मर्चेन्ट बचत तथा ऋण सहकारी गत वर्ष १७ करोड ५७ लाखको कारोबार
काठमाडौं । मर्चेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७४/७५ मा १७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । सोमबार सम्पन्न संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष बिजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । सो अवसरमा विभिन्न सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरु तथा कान्तिपुरकर्मी लिला श्रेष्ठ लगायत पलिस्व पूखू संरक्षण समितिका संयोजक गणेशमान चक्रधरलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष श्रीमान श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शपथ लिएका हुन् । साथै, संचालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र राजेश मानन्धरले अध्यक्ष श्रीमान श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । संस्थाको १७औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएका थिए ।
नेपाल बङ्गलादेश बैंकबाटै सुर्य लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सजिलै जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।