विद्यार्थीलाई तत्काल चीन जाने व्यवस्था मिलाउन संसदीय समितिकाे निर्देशन
काठमाडाैं । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार बसेको बैठकले कोरोनाभाईरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरुलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन् । बैठकमा समितिका सदस्यहरुले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीहरुको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिन भित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरुलाई मिलाउन सरकारलाई दवाव समेत दिए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशन अनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिवद्धता जनाए । उनले हाल चीनमा मात्रै अध्ययन गर्ने जाने विद्यार्थीहरुको संख्या ७ हजार ४८० जना रहेको जानकारी पनि समितिलाई गराए ।
नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भ सहितको नयाँ ‘बि.सी.एस आईटी’ काेर्स
काठमाडौं । मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले ‘बि सी एस आईटी’ नामक नयाँ काेर्ष घोषणा गरेको छ । लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बि.सी.एस. आईटी कार्यक्रम नेपालमै पहिलोपटक आफुहरुले ल्याएको संस्थाले दावी गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको के एफ ए ले विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको छ । नेटवर्किङ्गका साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ । कलेजले प्लुस २ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस विषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन निस्शुल्क सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ । उक्त सेमिनारको रजिष्ट्रेसन भने खुला भईसकेको छ । सेमिनार वा अन्य जानकारीका लागि ०१-४४९१४१४ सम्पर्क गर्न सकिने केएफएले जनाएकाे छ । केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम.बि.ए प्लस र बि.एच.एम कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
५ महिनापछि आजबाट खुल्दै काठमाडौंका विद्यालय
काठमाडौं । करिब ५ महिनापछि आजदेखि काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएसगैँ विद्यालय बन्द गरिएको थियो । केही दिन अघिमात्र काठमाडौं महानगरले स्वास्थ्य मापदण्डकोे पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएसगैँ महानगर भित्रका विद्यालयहरु आजदेखि सञ्चालन हुने भएका हुन् । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।