नेशनल लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ७ अर्ब रुपैयाँ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आक्रामक व्यापार गरेको छ । कम्पनीले पहिलोपटक ७ अर्ब रुपैयाँ बढीको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आव २०८२/८३ मा ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन अघिल्लो आवको तुलनामा १६.७९ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो वर्ष २०८१/८२ मा ६ अर्ब ८ करोड ४५ करोड कम्पनीले प्रथम बीमाशुल्कबापत आम्दानी गरेको थियो। एक वर्षको अवधिमा कम्पनीले कम्पनीले २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९.९७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन भएको गरेको छ। अघिल्लो आवमा कम्पनीले १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले नविकरण बीमाशुल्क ७.४६ प्रतिशतले बढेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहज रूपमा कर्जा लिन सक्नेछन् । बैंकका अनुसार यस योजनामार्फत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकता पूरा गर्न यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सुविधा हालका लागि काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
नेपाल लाइफले बनायो नयाँ इतिहास, प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फर्स्ट प्रिमियम इन्कम–एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले आफ्नो २५ वर्षे गौरवमय यात्रा (सिल्भर जुबिली) को अवसरमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा पहिलो पटक यस्तो उपलब्धि हासिल गरेको जनाएको छ । गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको रेकर्डलाई यस वर्ष थप उचाइमा पुर्याएको कम्पनीको दाबी छ । यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीप्रति विश्वास गर्ने बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । कम्पनीले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गर्दै यस उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको जनाएको छ । नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ । कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’लाई ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा लिँदै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्व कायम राख्ने विश्वास व्यक्त गरेको छ ।