नारी दिवसका अवसरमा कैलाश विकास बैंकले ल्यायो सुरक्षित नारी बचत योजना
काठमाडौँ । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।
आइएमई र माछापुच्छ्रेबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
ठिमी र बनेपामा मुक्तिनाथले खोल्यो शाखा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेश्रेष्ठले गरेका हुन् । बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उनले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । मुक्तिनाथ विकास बैंकको देशैभरी ११४ वटा शाखा, २० वटा एटिएम सेवा सञ्चालनमा रहेको छ । करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।