युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा, २४० % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ । बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी र चुक्तापूँजी एक अर्ब दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । देशका अधिकांश विद्यार्थीले पठन पाठन गर्ने नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र देशको पहिलो बैंक नेपाल बैक लिमिटेड बीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले जनाएका छन् ।

जेबिल्स फाइनान्सले ३.५७ प्रतिशत बोनस सेयर दिने, पायो राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो । संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो । फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।