एनएमबि माइक्रोफाइनान्सले दियो फिल्ड कर्मचारीलाई तालिम

काठमाडौं, ३० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्ड कर्मचारीलाई समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिएको छ । उक्त तालिमको उद्घाटन आइतबार फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले पोखरामा गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको शुरुवातको इतिहासको वारेमा प्रकाश पार्दै लघुवित्तको बारेमा स्पष्ट पारेका छन् । त्यसै गरी फिल्ड कर्मचारीहरु वित्तीय संस्थाको धरोहर भएकोले फिल्डमा कार्य गर्ने कर्मचारीहरुमा लघुवित्तको मात्र ज्ञान नभई बैंकिङ क्षेत्र लगायत धेरै कुराको ज्ञान हुन आवश्यक रहेको कुरा औल्याउदै सो ज्ञान हासिल गर्न विभिन्न किसिमका तालिम आवश्यक रहेको कुरा बताए । कार्यक्रममा कोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको र चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गर्नका लागि कर्मचारीले थप मेहनत गर्नुपर्ने बताए । ३ दिन सम्म चल्ने सो गोष्ठी तथा तालिम कार्यक्रममा आफ्नो शाखा अन्तरगत आ.व. २०७२/०७३ मा भएको फिल्ड कर्मचारीहरुको ब्यक्तिगत लक्ष्य तथा प्रगतीको समीक्षा, फिल्डमा कार्यक्रम संचालनका क्रममा आइपरेका चुनौतीहरुको बारेमा छलफल भएको छ । साथै सो चुनौतीहरुको समाधान कसरी गरियो भन्ने कुराको साथै आगामी आ.व. को लक्ष्य हासिल गर्नका लागि आवश्यक रणनीतिहरुको बारेमा छलफल गर्ने कोनाजोले बताएका छन् । कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका १५ जना कर्मचारीहरुका साथै ३३ वटा शाखा कार्यालयहरुका ७५ जना फिल्ड कर्मचारीहरुले आ आफ्नो शाखामा गरिएको लक्ष्य तथा प्रगति सम्बन्धमा प्रस्तुतीकरण गरेका छन् । कार्यकारी अधिकृत कोनाजोले सो प्रगति हासिल गर्नुका कारणको बारेमा र लक्ष्य भन्दा प्रगति कम भएका शाखा तथा कर्मचारीहरुलाई प्रगति नहुनुका कारण पत्ता लगाई आगामी दिनहरुमा थप रणनीतिका साथ लक्ष्य पुरा गर्नेतर्फ ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेशनल लाईफ इन्स्योरेन्सद्धारा वृक्षारोपण कार्य सम्पन्न

काठमाडौं, ३० साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्ट अफ लिभिङ संस्थाको सहकार्यमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । कम्पनीले पर्यावरणीय प्रवर्धन कार्यमा सहयोग पु¥याउने प्रयोजनको लागि काठमाडौं, तिलगंगा वागमती नदीको छेउमा सो कार्य सम्पन्न भएको हो । सो कार्यक्रममा कम्पनीका कर्मचारीहरुको सहभागितामा विभिन्न थरीका रुद्राक्ष लगायतका १०८ वटा विरुवाहरु रोपिएका छन् । सो विरुवाहरुको संरक्षणको लागि विशेष ब्यवस्था गरिएको छ । कम्पनीले विगत समय देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।

लक्ष्मी क्यापिटल र सिद्धार्थ इन्स्योरेन्सबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता

काठमाडौं, २८ साउन । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको छ । लक्ष्मी क्यापिटलले सिद्धार्थ इन्स्योरेन्सको शेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैयाँको ४ बराबर १ को अनुपातमा ८ लाख ६२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको तर्फबाट महाप्रबन्धक बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।