समितिलाई अटेर गर्दै बिमकहरू, बिमकहरूले तोकिएको समयमा बुझाएनन् कार्ययोजना

काठमाडौं । नियामक निकायको निर्देशनलाई अटेर गर्दै अधिकांश बिमा कम्पनीहरूले तोकिएको समयमा गुज्रिसक्दा पनि पुँजी वृद्धि योजना बुझाएका छैनन् । गत चैत १८ मा बिमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले तीन महिनाभित्रमा पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो । तर, असार मसान्तसम्ममा जम्मा १२ वटा कम्पनीले मात्रै पुँजी वृद्धि योजना बुझाएका छन् । समितिले निर्देशिका जारी गर्दै कम्पनीहरूलाई २०७५ असार मसान्तसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले २ अर्ब रूपैयाँ र निर्जीवन बिमा कम्पनीले १ अर्ब रूपैयाँ पुँजी पु(याउनु पर्नेछ । निर्देशिकाअनुसार सञ्चालनमा रहेका बिमकले निर्देशिका लागू भएको तीन महिनाभित्रमा चुक्ता पुँजी कायम गर्ने कार्य योजना समितिमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ । तर, नौवटा निर्जीवन र तीनवटा जीवन बिमा कम्पनीले मात्रै समितिमा योजना बुझाएका छन् । पुँजी बढाउन बाँकी रहेका अन्य १३ वटा कम्पनीले भने समितिका योजना पेश गरेका छैनन् । समितिमा जीवन बिमा कम्पनी अन्र्तगत गुराँस, एसियन र सूर्या लाइफ इन्स्योरेन्सले कार्ययोजना बुझाइसकेका छन् । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ साल देखिको वित्तीय विवरण स्वीकृत भएपछि कम्पनीको नाफा र सेयरधनी कोष हेरेर पुँजी वृद्धि गरिने बताएको छ । बाँकी अन्य कम्पनीहरूले भने योजना नै पेश गरेका छैनन् । त्यस्तै, निर्जीवनतर्फ एभरेष्ट, सगरमाथा, लुम्बिनी, एनबी, एनएलजी, प्रुडेन्सियल, नेको, शिखर र प्रिमियर इन्स्योरेन्स कम्पनीले समितिका पुँजी वृद्धि कार्ययोजना बुझाएका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्स, ओरियन्टल र नेसनल इन्स्योरेन्सले म्याद थप गरेका छन् भने अन्य कम्पनीले कार्ययोजना नै बुझाएका छैनन् । कम्पनीहरूले समयमा नै कार्ययोजना बुझाउनु पर्ने हो । तर, केही कम्पनीहरूको प्रक्रिया लामो हुने भएकाले समयमा नै योजना बुझाउन नसकेको समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बताए । “सरकारी कम्पनी तथा विदेशी बिमकहरूले समय मागेका छन्,” उनले भने । जीवन बिमा कम्पनीमध्ये गुराँस र एसियन लाइफ इन्स्योरेन्सले बोनश सेयर जारी गरेर नै चुक्ता पुँजी पु¥याउने योजना बनाएको छ । सूर्या लाइफ इन्स्योरेन्सले भने एफपीओ र हकप्रद सेयर जारी गर्ने र विदेशी कम्पनीसँग साझेदारी गरी पुँजी पु¥याउने योजना बनाएको छ । कारोबार दैनिकबाट ।

नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ । शाह यसअघि  एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।

शिखर इन्स्योरेन्सको प्रिमियम आम्दानी २ अर्ब ७७ करोड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७३/७३ मा २ अर्ब प्रिमियम संकलन गरेको थियो । गत आर्थिक वर्षको नाफा भने केही दिनपछि एकिन हुने कम्पनी सचिव सुरज राजवहाकले बताए । ‘पुर्नबीमा र दावी भुक्तानीको हिसावपछि मात्र नाफा कति भयो भनेर भन्न सकिन्छ’ उनले भने । कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ छ । १३ वर्षअघि स्थापना भएको शिखर इन्स्योरेन्स हाल बजारको लिडर कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको चुक्ता पुँजी, नाफा, प्रिमियम, ग्राहक संख्या लगायत धेरै सूचकांङकमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।