६० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । दिँउसोको सवा एक बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३८५ रुपैयाँ पुगेको छ ।

५० दरका २३ करोड थान नयाँ नोट छापिँदै, राष्ट्र बैंकले फान्सको कम्पनीलाई दियो जिम्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा विशेष योजना, डिम्याट खाता निःशुल्क

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ । सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा फागुन २२ गतेदेखि चैत ६ गतेसम्म पूर्ण रुपमा निःशुल्क गरिएको एनआइसी एशिया क्यापिटलले जनाएको छ । साथै फागुन २२ गतेदेखि चैत २२ गतेसम्म एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरेको छ । डिम्याट खातासंगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।