विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक
काठमाडौं । देशभर इन्टरनेट सेवाको माग तीव्र गतिमा बढ्दै गएसँगै नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीलाई लक्षित उक्त अफर शुक्रबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुभारम्भ गरे । मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच बढाउन टेलिकमले गरेको पहल प्रशंसनीय रहेको बताउँदै, यसले डिजिटल समावेशितामा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले टेलिकमलाई ग्राहक वृद्धि र सेवा विस्तारका लागि प्रभावकारी बजारीकरण रणनीति अपनाउन निर्देशनसमेत दिए । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा सेवा केन्द्रित दृष्टिकोणका साथ काम गर्दै आएको बताइन् । उनले सेवा विस्तारसँगै आम्दानीका सम्भावित क्षेत्र पहिचान गरी राजस्व वृद्धिमा पनि जोड दिनुपर्ने उल्लेख गरिन् । यस अफर अन्तर्गत विद्यार्थीहरूले ४ हजार ९९९ रुपैयाँ (करसहित) मा ३० मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सेवा एक वर्षका लागि पाउनेछन्। यो सेवा २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ । यसमा ५०० रुपैयाँ जडान शुल्क थप लाग्नेछ । साथै, प्रत्येक विद्यार्थीले १ थान दोहोरो ब्यान्ड क्षमताको मोडेम (सीपीई) र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफरका लागि विद्यार्थीहरूले १९८ मा सम्पर्क गरेर माग प्रणाली (डिमान्ड पोर्टल) मार्फत वा नजिकको टेलिकम कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । आवेदनका साथ विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र र (नाबालिगको हकमा) अभिभावकको नागरिकता वा अन्य प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । फाइबर सेवा समाप्त भएपछि सोही प्याकेजमा नवीकरण गर्न नपाइने भएकाले विद्यार्थीहरूले आवश्यकता अनुसार टेलिकमका अन्य उपलब्ध प्याकेजहरू चयन गरी सेवा निरन्तर प्रयोग गर्न सक्नेछन् । जडानसम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट वा ग्राहक सेवाकेन्द्र १९८ मा सम्पर्क गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
पार्टीमा लाग्ने शिक्षकलाई सरकारले बर्खास्त गर्ने, भातृ संगठनलाई मान्यता नदिने
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई मान्यता नदिने बताएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न व्यक्तिहरूबाट शिक्षकको पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै त्यस्ता पार्टीका भातृ संगठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी दिएको हो । शिक्षामन्त्री महावीर पुनले राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् । उनले कनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् । शिक्षक–कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ–संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि उल्लेख गरेको छ ।
त्रिवि चमेना गृह परियोजनामा अवरोध, व्यवसायीले भने– ‘अब मौन बस्दैनौं’
काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् । विद्यार्थी संगठनका नेताहरूले काम शुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र पैसा असुल्ने गरेको आरोप लगाउँदै व्यवसायीहरूले आगामी दिनमा यस्तो गतिविधि भए मौन नबस्ने बताएका हुन् । निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम शुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको आरोप लगाए । ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको उनको भनाइ छ । तर काम शुरु भएपछि पैसा माग्ने गरेको महर्जनले बताए । यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने निर्माण व्यवसायी महर्जनको भनाइ छ । महर्जनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाए । व्यवसायी महर्जनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिएका छन् । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मंगलबार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो । साउनबाट शुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए । मंगलबार विद्यार्थी र व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको थियो । निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठूलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन् ।