काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दी
काभ्रेपलाञ्चोक । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको जनाउँदै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको थियो । अनेरास्ववियुले प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेको केही दिनमा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि माघ ३० गते मूलगेटको तालाबन्दी खोलिएको थियो । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच यही फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । “क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि मूलगेटको मात्रै ताला खोलिदिएका थियौँ, एउटा वार्तामा मागबारे कुनै सम्बोधन भएन, अहिलेसम्म अन्य वार्ताको कुनै जानकारी छैन, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ”, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने। उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण परीक्षा बोर्डले स्नातक तहमा ती विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो । क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताए । साथै विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक/शिक्षकलाई कारवाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आफ्नाे प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ । क्याम्पसप्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी भएको विषयमा जानकारी नभएको बताउँदै आएका छन् । उनले केही ‘बाहिरी तत्व’ले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्वत् ढङ्गले नै कक्षा ११ र १२ को अध्यापन भएको जिकिर गरे । विभिन्न सङ्कायमा करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थीलाई फरक विषयको परीक्षामा सामेल गराइएको थियो । रासस
अब स्वदेशमै हुन्छ चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन
कास्की । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङगार्ग निर्माणको योजना अघि सारिएकामा नौबिसे–नागढुङ्गा शिलान्यास भए पनि आवश्यक दक्ष प्राविधिक र इञ्जिनीयरिङ जनशक्तिको अभावमा अन्य आयोजना अघि बढ्न सकेको छैन । त्यही अभावलाई स्वदेशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरी परिपूर्ति गर्ने लक्ष्यसहित नेपालमा पहिलोपटक इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तर तहमा चट्टान तथा सुुरुङ (रक एण्ड टनेल) इञ्जिनीयरिङको अध्यापन शुरु गर्न लागिएको छ । क्याम्पसले आवश्यक भर्ना कार्यक्रमसमेत प्रकाशन गरेको छ । पहिलोपटक २० जनाको कोटा तय भएकाले चैत तेस्रो हप्ताभित्रमा भर्ना कार्यक्रम सम्पन्न गरेर आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए । गत कात्तिकमा सो विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकहरुको सम्मेलनमार्फत स्नातकोत्तर तहको कोर्षको ढाँचामा रहेर चट्टान तथा सुरुङ इञ्जिनीयरिङको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरिएको थियो । सो पाठ्यक्रमलाई इञ्जिनीयरिङ अध्ययन संस्थान सिभिल इञ्जिनीयरिङ विषय समितिले अन्तिम रूप दिएको थियो । त्यसलाई विद्या परिषद्मा लगेर त्यहाँबाट पाठ्यक्रम स्वीकृत भएपछि त्रिवि कार्यकारी परिषद्ले कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको बताइन्छ । स्नातकोत्तर तहमा भौगोलिक अवस्थाको अन्वेषण, चट्टान तथा सुरुङ डिजाइन, कन्स्ट्रक्शन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय कोर्षमा समावेश गरिएको छ । ‘ब्याचलर अफ सिभिल इञ्जिनीयरिङ’को कोर्षमा टनेल इञ्जिनीयरिङका केही विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटेर पहिलोपटक अध्यापन गर्न लागिएको बताइन्छ । यसबाट स्नातकोत्तर तहमा सो विषय अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हट्ने भएको छ । “नेपाली भौगोलिक अवस्थाअनुसार तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण प्राज्ञिक प्रक्रिया पूरा गरेका छौँ, आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गर्दछौँ”, क्याम्पस प्रमुख पौडेलले भने । गण्डकी प्रदेश सरकार, नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी(एनटिएनयु) विश्वविद्यालय तथा नेपाल टनेलिङ एशोसिएशनलगायतका सङ्घसंस्थाले समेत कार्यक्रम सञ्चालन लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइन्छ । क्याम्पसले कार्यक्रम सञ्चालनको तयारी शुरु गरे पनि आवश्यक दरबन्दी तथा ल्याबलगायतका पूर्वाधार अभाव रहेको जनाएको छ । विदेशमा सो विषय अध्यापन गरेर आएकाले सहयोगको प्रतिबद्धता जनाएकाले शुरुआतमा उनीहरुमै निर्भर रहने योजना क्याम्पसको छ । विदेशमा रहेका विषयविज्ञ नेपाली तथा विदेशीसमेत अध्यापनका लागि आउन इच्छुक रहे पनि त्रिविको न्यून पारिश्रमिकका कारण कठिनाइ भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग क्याम्पसको छ । क्याम्पस प्रमुख पौडेलले भने, “सडक, जलविद्युत्, रेलमार्ग तथा अन्य पूर्वाधारका लागि हाम्रोजस्तो भूगोलमा सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि देशभित्रै जनशक्ति उत्पादन गर्ने योजना हो । वर्तमान सरकार र प्र्रधानमन्त्रीको इच्छा साकार पार्न हात उठाएका छौँ, सरकारको सहयोग हामीलाई चाहिन्छ ।” गण्डकी प्रदेश सरकारले समेत यस विषयको अध्यापनका लागि शुरुदेखि नै सक्रियता देखाएको थियो । चालू आवको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्न रु १० लाख बजेट विनियोजन सरकारले गरेको थियो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पहाडैपहाड भएको प्रदेशको विकासका लागि इञ्जिनीयरिङको जनशक्ति विकास गर्न सरकारले शुरुआतदेखि नै चासो दिएर सहकार्य गरेको बताउँदै नयाँ विषयको अध्यापनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने बताए । “रक एण्ड टेनल नेपालका लागि नौलो प्रविधिको पढाइ हो । त्यसका लागि सरकारले क्याम्पससँगको समन्वयमा आवश्यक साधन स्रोत उपलब्ध गराउन प्रतिबद्ध छ”, मन्त्री बस्नेतले भने । रासस
परीक्षा सञ्चालन तथा पठनपाठन बन्द गर्ने निर्णय फिर्ता
कैलाली । धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आज फिर्ता लिएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आज पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ । रासस