श्रेष्ठद्वारा एक लाखको अक्षयकोष स्थापना
दमौली । तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व. रेशमलाल श्रेष्ठ र आमा स्व. विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख एक हजार एक सय एघारको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यबमोजिम अक्षयकोष स्थापना गरिएको श्रेष्ठले जानकारी दिएका छन् । “विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षाका लागि केही गरौँ भन्ने भावनासहित बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको हुँ”, श्रेष्ठले भने, “मेरो सानो सहयोगले बालबालिकाको भविष्य निर्माणका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।” बाबुआमाको स्मृतिमा फरक–फरक कार्यक्रम गर्ने गरिए पनि शिक्षामा लगानी गर्नुजस्तो पुण्य काम अरू नभएको श्रेष्ठले बताए । दाताले स्थापना गरेको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सरिता पौडेलले जानकारी दिएकी छिन् । विद्यालयमा हाल २६० छात्रछात्रा अध्ययनरत छन् । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । विद्यालयमा हालै मात्र माध्यमिक तहको पढाइ सञ्चालन भएको हो । विद्यालयले गत असार १४ गते सरोकारवालासँग विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छलफल गरेको थियो । उक्त छलफलपश्चात् विभिन्न सरोकारवालाले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । माध्यमिक तह सञ्चालन समितिका संयोजक विष्णुभक्त न्यौपानेका अनुसार यस अवधिमा रु १३ लाख ९९ हजार १९३ सहयोग प्राप्त भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानीयवासी, अभिभावक एवं सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने जानकारी समेत दिएका छन् । रासस
माइक्रोवायोलोजीस्ट विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने
काठमाडौं। लाईसेन्स दर्ताबाट बन्चित माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुको हकमा १५ दिन भित्र निर्णय हुने भएको छ। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसीद्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित गरेको भन्दै विद्यार्थीहरु लामो समय देखी आन्दोलनमा थिए। आन्दोलनको क्रममा माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुले सोमबार बाँसबारीमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मामा बिहान १० बजेबाट १ बजेसम्म घेराउ गरेका थिए। परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले माइक्रोवायोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थीलाई लाइसेन्स दिने व्यवस्थाका लागि १५ दिनभित्र प्रक्रिया शुरु गर्ने आसश्वासन दिएको आन्दोलनमा रहेका माइक्रोबायोलोजिस्ट अनिश खतिवडाले बताए। विद्यार्थीलाई लाइसेन्स उपलब्ध गराउन पहल गर्ने सहमति भएसँगै विद्यार्थीहरुले आफ्ना आन्दोलन स्थगित गरेका छन् । त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वार्षिक १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पूरा गर्छन् । तर उनीहरुले परिषदबाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पूरा गरिसकेको सुक्ष्म जीव विज्ञान विद्यार्थी संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत आईओएम् र आईओएस्टीमा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजीमा आईओएमले मात्र एनएचपिसीबाट दर्ता पाउने गरेका छन। टि.यु.एमएससी मेडिकल माइक्रोबायोलोजीसँग इकुभ्यालेन्ट लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको विद्यार्थीहरुको रहेको थियो। एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीका विद्यार्थीहरुले अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ।
काञ्जीरोवामा स्टिम प्रशिक्षण
काठमाडौं। कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रोबोटिक्स सङ्घसँगको सहकार्यमा काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकहरूको सहभागिता रहेको थियो । नेपाल रोबोटिक्स सङ्घ र संयुक्त राज्य अमेरिकाका अन्य केही संस्थाहरूको सहयोगमा विद्यालयमा सञ्चालित स्टिम परियोजनाबाट विगत पाँच वर्षदेख काञ्जीरोवाका विद्यार्थीहरू लाभान्वित हुँदै आइरहेका छन् । विज्ञान र प्रविधिप्रति झुकाव भएका युवापुस्तालाई स्टिमसम्बन्धी नवीन अभ्यास र प्रयोगका बारेमा जानकारी दिई स्टिमको अवधारणाबारे प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कान्जिरिवाले जानकारी दिएको छ। प्रशिक्षणमा स्टिम शिक्षा, साजसज्जासम्बन्धी चिन्तन, ड्रोन र यसको सञ्चालन तथा थ्रिडी प्रिन्टिङको प्रयोग, परीक्षण र प्रदर्शनका विषयमा छुट्टाछुट्टै प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षकहरूले कार्यक्रमको विषयवस्तुसँग जोडिएका विभिन्न जिज्ञासाहरू समेत राखेका थिए । प्रशिक्षणलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जीरोवाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा स्टिम परियोजना सञ्चालन गर्दै आइरहेको र नेपालमा थ्रिडी प्रिन्टिङ प्रयोगमा ल्याउने पहिलो विद्यालय काञ्जीरोवा हुन पाएकोमा आफूहरूलाई गौरव अनुभूति भएको धारणा राखे । कार्यक्रमको अन्त्यमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षक–शिक्षिकाहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।