जनता बैंकले दोरम्बामा गर्यो निःशुल्क स्वास्थ्य शिविर, १ हजार बढीको स्वास्थ्य परीक्षण
काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवामा सहकार्य
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
मोरङको मधुमल्लामा खुल्यो राष्ट्रिय वाणिज्य बैंकको शाखा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ । नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक समारोहका बीच मधुमल्ला शाखाको उद्घाटन गरे । सो समारोहमा प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए । बंैकको प्रदेश नम्बर १ का निमित्त प्रमुख ऋषब भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मिल्काजुङ्ग गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला, स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।