आरम्भ माइक्रोफाइनान्सको ७० प्रतिशत हकप्रद पारित, सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको थियो । ७० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुगेको छ । साथै, सभाले सर्वसाधारण सेयरधनी (समुह ‘ख’) को तर्फबाट २ जनालाई सर्वसम्मत रुपमा सञ्चालक पदमा नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न भएकोे उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ । संस्थाले गत २०७५ मंसीर मसान्तसम्ममा कार्यक्षेत्र रहेको १५ ओटै जिल्लाका विभिन्न स्थानमा २० वटा शाखा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । जसमध्ये ७,८३० सदस्यले कर्जा लिई विभिन्न आयमुलक कार्यमा सहभागी भइ ऋणी सदस्य ५८.१६ प्रतिशत रहेको छ । लगानीमा रहीरहेको कर्जा रकमतर्फ करिब ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने बाँकी बचत तथा कोषतर्फ करिब १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बचत तथा कर्जा अनुपात ३१.९८ प्रतिशत रहेको संस्थाले जनाएको छ ।

एशियन लाईफले ल्यायो नयाँ बीमा योजना, एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैको सुरक्षा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न उक्त योजना प्रचलनमा ल्याएको हो । यस योजना अन्तर्गत एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबै जनाको बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने कम्पनीले जनाएको छ । त्यस्तै, ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने र ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट पाइने छ । यस योजनाको विभिन्न विशेषताहरु जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुट तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमा शुल्क भुक्तानीको सुविधा रहेको छ । यस बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाइने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाइने छ । त्यस्तै, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

अपि पावरको ५ प्रतिशत बोनस पारित, चुक्ता पुँजीले १ अर्ब १९ करोड नाघ्याे

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १५औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सोही अनुसार कम्पनीले आ.व २०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगडगाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको छ । साथै, कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले विकास गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जेनेरल इलेक्ट्रिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले १ः२ बराबरको हकप्रद सेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावरले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग १ः२ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।