द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग्स’ ब्रोंज अवार्डबाट सम्मानित

काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी प्रतिष्ठित ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ (डीओईआईए) २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित भएका छन् । ब्रोंज अवार्ड प्राप्त गर्ने विद्यार्थीमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन् । उनीहरूलाई ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपाल’ले आयोजना गरेको राष्ट्रिय अवार्ड समारोह २०२६ मा सम्मान गरिएको हो । कार्यक्रम सोमबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो । समारोहमा देशभरका ब्रोंज, सिल्भर र गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, आत्मविकासप्रतिको प्रतिबद्धता र सामुदायिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । बीईजी बोर्ड तथा बीएमसी व्यवस्थापनका तर्फबाट अरुणले अवार्ड विजेता विद्यार्थीलाई बधाई दिँदै उनीहरूको मेहनत, समर्पण र उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । कलेजले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन र सहयोग पुर्‍याएको भन्दै राजनकुमार राईप्रति विशेष आभार व्यक्त गरेको छ । साथै, शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ ।

कन्सल्टेन्सी व्यवसायीलाई मन्त्री पोखरेल भने- ‘नाफाभन्दा गुणस्तरीय सेवालाई प्राथमिकता दिनूस्’

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका सरोकारवालासँग भएको छलफलमा मन्त्री पोखरेलले निजी क्षेत्र सरकारको साझेदार भएकाले समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताए । उनले विद्यार्थीको हितलाई केन्द्रमा राखेर शैक्षिक परामर्श दिने जिम्मेवारी कन्सल्टेन्सीहरूको पनि रहेको उल्लेख गरे । उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको जानकारी दिँदै आवश्यक परे कानुनी प्रक्रियाअनुसार त्यसमा संशोधन गर्न सरकार तयार रहेको बताए ।  नाफामुखी सोचभन्दा गुणस्तरीय सेवा र सही परामर्शलाई प्राथमिकता दिन उनले कन्सल्टेन्सी व्यवसायीहरूलाई आग्रह गरे ।  प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न सरकार र संसद् दुवै सकारात्मक रहेको बताउँदै नियमावलीमा रहेका कमजोरी प्रक्रियाअनुसार सुधार गर्न सकिने धारणा राखे ।  उनले विद्यार्थी ठगी नियन्त्रण गर्दै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए । छलफलमा सहभागी कन्सल्टेन्सी व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ लाई समग्रमा सकारात्मक बताए पनि संस्था दर्ताका लागि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए ।  उनीहरूले नेपाललाई ’ग्लोबल एजुकेसन हब’ का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा पनि राखे । मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, गुणस्तरीय सेवा प्रवद्र्धन, नीतिगत सुधार, नियामकीय व्यवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे सुझाव संकलन गरिएको थियो । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए ।