कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो । बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न सकिनेछ । साथै, ‘डिस्कभर’ नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय डिस्कभर तथा आरयुपे कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ । हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् । तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन् । कामना सेवा विकास बैंकका देशभर करिब आठ लाख ग्राहक रहेका छन् । बैंकले हाल १२२ शाखा, एक एक्स्टेन्सन काउन्टर र ६६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । पछिल्लो समय बैंकले डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको र आगामी दिनमा डिजिटल सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गणपूरक संख्या नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा स्थगित

काठमाडौं । गणपूरक संख्या (क्वोरम) नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा स्थगित भएको छ । विभिन्न एजेण्डासहित लघुवित्तले असार ३२ गते साधारण सभा बोलाएको थियो ।  तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र÷नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या (क्वोरम) नपुगेपछि सभा स्थगित भएको थियो । साथै सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले उक्त सभा साउन १० गते बिहान ११ बजे भक्तपुरको ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी-३, कौशलटारमा पुनः सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाका अनुसार स्थगित सभामा यसअघि समावेश गरिएका प्रस्तावहरू नै प्रस्तुत गरिनेछन् । त्यस्तै, असार ३२ गतेका लागि विधिवत दर्ता भएका प्रोक्सी (प्रतिनिधि) हरू पुनः बस्ने सभामा स्वतः मान्य हुनेछन् ।

‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न, विजेतलाई ९ लाखको बीमासहित नगद पुरुस्कार

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता ‘टेम्बल रन’ को सहकार्यमा सम्पन्न गरेको हो ।  कम्पनीका अनुसार कार्यक्रममा ५ सयभन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । दौड कम्पनीको केन्द्रीय कार्यालय, नक्साल भगवती मार्गबाट प्रारम्भ भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर, उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।  सहभागीहरूको उत्साह, ऊर्जा र सक्रियताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएका थिए । दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र रमाइलोपन थपेको थियो ।  कार्यक्रममा सहभागी सम्पूर्ण धावकहरूलाई सहभागिता पदक प्रदान गरिएको थियो। साथै, पुरुष तथा महिला विधामा प्रथम स्थान हासिल गर्ने विजेतालाई ९ लाखसम्मको सलिको आरोग्य हेल्थ इन्स्यारेन्ससहित  नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी ‘सलिको सुरक्षा रन २०२६’स सँगसँगै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । यस अन्तर्गत गण्डकी, कोशी तथा सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको थियो ल। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले समाजप्रतिको आफ्नो दायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रयास गरेको जनाएको छ । कार्यक्रमको सफल आयोजनाले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले विश्वास व्यक्त गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी दिनहरूमा पनि सामाजिक उत्तर दायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।