अल्फा बिटामा ब्रिज कोर्सको तयारी, चैत २४ देखि कक्षा सञ्चालन

काठमाडौँ । नयाँ बानेश्वर स्थित अल्फा बिटाले यसवर्षको पनि ब्रिज कोर्स सञ्चालन गर्दैछ । एसईई दिएर बसेका विधार्थीहरुको लागि चैत २४ गतेदेखि ब्रिज कोर्स सञ्चालन हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले बताए । साइन्स, म्यानेजमेन्ट, नर्सिङ्ग तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु सञ्चालन हुने प्रेसिडेन्ट तथा सिइओ शर्माले बताए । ब्रिज कोर्समा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुद्वारा करियर काउन्सिलिङ्ग गरिने छ । यसका साथै अल्फा बिटाले हरेक वर्ष ब्रिज कोर्समा विभिन्न अतिरिक्त क्रियाकलाप तथा व्यावहारिक कक्षाहरुमा ध्यान दिने गरेको जानकारी शमाले जानकारी दिए । गत वर्ष अल्फा बिटाबाट ब्रिज कोर्स कक्षा पढेर सेन्ट जेभियर्स गोदावारीमा नाम निकाल्न सफल आर्शिवाद झाका अभिभावकले भने–’ब्रिजकोर्स सुरु गर्नु अघि र पछिमा मैले आफ्नो बाबुमा धेरै भिन्नता पाएँ । पहिले राम्रो पढ्नुपर्छ, मेहेनत गर्नुपर्छ भन्ने भावना त थियो, तर कसरी राम्रो भन्ने हामीलाई पनि खासै थाहा थिएन ।’ अल्फा बिटामा ब्रिज कोर्स गर्दा, विभिन्न व्यक्तित्वहरुको अनुभव र भोगाई सुन्दा, नेपालका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुसँग भेट्दा तथा व्यावहारिक शिक्षाले उत्प्रेरित भएर आफ्नो बाबुमा सकारात्मक सोचको विकास भएको पाएँ–ती अभिभावनले भने । अल्फा बिटा ब्रिज कोर्सबारे बताउँदै शर्माले भने-“अल्फा बिटा ब्रिज कोर्सभनको उत्कृष्ट तयारी कक्षा, सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एसओएस, ट्रिनिटी, हिमालयन ह्वाईट जस्ता कलेजको नमुना प्रश्नहरुमा आधारित साप्ताहिक परीक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो । साप्ताहिक परीक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्रिया र रोबोट, रोबोटिक्सको बारेमा शिक्षा,आत्मनिर्भर हुने गतिविधिहरु जस्तै सामाजिक बोल, व्यक्तित्व विकास र विभिन्न सफल व्यक्तित्वहरुसँगको अन्तरक्रियाले गर्दा यो १० हप्ताको समयमा विद्यार्थीले नौलो एक्सपोजर पाउने कुरा शर्माले जानकारी गराए ।

अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो, २ करोड ४० लाख रुपैयाँ बचत हुने

काठमाडौँ । अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको छ । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो । ‘एक महिनाभित्र दूतावासले कार्यान्वयन गर्ने प्रतिबद्धता आज पनि दोहोर्‍याएको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसबाट हाम्रो करोडौँ जोगिनेछ ।’ अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका जाने गर्छन् । जसअनुसार कम्तीमा नेपालीको २ करोड ४० लाख रुपैयाँ बचत हुनेछ । गत १ जनवरीदेखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएको थियो । यद्यपि, औपचारिक उद्घाटन सोमबार भएको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सोमबार तीन अमेरिकी पर्यटकलाई पाँचवर्षे बहुप्रवेशी भिसा प्रदान गरेका हुन् । कार्यक्रममा सहभागी काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोसीले अतिरिक्त शुल्क नलिने प्रक्रिया अघि बढेको र छिटै कार्यान्वयन हुने बताए । नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ । भिसाको आवेदन दिनेमध्ये करिब १५ प्रतिशत नेपालीले मात्र अमेरिकी भिसा पाउँछन् । भिसा नलागे पनि शुल्क भने तिर्नुपर्छ । जापानी दूतावासलगायतले भिसा नलागेको अवस्थामा शुल्क फिर्ता गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो एसईई प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ । सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्‍याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।