प्रिमियर इन्स्योरेन्सले कमायो १८ करोड

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७३/७४ मा १८ करोड १५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । कम्पनीले  अघिल्लो वर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा थियो । अघिल्लो वर्षको तुलनामा यसको नाफा घटेको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ कुल विमाशुल्क आर्जन गरेको छ । यसले उक्त अवधिसम्ममा १ लाख ७९ हजार ६५१ वटा बीमालेख जारी गरेको छ । यसको नवीकरण भएका विमालेखको संख्या ७३० वटा छन् । यसले प्रति सेयर आम्दानी ४० रुपैयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ९८ पैसा रहेको पनि उल्लेख छ ।

स्वरोजगार लघुवित्त विकास बैंकको २९ सय कित्ता सेयर लिलामीमा

काठमाडौं । स्वरोजगार विकास बैंकको २९ सय ८० कित्ता सेयर लिलामीबाट विक्री गरिने भएको छ । यो लघुवित्तले गत असार १ देखि साउन ४ गतेसम्म खुला गरेको हकप्रद सेयरमा बिक्री नभएको सेयर लिलामीबाट बेच्ने भएको छ । यो लघुवित्तले संस्थापकतर्फको १५ सय ८४ कित्ता र सर्वसाधारण तर्फको १३ सय ९६ कित्ता सेयर लिलामीबाट विक्री गर्ने भएको छ । एक सय रुपैयाँ अंकित यो संस्थाको सेयर आवदेन यही भदौ ८ देखि १६ गतेसम्ममा दिइसक्नु पर्ने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

राष्ट्रिय बिमा कम्पनीको नाफा २३ करोड ७० लाख

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्ष कम्पनीले नाफा ८ करोड रुपैयाँ बढाएको छ । कम्पनीले गत असारसम्म ८४ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आजर्न गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार गत असारसम्म १६ हजार ७६९ बिमालेख जारी गरेको छ । समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ दावी भूत्तानी गरेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट प्राप्त बोनस सेयर नेपाल धितोपत्र दर्ताको क्रममा रहेकाले यसपछि चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।