नेको इन्सोरेन्सको एकैपटक १२ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडबाट संस्थापक सेयरधनीहरू बाहिरिने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । उक्त सेयर बिक्री गर्ने इच्छा जाहेर गरेपछि सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र अर्थात् भदौ ८ गतेसम्म खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य तोकि आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
आईजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच नगदरहित उपचार सेवा सम्झौता
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पतालबीच नगदरहित (क्यासलेस) अस्पताल उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै कम्पनीका स्वास्थ्य बीमा ग्राहकले जनमैत्री अस्पतालबाट बीमालेखको सीमाभित्र रही नगदरहित अस्पताल भर्ना (क्यासलेस हस्पिटलाइजेसन) सेवा लिन सक्ने भएका छन् । सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि आयोजित कार्यक्रममा आईजीआई प्रुडेन्सियलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालका सेवाग्राहीले कम्पनीको स्वास्थ्य बीमा खरिद गरी अस्पतालमा नगदरहित उपचार सेवा लिन सक्ने बताए । साथै अस्पताल र त्यससँग आबद्ध सेवाग्राहीले कम्पनीबाट आवश्यक विभिन्न प्रकारका बीमा सेवासमेत सहज रूपमा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे । कार्यक्रममा जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूप श्रेष्ठले अस्पतालका सेवाग्राहीको संख्या निरन्तर बढिरहेको उल्लेख गर्दै आईजीआई प्रुडेन्सियलसँगको सहकार्यले बीमितलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि कम्पनीसँगको सहकार्यलाई थप विस्तार गर्दै जाने बताए ।
आईएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन् । आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ । यसैगरी, युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ जितेका हुन् । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजी माध्यमबाट सुरु भएको रेमिट्यान्स सेवा अहिले डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरूलाई टिग्मोमार्फत आईएमईमा पैसा पठाउन आग्रह गरे । आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने प्रमोसन अभियानहरू केवल मार्केटिङ का लागि मात्रै नभई सेवाग्राहीको व्यक्तिगत वा परिवारको हित हुने गरी ल्याउने गरेको बताए । कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरू सञ्चालन मा ल्याउने जानकारी दिए । आईएमईले पुस २१ गतेदेखि चैत १७ गतेसम्म यो योजना सञ्चालन मा ल्याएको थियो । योजना अन्तर्गत पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारेका थिए । योजना अवधिभर ७५ जना विजेताले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरूको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारअन्तर्गत एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर तथा साप्ताहिक १२ जनालाई आइफोन १७ पुरस्कार प्रदान गरेको थियो । साथै, आईएमईले ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म सञ्चालन मा ल्याउन लागिएको जानकारी पनि दिएको छ ।