अब शंकरदेवको फी ग्लोबल आइएमईको मोबाइल बैंकिङबाटै तिर्न सकिने
काठमाडौं । अब शंकरदेव क्याम्पसका विद्यार्थीहरुले ग्लोबल आइएमई बैंकबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसंगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना १९ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पन्न भएको हो । उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपक कुंवरले प्रस्तुत गरेका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै, यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने उनले बताए । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्धक दिप बहादुर बि. सि., प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयाल लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शैक्षिक संस्था बन्द गर्न सांसदहरुकाे माग
काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद भीमसेनदास प्रधान र रेणुकुमारी यादवले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भीडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गरे । सांसद रामबहादुर विष्टले कोरोना भाइरसको सम्भावित महामारीलाई लिएर बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएको भन्दै यसको नियन्त्रण गर्न के कति प्रगति भइरहेको छ भनी जानकारी माग गरेका छन् । सांसद बिमला नेपालीले संविधानअनुसार दलित विद्यार्थीका लागि व्यवस्था भएको छात्रवृत्ति वर्तमान सरकार गठन भएदेखि खोसिएको भन्दै यसले दलित समुदायमा चोट पुगेको बताउँदै सुनिश्चित गर्न माग गरिन् । सांसद भरतकुमार शाहले यातायातमा सिन्डिकेट हटिसकेको भए पनि अझै भारतबाट आउने ट्रकमा ढाँट लगाएर शुल्क लिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद महेश्वरजङ्ग गहतराजले मुलुकभर सवारी दुर्घटना बढिरहेको भन्दै सचेतना कार्यक्रम बढाउनुपर्ने बताए । सांसद मीना सुब्बाले नेपाल प्रहरीका एकजना अधिकारीले केही समयअघि काखीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनामा भइरहेको छानबिन र दोषीलाई भइरहेको कारवाहीका बारेमा जानकारीको माग गरे । सांसद मीनबहादुर विश्वकर्माले छुवाछूतका घटनामा वृद्धि भइरहेको भन्दै दलित आयोग र महिला आयोग तत्काल गठन माग गरेका छन् । सांसद यज्ञबहादुर बोगटीले कर्णाली राजमार्गको दूरावस्थाका कारण दुर्घटना बढेका भन्दै स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद यज्ञराज सुनुवारले स्तरीय सडकको अभावमा पहाडी जिल्लामा यात्रा कठिनाइ भएको भन्दै सडक सुधारका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रङ्गमती शाहीले हुम्लामा हिमपातका कारण खाना र अत्यावश्यक सुविधाबाट जनता वञ्चित हुनु परेकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद राजेन्द्रकुमार केसीले विश्व बजारमा पेट्रालियम पदार्थको मूल्य घट्दा पनि नेपालमा किन समायोजन नभएको भनी सरकारसँग प्रश्न गरे । साथै उनले सरकारले पेट्रोलमा प्रतिलिटर विभिन्न नाममा रु ४७ कर लिने गरेको भन्दै तत्काल विश्व बजारअनुसार मूल्य समायोजन गर्न माग गरे । सांसद राजेन्द्रप्रसाद गौतमले भूमिसुधार मन्त्रालयअन्तर्गत सङ्खुवासभामा विशेष नापी शुरु भएकामा स्थानीय जनता खुशी भएको उल्लेख गरेका छन् । सांसद रामबाबुकुमार यादवले सङ्घीयता कार्यान्वयनको सङ्घीय निजामती विधेयक र नागरिकता विधेयक पारितमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराए । सांसद रेणुका गुरुङले पूर्वप्रधान सेनापतिको भ्रष्टाचारसम्बन्धी प्रकरण छानबिन कहाँ पुग्यो भनी प्रश्न गरे । सांसद लक्ष्मणलाल कर्णले १० वर्षे जनयुद्धकालमा तराईका जिल्लामा हटाइएको भन्सार कार्यालय आजसम्म पनि पुनःस्थापना किन हुन नसकेको भनी प्रश्न गरे । सांसद लक्ष्मी परियारले प्रतिनिधिसभामा उपसभामुख पद यति लामो समयसम्म रिक्त राख्नुपर्ने कुनै कानूनी प्रावधान नभए पनि निर्वाचनमा किन ढिलाइ भनी प्रश्न गरेका छन् । रासस