बैंकका सीईओको तलबमा राष्ट्र बैंकको कडाइ, ५ प्रतिशतबाट २ प्रतिशतमा झर्यो सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा सुविधामा कडाइ गर्दै नयाँ मार्गदर्शन जारी गरेको छ । नयाँ मार्गदर्शनअनुसार अब वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरेको हो । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत र कुल सम्पत्तिको ०.०२५ प्रतिशतसम्म तलब तथा भत्ता पाउन सक्ने व्यवस्था थियो । विकास बैंकका हकमा भने सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन वर्षको औसत कर्मचारी खर्चको अधिकतम ३ प्रतिशत तथा अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०२० प्रतिशतसम्म निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, फाइनान्स कम्पनीका सीईओको तलब तथा सुविधा कुल सम्पत्तिको ०.१० प्रतिशत र लघुवित्त वित्तीय संस्थाका सीईओको ०.०५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सीईओ नियुक्त गर्दाकै बेला वार्षिक तलब, भत्ता तथा अन्य सुविधाबारे सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सम्झौतामा उल्लेख गरिएका सुविधाबाहेक कार्यकाल भर अन्य कुनै अतिरिक्त रकम वा सुविधा उपलब्ध गराउन नपाइने पनि मार्गदर्शनमा उल्लेख छ । नयाँ व्यवस्था समस्याग्रस्त घोषणा भएका संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय वा नेपाल सरकारको सहयोगमा पुनर्संरचना भइरहेका संस्था, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था, चुक्ता पुँजीको २० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका संस्था तथा विदेशी बैंकका नेपालस्थित शाखामा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ । मार्गदर्शनअनुसार सीईओको तलब निर्धारण गर्दा कार्यसम्पादनलाई मुख्य आधार बनाउनुपर्नेछ । यसका लागि सम्पत्तिमा प्रतिफल, पुँजीमा प्रतिफल, नाफा, पुँजीकोष अनुपात, निष्क्रिय कर्जा, जोखिम व्यवस्थापन, नियामकीय व्यवस्था पालना, ग्राहक सन्तुष्टि, सेवा गुणस्तरलगायत सूचकको मूल्यांकन गर्नुपर्नेछ । तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सञ्चालक समितिअन्तर्गतको सिफारिस समितिले सीईओको योग्यता, अनुभव, व्यवसायको आकार, सञ्चालन मुनाफा, संस्थाको जोखिम तथा समान प्रकृतिका संस्थामा उपलब्ध पारिश्रमिकको अध्ययन गरी सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त सिफारिसका आधारमा सञ्चालक समितिले अन्तिम निर्णय गर्नेछ । मार्गदर्शनमा सीईओलाई सिफारिस समितिले निर्धारण गरेबमोजिम एक/एक वटा मोबाइल र ल्यापटप तथा एउटा सवारीसाधन उपलब्ध गराउन सकिने उल्लेख छ। पुनर्नियुक्ति भए पनि थप सवारीसाधन उपलब्ध गराउन भने नपाइने व्यवस्था गरिएको छ । साथै, संस्थाको सहायक स्तरदेखि सीईओसम्मको पारिश्रमिक अन्तर (एबथ न्बउ) को समीक्षा गरेर मात्रै अन्तिम तलब निर्धारण गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
पुँजी बजारका विज्ञको काँधमा सेबोनको जिम्मेवारी, को हुन् गोपाल भट्ट ?
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, काठमाडौं सदस्य थिए । को हुन् गोपाल भट्ट ? अध्यक्ष भट्टको घर कैलाली हो । उनी सेयर बजार विश्लेषकका रूपमा पनि परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । उनी यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । पुँजी बजारमा विद्यावारिधि गरेका भट्टले पिएचडी गरेका डा.भट्ट राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए । उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् । अब धितोपत्र बजारको नियामकको ररूपमा रहेको सेबोनको जिम्मेवारी पनि उनकै काँधमा आएको छ । उनले अहिले विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन समेत गर्दै आइरहेका छन्।
पाँच वर्षयताकै उच्च नतिजा, उत्कृष्ट व्यवस्थापन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गरेको छ । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार ५ गते शुक्रबार सार्वजनिक गरिएको हो । कक्षा १२ को नतिजा यति छोटो अवधिमा सार्वजनिक भएको सम्भवतः पहिलो पटक हो । यस वर्षको नतिजाअनुसार कुल ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । जसमा नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिक तर्फ ४२.३८ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै स्नातक तह अध्ययनका लागि योग्यता हासिल गरेका छन् । गत वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थीमात्र ग्रेडेड भएका थिए । त्यसको तुलनामा यस वर्ष नियमिततर्फको उत्तीर्ण दर ८.५८ प्रतिशत बिन्दुले वृद्धि भएको छ । यसले कक्षा १२ को नतिजामा उल्लेखनीय सुधार देखिएको संकेत गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजामा आएको सुधारलाई विद्यार्थी र शिक्षक दुवैको मेहनतको प्रतिफलका रूपमा व्याख्या गरेको छ । बोर्डका अनुसार शिक्षकले प्रभावकारी रूपमा अध्यापन गरेका र विद्यार्थीले पनि अध्ययनमा बढी मेहनत गरेकाले नतिजामा सकारात्मक सुधार देखिएको हो । समयमै नतिजा प्रकाशन र उत्तीर्ण दरमा भएको उल्लेख्य वृद्धिले विद्यालय शिक्षा प्रणालीप्रति आशा जगाएको बोर्डको विश्वास छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल बोर्डको आन्तरिक तयारीले छोटो समयमा नतिजा निकाल्न सफल भएको बताउँछन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विगतभन्दा नतिजा छोटो समयमा सार्वजनिक गर्न सक्नुलाई शैक्षिक सुधारको फड्कोको रुपमा हेर्छन् । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले नतिजा छिटो सार्वजनिक गरिनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता रहेको बताए । उनले शैक्षिक क्यालेण्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कति थिए परीक्षामा सहभागी ? यो वर्ष ४ लाख १८ हजार १ सय ७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ र आंशिक तर्फ ८५ हजार ९ सय २९ विद्यार्थी थिए । परीक्षामा ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको थियो । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ २ लाख ३१ हजार ७ सय ७० अर्थात् ६९.७५ प्रतिशत ग्रेडेड भएका छन् भने आंशिकतर्फ ३६ हजार ४ सय २० अर्थात् ४२.३८ गरी जम्मा २ लाख ६८ हजार १ सय ९० अर्थात् ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । नतिजाअनुसार सबै भन्दा धेरै २.६१ देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार दुई सय ४९ छ । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार सात सय ८६, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार आठ सय २१ रहेको छ भने २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार पाँच सय ९७, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार तीन सय आठ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या नौ जना रहेको बोर्डले जनाएको छ । पछिल्लो पाँच वर्षको पासदर पछिल्लो पाँच वर्षको कक्षा १२ को नतिजा हेर्ने हो भने क्रमिक रूपमा सुधार हुँदै गएको छ । २०७९ सालदेखि २०८३ सालसम्मको नतिजा हेर्ने हो भने बर्सेनि विद्यार्थी पास हुने दर बढेको छ । २०७९ सालमा ४८.१ प्रतिशत विद्यार्थी पास भएकोमा २०८३ सम्म आइपुग्दा पासदर प्रतिशत ६४.१३ प्रतिशत पुगेको छ । २०८३ सालको कक्षा १२ को नतिजा अघिल्लो वर्ष २०८२ सालको भन्दा ८.५८ ले बढी हो । अघिल्लो वर्ष कक्षा १२ परीक्षामा नियमित तर्फ ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए । २०८२ सालको यो नतिजा अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी थियो । जबकी २०८१ सालमा ५२.१५ प्रतिशत विद्यार्थी मात्र उच्च शिक्षाका लागि योग्य बनेका थिए । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अघिल्लो वर्ष ३ लाख ९६ हजार ३ सय ४७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ लाख ४२ हजार ४ सय ६५ जना ग्रेडेड अर्थात् पास भएका थिए । बाँकी १ लाख ५३ हजार ८ सय ८२ विद्यार्थी नन-ग्रेडेड भएका थिए । आंशिकतर्फका १ लाख १४ हजार ६ सय ४० विद्यार्थीमध्ये ४१ हजार ८ सय ४० जना अर्थात् ३६.४९ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ तीन लाख ८५ हजार ६ सय ३२ सहभागी भएकोमा दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका हुन् । त्यस्तै ग्रेड वृद्धितर्फ ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४ सय ३६ जना उत्तीर्ण भएका थिए । २० जनाको परीक्षा रद्द भएको थियो । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका थिए । यस्तै, २०८० सालको नतिजामा ५१.९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । भने १ लाख ८२ हजार ९२६ विद्यार्थी नन–ग्रेडेड भएका थिए । २०७९ सालको कक्षा १२ को नतिजामा १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड अनुत्तीर्ण भएका थिए । कुल परीक्षार्थी ३ लाख ६३ हजार ८ जना मध्ये ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका हुन् । परीक्षामा नियमित तर्फ ३ लाख ६३ हजार १ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । पाँच वर्षमा जीपीएमा फरक २०८३ सालको कक्षा १२ को नतिजामा सबैभन्दा धेरै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार सात सय ८६ रहेकोमा अघिल्लो वर्ष २०८२ सालमा १३ हजार ५०२ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए । यस्तै, २०८१ सालमा ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१, २०८० मा ६ हजार ९ सय ७६ र २०७९ मा ४ हजार १ सय ७९ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका थिए । विद्यार्थीले जीपीए ल्याउने दर पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । परीक्षा बोर्डका अनुसार शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने १७ हजार ७८६ जना विद्यार्थी रहेका छन् । त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना, २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५ सय ९७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३ सय ८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ । अघिल्लो वर्ष ३.६१ देखि ४.०० सम्मको जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२ जना थिए भने ५५ हजार ८९६ विद्यार्थीले ३.२१ देखि ३.६० सम्मको जीपीए हासिल गरेका थिए । यस्तै, ६९ हजार ८ सय १२ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन् । ८ हजार ९६४ विद्यार्थीले २.०१ देखि २.४० सम्मको जीपीए हासिल गरेका छन् भने २३ जना विद्यार्थीले १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गरेका छन् । २०८१ सालमा ९ हजार ५९१ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन्। त्यसैगरी ४६ हजार ८९३ विद्यार्थीले ३.२१ देखि ३.६०, ७८ हजार ७५० विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए हासिल गरेका छन्। यस्तै, ६१ हजार ३६ विद्यार्थीले २.४१ देखि २.८०, ८ हजार २४० विद्यार्थीले २.०१ देखि २.४० तथा १२ जना विद्यार्थीले १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गरेका छन्। कक्षा १२ को नतिजा पछिल्ला तीन वर्षको तुलनामा यस वर्ष सुधारिएको बोर्डले जनाएको छ । २०८० सालमा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । ३८ हजार ९ सय ९९ विद्यार्थीले ३.२१ देखि ३.६०, र ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए हासिल गरेका छन् । यस्तै, ६३ हजार ७७ विद्यार्थीले २.४१ देखि २.८० सम्मको जीपीए प्राप्त गरेका छन् भने ११ हजार ४३८ विद्यार्थीले २.०१ देखि २.४० सम्मको जीपीए हासिल गरेका छन् । त्यसैगरी, १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४७ रहेको छ । २०७९ सालको कक्षा १२ परीक्षामा ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ४ हजार १ सय ७९ जना, ३.२१ देखि ३.६० जीपीए ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ६ ५ हजार २ सय ८४ जना २.४१ देखि २.८० जीपीए ६४ हजार ९३ जना, २.०१ देखि २.४० जीपीए १० हजार ९ सय जना र १.६१ देखि २.०० जीपीए ३५ जनाले ल्याएका थिए ।