जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर भदौ २७ गतेदेखि

काठमाडौं । जनरल फाइनान्सको हकप्रद सेयर भदौ २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक कित्ता बराबर १.२५ कित्ताको अनुपात(१२५) प्रतिशत)का दरले एक सय रुपैंयाँ मूल्य अंकित १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जनरल फाइनान्सको हकप्रद सेयर असोज ३० गतेसम्म भर्न पाइनेछ । साउन २५ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

भूकम्पपछिको बीमा दावी भुक्तानीः २६० दावीको ३ अर्ब ७९ करोड मात्रै बाँकी

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पपछि निर्जिवन बीमा कम्पनीहरुमा १७ हजार ७ सय ९८ वटा बीमा दावी परेका थिए । तीमध्ये ६ हजार एक सय ७४ वटामा दावी नलाग्ने देखियो । बाँकी रहेका ११ हजार ६ सय २४ वटा दावीका लागि १५ अर्ब ०२ करोड २ लाख रुपैंयाँ भुक्तानी गर्नुपर्ने देखिएको थियो । बीमा समितिका अनुसार अब जम्मा २६० वटा दावी वापत ३ अर्ब ७९ करोड ९८ लाख रुपैंयाँको बीमा मात्रै भुक्तानी गर्न बाँकी रहेको छ । यो अवधीमा बीमक कम्पनीहरुले ११ हजार ३ सय ६४ वटा बीमा दावीका लागि १२ अर्ब १२ करोड ४ लाख रुपैंयाँ भुक्तानी गरिसकेका छन् । भुक्तानी हुन बाँकी रहेका बीमा दावीमध्ये केहिमा कानुनी समस्या देखिएको छ भने केहि जलविद्युत परियोजनाहरु रहेकाले मर्मतपछि मात्रै भुक्तानी दिने व्यवस्थाका कारण ढिलाई भएको छ । ‘अब भुक्तानी गर्न बाँकी रहेका दावी भनेको केहि ठुला हाउजिङ कम्पनीको र केहि जलविद्युत आयोजनाका मात्रै छन’, बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले भने । उनले ठुला हाउजिङका केहि भवनको बीमा भुक्तानीमा कानुनी समस्या देखिएको र मर्मत गर्नुपर्ने जलविद्युत आयोजनाले काम गरेर बील पेश गरेपछि मात्रै भुक्तानी पाउने व्यवस्थाका कारण ढिलाई भएको बताए । ‘कानुनी र प्रक्रियागत व्यवस्थाका कारण केहि बीमा दावी भुक्तानीमा ढिलाई भएको जस्तो देखिएको मात्रै हो, अन्य मुलुकमा भन्दा हामीले चाँडै सेटलमेन्ट गरेका छौं’, कार्कीले भने । उनले जापानमा सुनामीका कारण भएको क्षतिको दावी भुक्तानी प्रक्रिया अझै चलिरहेको बताउँदै भने–‘बीमा व्यवसाय भनेको सहज भुक्तानीका कारण फस्टाउँछ, समितिले पनि भुक्तानी सहजताका लागि काम गरिरहेको छ, कम्पनीहरु पनि भुक्तानीका लागि सचेत छन, केहिमा कानुनी समस्या देखिएकै छ’, कार्कीले भने । रकमका आधारमा कुल माग दावीको ८१.४५ प्रतिशत बीमा भुक्तानी भैसकेको छ भने संख्याका आधारमा ९८.५४ प्रतिशत भुक्तानी भैसकेको छ । समिति श्रोतका अनुसार काठमाडौं बसुन्धारामा रहेको पार्क भ्यु होराइजनको बीमा दावी र भुक्तानीमा कानुनी समस्या उत्पन्न भएको छ । नक्सा पास भन्दा बढि तल्लाको भवन निर्माण गरिएकाले बीमा दावी भुक्तानीमा समस्या उत्पन्न भएको हो ।

महालक्ष्मी इन्स्योरेन्सले पैसा जम्मा गर्न सकेन, ४५ दिन समय थप्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० कम्पनी मध्ये बीमा समितिले तोकेको समयमा ९ कम्पनीले मात्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गरेको छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले भने आवश्यक पुँजी जुटाउन असफल भएको छ । नयाँ कम्पनीको लागि बीमा समितिले कम्तिमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । त्यसमा प्रवद्र्धकले १ अर्ब ४० पैसा जम्मा गर्नु पर्ने हुन्छ । बीमा समितिले गत जेठ ८ गते १० वटै कम्पनीलाई पत्र लेख्दै ३ महिनाभित्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गर्न, समितिले तोकेका सबै प्रक्रिया पुरा गर्न निर्देशन दिएको थियो । पैसा जम्मा गर्ने समय सीमा आज सकिएको छ । समयभित्र पैसा जम्मा नगर्ने र तोकिएको प्रक्रिया पूरा नगर्ने कम्पनीको सबै प्रक्रिया खारेज हुने पत्रमा उल्लेख गरिएको छ । ‘प्रक्रिया पूरा नगर्ने कम्पनीको अर्थमन्त्रालयले दिएको सैद्धान्तिक इजाजत खारेज हुने प्रष्ट रुपमा पत्रमा लेखिएको छ’ बीमा समिति स्रोतले भन्यो–‘तर अर्थमन्त्रालयले भदौ ७ गते नै बीमा समितिलाई पत्र लेख्दै सेयर पुँजी जम्मा गर्न ४५ दिन समय थप्न निर्देशन दिएको छ । ‘अर्थमन्त्रालयको पत्रको आसय महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई पुँजी थप्न समय दिनु भन्ने नै हो’ स्रोतले भन्यो ।