उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो । सङ्घका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निक्लन आग्रह गर्दै आज मध्याह्न १२ बजे तालाबन्दी गरेका हुन् । उपकुलपति प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठ सङ्घले तालाबन्दी गर्नु दुई मिनेटअघि आफ्नो कार्यकक्षबाट बाहिरिएका थिए । काठमाडौँ विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको सङ्घका अध्यक्ष डा. वेदमणि दाहालले जानकारी दिए । सङ्घ पदाधिकारी तथा केही कर्मचारीले हिजोदेखि विश्वविद्यालयमा सञ्चालित परीक्षासमेत बहिष्कार गरेका छन् । काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरिनुपर्ने कुरामा जोड दिए । त्यसैगरी, लामो समयसम्म एउटै पदमा कार्यरत करार÷अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नेलगायतका विषयमा विश्वविद्यालय प्रशासनसँग सम्झौता भएको सङ्घले जनाएको छ । यही साउन १७ गते सङ्घसँग छलफलका क्रममा रजिस्ट्रार डा. सुबोध शर्माले छलफल गरी १० दिनभित्र कार्यकारी परिषद्मा प्राध्यापक प्रतिनिधि छनोट गर्ने आश्वासन दिएको तर सोही दिन अर्का व्यक्तिलाई छनोट गरेकाले सङ्घलाई बेवास्ता गरेपछि विरोधस्वरूप तालाबन्दी गरेको डा. दाहालले बताए । साथै, सङ्घले यही साउन २३ गते विज्ञप्ति जारी गरी विश्वविद्यालयमा हुने सबै प्रकारका परीक्षामा सहभागी नहुन सङ्घमा आबद्ध प्राध्यापक तथा कर्मचारीलाई आग्रह गरेको छ । “हामीले परीक्षा सञ्चालन समिति र विश्वविद्यालय प्रशासनलाई तोकिएको मितिमा परीक्षा सञ्चालन गर्न तालाबन्दी गर्नुअघि नै वैकल्पिक व्यवस्था गर्न भनिसकेका छौँ”, सङ्घका महासचिव अध्यक्ष डा. विकास अधिकारीले भने । स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनले प्राध्यापक र कर्मचारीमाथि दबाबमूलक परिस्थिति सिर्जना गर्नु सार्वजनिक पदको दुरुपयोग भएको सङ्घले जिकिर गरेको छ । सम्बन्धित डीनले परिषद् सदस्य छनोटका विषयमा सार्वजनिक रूपमा प्रष्ट नपारेसम्म र माथि उल्लिखित सार्वजनिक पदको दुरुपयोगका विषयमा माफी नमागेसम्म तालाबन्दी जारी रहने सङ्घले जनाएको छ । स्कूल अफ साइन्सका डीन एवं विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा. डा. कन्हैया झाले आफूहरुले प्राध्यापक र कर्मचारीलाई कुनै पनि विषयमा दबाब नदिएको जानकारी दिए । उनले सम्झौता गरेका विषय कार्यान्वयन गराउने सम्बन्धमा छलफल गरी समस्या समाधान गर्न प्राध्यापक सङ्घका पदाधिकारीसँग आग्रह गर्दै आएको पनि बताए । उनले भने, “ऐन त विश्वविद्यालय प्रशासनले परिवर्तन गर्न सक्दैन तर अन्य विषयमा छलफल गर्न प्रशासन तयार नै छ ।” विश्वविद्यालयमा आज उपकुलपति र रजिस्ट्रारको कार्यालयमा कर्मचारी समेतलाई बाहिर निकाली तालाबन्दी गर्दै विभिन्न सङ्कायका सेमेष्टर परीक्षा सञ्चालन भइरहँदा सङ्घका प्राध्यापक र कर्मचारी संलग्न नहुनु गलत भएको डा. झाले बताएका छन् । उनका अनुसार विश्वविद्यालयमा शनिबारदेखि सेमेस्टर परीक्षा सञ्चालन भइरहेको छ । रासस
प्रदेश ३ का १० सामुदायिक विद्यालयमा ‘स्कूल बस’, प्रदेश सरकारले छुट्यायो २ करोड ५० लाख
घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उनको भनाइ छ । सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए । हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक÷एक बस उपलब्ध गराउन लागिएको छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो ।
नेपाल इन्जिनियरिङ कलेजमा पढ्न ५०० विद्यार्थीले दिए प्रवेश परीक्षा
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिंग पढन चाहने विद्यार्थीको राम्राे चाप देखिएकाे छ । शनिबारको प्रवेश परीक्षामा उलेख्य विद्यार्थी सहभागी भएका थिए । कुल चार सय ८० विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा पाँंच सय भन्दा वढी विद्यार्थी परीक्षार्थी रहेका थिए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नेपालकै उत्कृष्ट इन्जिनियरिंगको पढाई हुने कलेज भएकाले आफूहरुको कलेजमा विद्यार्थीको आकर्षण रहने गरेको सुनाए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा यसपछि प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहको इन्जिनियरिंगमा भर्ना हुन चाहने विद्यार्थी अत्याधिक छन् । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् । स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् । कलेजमा सिभिलमा एक सय ४४, सिभिल एण्ड रुरलमा ४८, आर्किटेक्चरमा ४८, इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, कम्प्युटरमा ९६, र इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६ गरी कुल चार सय ८० कोटा रहेका छन् । नेपाल इन्जिनियरिंग काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिंग विषयको पठनपाठन गराइरहेका छन् । तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिंगका पढाईहरु भइरहेका छन् । यस हिवासले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ ।