काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार १ सय १५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागले शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस वर्ष १ सय ४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष एक हजार १ सय १५ बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरूमा ५ सय २५ जना छात्रा र ५ सय ९० छात्र छन् । यो सङ्ख्या गएको वर्षभन्दा १ सय ४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९ सय ७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयमा छन् । अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरे । ‘सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ । यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,’ उनको भनाइ थियो । धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टङ्केश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् । प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो । निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ ।

गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान) मा उनीहरूले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् । गोल्यान ग्रुपले २४ असोजमा सहिदका बालबालिकाका लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ बालबालिका आवब छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् । काठमाडौंको बानियाँटारस्थित काठमाडौं युरो स्कुलमा नेल्सन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिरहा लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । तीनै बालबालिका २ वर्षका छन् । काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । ‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो, हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरू पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकुन्, उनीहरूको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउने छ ।’ शिक्षाले आत्मविश्वास, अवसर र भविष्यको बाटो देखाउने उल्लेख गर्दै आज अक्षर चिन्ने नानीबाबु भोलि देश बनाउने नागरिक बन्न सक्ने उनले बताए । अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् । ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारका दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सम्झौता अनुसार बिल–भरपाइँपठाएका विद्यालयलाई शुल्क भुक्तानी पनि भइसकेको छ,’ उनले भनिन्, ‘हामीले प्रतिबद्धता अनुसार शैक्षिकवृत्ति कार्यक्रम कार्यान्वयन गरिरहेका छौं ।’ काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्यान ग्रुपले‍ समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए । ‘शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने भनाइ गोल्यान ग्रुपको परोपकारी मनले आत्मसाथ गरेको छ,’ उनले भने, ‘सहिदको सपना पूरा गर्न हामीले पनि आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने छौं ।’ पोखरामा आयोजित अक्षरारम्भ समारोहमा अर्ली चाइल्डहुड एकेडेमीका प्रिन्सिपल सालभी बास्तोला मसानीले सहिदका सन्तानका लागि गोल्यान ग्रुपले गरेको सहयोगले विद्यालय परिवारलाई पनि थप जिम्मेवार महसुस गराएको बताइन् ।  ‘गोल्यान ग्रुपले सामाजिक क्षेत्रमा गरेको सहयोगबारे हामीले सुनिरहेका थियौं, आज सहिदका बालबालिकालाई पढाउन हाम्रै विद्यालयसँग सहकार्य हुँदा निकै खुसी बनाएको छ,’ उनले भनिन्, ‘अब हामी सबैको सहकार्यबाट बालबालिकाको भविष्य उज्यालो बनाउनुपर्ने अवसर र जिम्मेवारी आएको छ ।’ लहानको स्कुल अफ स्कलरमा विवांशीलाई भर्ना गरेपछि उनका ठूलो बुबा अजय चौधरीले भाइ (सहिद विजय चौधरी) ले छाडेर गएको सपना पूरा हुने विश्वास व्यक्त गरे । उनले गोल्यान ग्रुपप्रति आभार व्यक्त गर्दै भने, ‘सबै धनीहरू गोल्यान ग्रुप जस्तै मनकारी हुँदैनन्, गोल्यानले भने खुला दिलले सहयोग र सहकार्यको हात अघि बढाएको छ ।’

त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले बिहीबारदेखि काम थालेको छ ।       शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन सङ्कायका सहायक डीन प्राध्यापक डा दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलमा अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख ध्रुव कार्की र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा सूर्यबहादुर थापासमेत रहेका छन् ।      कार्यदललाई तीन महिनाभित्र सबै अध्ययन संस्थान, आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा लिइने सबै प्रकारका शुल्कको अध्ययान गरी समयानुकूल बनाउन र एकरूपता हुनेगरी कार्यविधि सिफारिस गर्न कार्यादेश दिइएको डा पराजुलीले जानकारी दिए ।      विश्वविद्यालयमा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कार्यालय सञ्चालन अवरुद्ध हुने गरी उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्ति टाँसेपछि काम प्रभावित हुँदै आएको छ । अखिल (क्रान्तिकारीले) शुल्क वृद्धि फिर्ता लिनुपर्नेसहितका माग राख्दै विज्ञप्ति टाँसेको हो ।      यसैबीच, गतिरोध खुलाउन त्रिविले विद्यार्थी कल्याण महाशाखा प्रमुख दीपेन्द्र पराजुलीको संयोजनमा छलफल तथा परामर्श गरिरहेको छ ।