक महिनाभित्रै एसईईको नतिजा सार्वजनिक हुन लागेको हो । गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।
लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न, डिजिटल शिक्षामा नयाँ पहल
काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न भएको छ । डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालका विद्यालय तथा कलेजहरूमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल शिक्षा विस्तार गर्ने उद्देश्यसहित डिजी स्कुलले बेलायती मापदण्डअनुसारको कम्प्युटर पाठ्यक्रम तथा अन्तरक्रियात्मक ई–लर्निङ प्रणाली सञ्चालन गरिरहेको जानकारी दिए । उनले नेपाली विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै विश्वस्तरीय डिजिटल सीप प्रदान गरी भविष्यको प्रतिस्पर्धात्मक बजारका लागि सक्षम बनाउने लक्ष्य रहेको बताए । सोही अवसरमा डिजी ग्रुपअन्तर्गत स्थापना गरिएको नयाँ सूचना प्रविधि कम्पनी ‘टेकपाइला इनोभेसन’को औपचारिक घोषणा गरिएको थियो । कम्पनीका एसोसिएट डाइरेक्टर तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले युवाहरूलाई प्रविधिमार्फत दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको बताए । उनका अनुसार शिक्षा र व्यावहारिक प्रविधि क्षेत्रबीचको दूरी घटाउँदै एकेडेमी, बुटक्याम्प तथा विभिन्न साझेदारीमार्फत युवाहरूलाई प्रविधि उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने योजना रहेको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रमुख अतिथिका रूपमा बोल्दै टेकपाइला इनोभेसनको पहलले सूचना प्रविधि शिक्षा तथा सेवाको आधार मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ‘लर्निङ बाइ अर्निङ’ भन्ने मूल नारालाई आत्मसात गर्दै युवालाई नेपालमै अवसर दिन सके डिजिटल अर्थतन्त्र सुदृढ हुने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । कार्यक्रममा सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सका प्रिन्सिपल प्रमोद पौडेल, सूचना प्रविधि विज्ञ अमृत थापा, डिजी स्कुल ग्लोबलकी बिजनेस हेड अनिता महर्जन तथा लुम्बिनी प्रदेश प्रमुख लेखनाथ पन्तलगायतले डिजिटल शिक्षा, प्रविधि र नवप्रवर्तनको महत्वबारे धारणा राखेका थिए । बुटवलमा सम्पन्न उक्त कार्यक्रमले लुम्बिनी प्रदेशमा डिजिटल साक्षरता विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणतर्फ नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् । ‘मेड इन नेपाल’ प्रविधि तथा नेपाली सफ्टवेयर इकोसिस्टमलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित सुरु गरिएको यो पहललाई शिक्षा र सूचना प्रविधि क्षेत्रमा सकारात्मक कदमका रूपमा हेरिएको छ ।