लगानीकर्ताले नै कम्पनी व्यवस्थापन गर्नु क्यापिटल डेमोक्रेसी हो-सञ्जिव न्यौपाने
स्टेट युनिभर्सीटी अफ न्युयोर्कबाट फाईनान्समा स्नातकोत्तर तहसम्म अध्ययन गरेका सञ्जिव न्यौपाने यतिबेला अपि पावर कम्पनीको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहनु भएको छ । अमेरिकी इन्स्योरेन्स कम्पनीले गरेको जागिरको अफरलाई छाडेर नेपालमै केहि गर्नु पर्छ भन्दै फर्किनु भएका न्यौपानेले जनता बैंक स्थापनामा सहभागी हुनु भयाे । पछि चार बर्षसम्म मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्नु भएका न्यौपानले विगत ५ बर्षदेखि अपि पावर कम्पनीको जिम्मेवारी सम्हालिरहनु भएको छ । अपि पावर, रिडी हाइड्रो, अरुण भ्याली, अरुण कावेली, कञ्चनजंघा हाउजिङ, सिद्धकाली पावर लिमिटेड लगायतका कम्पनीमा गुरु प्रसाद न्यौपाने परिवारको बहुमत सेयर रहेको र व्यवस्थापनमा पनि आफैं सहभागी रहेपछि संस्थागत सुशासनका सवालमा भने प्रश्न उठ्ने गरेको छ । प्रस्तुत छ सञ्जिव न्यौपानेसँग गरिएको विकास बहस । तपाई सहभागी अपि पावर लगायतका कम्पनीहरुको अवस्था कस्तो छ ? अपि पावर कम्पनी नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख किर्तिचन ठाकुरले तयार पार्नु भएको थियो । उहाँले वित्तिय व्यवस्थापन गर्न नसकेपछि हामीले लिएका हौं । साइटको अवस्था हेरेर कम्पनी टेक ओभर गरेका थियौं । र निर्माण गरेर सञ्चालन पनि गरिरहेका छौं । अहिले संखुवासभामा ३ मेगावाटको अरुण भ्याली प्रोजेक्ट छ । १२ बर्षदेखि नियमित रुपमा लाभांश वितरण गरिरहेको छ । नौगाढ प्रोजेक्ट अपिले नै बनाएको हो र त्यो १७ महिनामै सम्पन्न गरेका थियौं । अरुण भ्याली, रिडी हाइड्रो, अपि पावर कम्पनी नेप्सेमा सूचिकृत छन र चौथोमा अरुण कावेली पनि सूचिकृत हुँदैछ । अहिले सिद्धकाली पावर लिमिटेडका नाममा ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना बैशाखबाटै आरम्भ गर्दैछ । हिजो अस्ति मात्रै ८ मेगावाटको अपर नौगाढ पनि निर्माणको चरणमा पुर्याएका छौं । इवा खोलामा १० मेगावाटको आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । पाँचथरमा २५ मेगावाटको कावेली पी १ अन्तिम चरणमा छ । अहिले अरुण भ्याली ३ मेगावाट, नौगाढ साढे ८ मेगावाट, रैराङ ५०० किलोवाट, रिडी २ दशलम ४ मेगावाटका आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । र, हाल १९ मेगावाटको सोलारको काम पनि अघि बढाउने अन्तिम तयारी भैरहेको छ । सिद्धकाली पावरको काम कति अघि बढ्यो ? सिद्धकाली पावर लिमिटेडका लागि संस्थापक सेयर खुल्ला गरेका छौं । एक लाख भन्दा बढि लगानी गर्न सकिन्छ । २५ सय जनाले लगानी गरिसकेका छन् । आयोजना निर्माण सुरु हुने वित्तियकै आयोजना प्रभावितका लागि शेयर जारी हुन्छ । रातोमाटे र मासटारलाई बिशेष प्राथमिकताका आधारमा २० प्रतिशत शेयर एक सय रुपैंयाँमा खरिद गर्न सक्छन् । त्यसपछि आइपिओ पनि खोल्छौं । काठमाडौंबाट ५५ किलोमिटरको दुरीमा यो आयोजना पर्छ र त्यहाँ उत्पादित विद्युत सिधै काठमाडौं ल्याउन सकिन्छ । यसको ड्याम नुवाकोटको रातोमाटेमा पर्छ र धादिङको मासटार गाबिसमा पावर हाउस रहन्छ । यसमा ८ मिटर ब्यासको ८ किलोमिटरको सुरुङ रहन्छ । आठ मिटर ब्यास भनेको दुइ तले घर बराबरको हुन्छ । मासटारको पावर हाउसमा साढे ३७, साढे ३७ मेगावाटका २ वटा युनिटबाट विद्युत उत्पादन गरिन्छ र रातोमाटेबाट सुरुङमा हालिएको त्रिशुलीको पानी मासटारमा पुगेपछि फेरी त्रिशुलीमै छोडिन्छ । लक्ष्मी बैंकको अगुवाईमा १० वटा बैंकले कन्र्साेर्टियममा ९ अर्ब लगानी गर्दैछन् । एक हप्ता भित्रै फाइनान्सीयल क्लोजर हुन्छ । सञ्चालनमा रहेका कम्पनीहरुको नाफाको अवस्था कस्तो छ ? हामीले सञ्चालन गरेका सबै कम्पनीहरुले बर्षेनी न्युनतम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिईरहेका छन् । बैंक ऋण र सञ्चालन खर्चले लाभांश निर्धारण गर्छ तर हामीले सधैँ लाभांश वितरण गरिरहेका छौं । अरुण कावेली र अरुण भ्यालीको मर्ज प्रक्रिया कहाँ पुग्यो ? नेपालमा उर्जा कम्पनीको मर्जर अहिलेसम्म भएको छैन् । हामीले पहिलो पटक मर्ज गर्न चाहेका छौं । अरुण भ्याली अहिले नेप्सेमा सूचिकृत भएर कारोबार भैरहेको छ । अरुण कावेली भने सूचिकृत भएको छैन् । सूचिकृत कम्पनी र सूचिकृत नभएको कम्पनीको मर्जर गर्न नमिल्ने रहेछ । त्यसकारण अरुण कावेलीलाई पनि सूचिकृत गराउने अभियान अघि बढाएका छौं । एक हप्ताभित्रै सूचिकृत हुन्छ । दुबै कम्पनीको साधारण सभाले मर्जरको निर्णय गरिसकेका छन् । दुबै कम्पनी सूचिकृत भैसके पछि स्वतन्त्र लेखा परिक्षकबाट डिडिए गराएर स्वाप रेसियो निकाल्छौं । त्यसका आधारमा मर्जर अघि बढ्छ । स्वाप रेसियो सहितको प्रस्ताव फेरी दुबै कम्पनीको साधारण सभाबाट पास गराएर मर्जरमा जान्छौं । न्यौपाने समूहले सञ्चालन गरेका कम्पनीहरुमा शेयरको संरचना कस्तो छ ? अरुण भ्याली, रिडी वा अपि पावर सबैमा बहुमत शेयर हाम्रो परिवारले होल्ड गरेको छ । यसका पछाडी पनि कारणहरु छन् । हामीले काम गरेको मोडल भनेको नेपालका लागि सर्वाेत्कृष्ठ मोडल हो । सस्तो र सुरक्षित प्रोजेक्ट सञ्चालनका लागि बहुमत शेयर होल्ड गर्नु पर्छ भन्ने हाम्रो निष्कर्ष हो । पब्लिक कम्पनीमा एउटै समूहको बहुमत रहनु कतिको सहि हो ? आधुनिक चीनका निर्माता देङ स्याओ पिङले भनेका थिए की बिरालो कालो होस वा सेतो त्यो मुख्य कुरा होइन । मुख्य कुरा भनेको त्यसले बिरालो मार्नु हो । यहाँ आउनेहरु गुरु सरको अनुहार हेरेर आएका हुन्छन् । उनीहरुको लगानीको सुरक्षाका लागि पनि हाम्रो मोडल आवश्यक छ । उर्जा बाहेक कहाँ कहाँ लगानी गरेको छ न्यौपाने समूहले ? हामीले उर्जा बाहेक जनता बैंक, भैसेपाटीमा जनता आवास योजना, कञ्चनजंघा हाउजिङ मार्फत टे«ड टावर र सोलारको काम पनि गरिरहेका छौं । अब हावाबाट बिजुली निकाल्ने योजना पनि बनाईरहेका छौं । हामी कञ्चनजंघा हाउजिङलाई पनि नेप्सेमा सूचिकृत गर्ने योजनामा छौं । हामीले होल्डिङ कम्पनी भने बनाएका छैनौं । होल्डिङ कम्पनी बनाउने सोँच छैन ? हामीले होल्डिङ ग्रुप बनाउने योजना पक्कै पनि बनाएका छौं । एउटा ग्रुप कम्पनी बनाएर त्यसका सहायक कम्पनीका रुपमा उर्जा, मेकानिकल, हाउजिङ लगायतका काम गर्ने योजना छ । तपाईहरुको दीर्घकालिन योजना के हो ? हाम्रो दीर्घकालिन योजना भनेको उर्जा नै हो । जलविद्युत, सोलार, हावा, बायो लगायतका उर्जामा लगानी गर्ने हाम्रो मुल उदेश्य हो । नेपाललाई उर्जामा आत्मनिर्भर बनाएर निर्यातको अवस्थामा पुर्याउन हाम्रो पनि केहि योगदान होस भन्ने चाहाना हो । त्यसका लागि हामी काम गरिरहेका छौं । तपाईहरुको बार्षिक कारोबार कति छ अनि लगानी र ऋणको मात्रा कति हो ? हाम्रो बार्षिक कारोबार २ अर्बको हुन सक्छ । लगानी पनि दुई अर्बकै हाराहारीमा गरेका छौं । बैंकको ऋण २ अर्ब भन्दा अलि बढि नै होला । जहाँ जोखिम छैन त्यहाँ आम्दानी पनि हुन्न भन्ने मान्यता हो । हाम्रो ठुलो मात्रामा ऋण छ तर कुनै पनि बैंकको ब्याज र सावाँ तिर्न एक दिन पनि म्याद नघाएका छौनौं । एउटै परिवारका मान्छेले बहुमत शेयर होल्ड गरेका कम्पनीहरुमा संस्थागत सुशासन कसरी व्यवस्थापन गर्दै आउनु भएको छ ? संस्थागत सुशासन भनेको हाम्रो मुल मर्म नै हो । त्रैमासिक विवरण, समयमै साधारण सभा गर्ने, हिसाब किताब स्पष्ट पार्ने काम गर्छाै । पब्लिक लिमिटेड कम्पनीका लागि साधारण सभा नै सर्वेसर्वा हुने हो । हामीले सबै निर्णय साधारण सभाबाटै पारित गराउँदै आएका छौं । हामी बहुमतमा रहेपनि कुनै पनि निर्णय पेलेर गर्दैनौं । हामीले सबै सेयर धनीहरुको आवाज सुन्ने गरेका छौं । कम्पनीमा लगानी कर्ता र व्यवस्थापक छुट्याउने अवधारणा छ, तर तपाई कहाँ त त्यस्तो पनि देखिएन नि ? कसैले एउटा संस्था खोल्दा आफ्ना सबै कुरा जोखिममा हालेर लगानी गरेको हुन्छ । यो क्यापिटल डेमोक्रेसीको समय हो । आफ्नो लगानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा लगानी कर्ताले हेर्न पाउनु पर्छ । लगानी गरेर बजारबाट व्यवस्थापक ल्याउने एउटा मोडल हो । आफ्नो लगानीको व्यवस्थापन आफैै गर्छु र नियम कानुन पनि पालना गर्छु भन्ने नयाँ मोडल हो र त्यो हामीले कार्यान्वयन गरिरहेका छौं । सबै कम्पनीमा लगानी कर्ता र व्यवस्थापक आफैं बसेपछि तपाईहरुको कम्पनी डुब्ने त होइन भन्ने आंशका छ बजारमा , कसरी चिर्नु हुन्छ ? हामीले १२ बर्षदेखि उर्जा क्षेत्रमा काम गरिरहेका छौं । कुनै पनि समयमा हाम्रो कम्पनी जोखिममा पुगेको छैन् । प्रत्येक पल सफलताकै बाटोमा अघि बढिरहेको छ । उर्जाका धेरै कम्पनीले लाभांश दिईरहेका छैनन् । अरुण भ्यालीमा एक सय रुपैंयाँ लगानी गर्नेहरुले एक सय ९० रुपैंयाँ रिटर्न पाईसकेका छन् । हामीले जंग बहादुरले जसरी कम्पनी चलाईरहेका छैनौं । अपि पावरको एक बराबर २ कित्ता अनुपातको हकप्रद शेयर किन अड्कियो ? हामीले साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका थियौं । हामी नै हकप्रद सेयरको प्रयास गर्ने पहिले उर्जा कम्पनी थियौं । बैंक र इन्स्योरेन्स जस्तो फ्रन्ट लाइन रेगुलेटर नभएकाले धितोपत्र बोर्डले नयाँ नियम ल्याएको छ । बोर्डले साधारण सेयर निष्काशन गरेको २ बर्ष पुगेपछि मात्रै हकप्रद सेयर निष्काशन गर्न पाइन्छ भनेको छ । हामीले २०७२ भदौंमा साधारण सेयर निकालेका थियौं । अब ७४ भदौंमा अपिको हकप्रद सेयर आउँछ ।
मेलम्चीको पानी बाढ्न ५२० किलोमिटर पाइप बिछ्याइयो, पानी वितरणका लागि ३१ करोड आवश्यक
काठमाडौं । मेलम्चीको पानी काठमाडौैँ बासीका घरमा पुर्याउन ५२० किलोमिटर पाइप विछ्याउने काम सकिएको छ । काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण प्रणाली अन्र्तगत कुल ६७० किलोमिटरमध्ये ५२० किलोमिटर पाइप बिछ्याउने काम सकिएको जनाएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायका अनुसार मेलम्ची आयोजनाले आगामी असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने गरि काम अघि बढाएको छ र सोही अनुसार वितरण सञ्जाल विस्तारको काम पनि अघि बढिरहेको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्दा जनताका घर घरमा पुर्याउने वितरण सञ्जाल पनि तयार भैसकेको हुनेछ’, सचिव उपाध्यायले भने । उनले मेलम्चीको पानी आउनु भन्दा अघि नै सुन्दरीबाट बागमतिको पानी हालेर वितरण प्रणाली परिक्षण सम्पन्न गरिसक्ने पनि जानकारी दिए । उपत्यकाको सवारी आवागमन सहज बनाउनका लागि राती पाइप बिछ्याएर बिहान सडक पुरिसक्ने गरेको पनि जानकारी दिए । उनले मेलम्चीका कारण उपत्यकामा धुलो बढेको भन्ने आरोपको खण्डन पनि पनि गरे । उपत्यकामा धुलो बढ्नुमा मेलम्चीको अधिकतम १५ प्रतिशत मात्रै दोष रहेको पनि दावी गरे । सचिव उपाध्यायले उपत्यकामा जारी सडक विस्तारका कारण खानेपानी वितरण सञ्जालको वर्तमान संरचनामा क्षति पुगेकाले एक हप्ता भित्रै ३१ करोड बजेट नपाए खानेपानी आपुर्ति गर्न नसकिने बताए । उनले २५ प्रतिशत भन्दा बढि खानेपानीको पाइप सडक विस्तार तथा निर्माणका क्रममा बिग्रेको बताउँदै त्यसको मर्मतका लागि तत्कालै ३१ करोड बजेट आवश्यक पर्ने बताएका हुन् । ‘उपत्यका विकास प्राधिकरण र सडक विभागले खानेपानीका पाइप ध्वस्त पारेको छ, बनाउन ३१ करोड आवश्यक पर्छ, एक हप्ताभित्रै नपाए पानी वितरण गर्न सकिन्न’, सचिव उपाध्यायले व्यवस्थापिका संसदको विकास समितिमा भने ।
आमरण अनसन बस्ने सूनचाँदी व्यवसायीको चेतावनी, कालोबजारी अन्त्य गर्न माग
काठमाडौ, २१ माघ । सुन चाँदी व्यवसाय पीडित संघर्ष समितिले सुनमा भएको कालोबजारी अन्त्यका नगरे आमरण अनसन बस्ने चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सुन चाँदीमा देखिएको कालो बजारीलाई जेल चलान गर्नुपर्ने, राज्यद्धारा आवश्यक सुन वितरण गर्नुपर्ने, वैज्ञानिक गहना निर्देशिका लागु गनुुपर्र्ने लगायतका ५ बुँदे माग अघि सार्दै आमरण अनसन बस्ने चेतावनी दिएको हो । संघर्ष समितिका अध्यक्ष हरिशंकर सर्राफले सुनचाँदी व्यवसायीले महिनामा ५० ग्राम सुन लिएर बर्षमा २० लाख कारोबार गरेको भनेर कर तिर्नु परेको गुनासो पोखेका छन् । उनले भने,‘आगामी १० दिनभित्र सुनमा भएको कालो बजारीको अन्त्यको लागि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने मेरोे पेशाको लागि जीवन दिन तयार छु, घरजग्गा बेचेर सुरु गरेको व्यवसाय धरापमा पार्ने काम कालो बजारीले गरेका छन्, यीनलाई कारबाही र व्यवसायीलाई सहज आपुर्तिको वातावरण सिर्जना गर्नुपर्छ, यदि यसो नगरे म आमरण अनसनमा बस्छु ।’ आपुर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बजारमा चलेका सुनचाँदी व्यवसायी महासंघका मानिसले नै कालो बजारी गरेको भन्ने खबर आफुले पहिलो पटक सुनेको बताए । निर्देशक श्रेष्ठले भने,‘पिडीतका मागहरू सम्बोधनका लागि म सरकारसँग छलफल गर्छु, संघर्ष समितिले जुन अल्टिमेटम दिएको छ, माग अघि सारेको छ, यसमा म गम्भिर छु, जहाँसम्म अनसन बस्नु नपर्ला । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संसारमा २४ क्यारेटको गहना नबन्ने दावी गरेका छन् । अध्यक्ष महर्जनले भने,‘संसारमा २४ क्यारेटको गहना कहीँ कतै बन्दैन् तर नेपालमा खुलमखुल्ला रुपमा २४ क्यारेटको बिल बनाएर पठाउने गरिन्छ, यो सोझै बेईमानी हो, पटक–पटक सरकारले व्यवसायीहरूलाई मौका दिँदा पनि व्यवसायीभित्रका विभिन्न संगठनका कारण सरकारको निर्देशन विफल भएको छ, यही कारणले अनसन बस्नुपर्ने भएको छ, व्यवसायीका माग र अनेक प्रकारका अहसजताले सरकारलाई निर्देशिका बनाउने काममा अलमल पारेको छ ।’ त्यस्तै सुन चाँदी व्यवसाय पिडीत संघर्ष समितीका सदस्य सुसन सर्जन रामदामले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले व्यवसायीहरूलाई वितरण गर्दै आएको सुन चाँदि पारदर्शी रुपमा वितरण गर्नुपर्ने माग गरे । उनले भने,‘कालो बजारीको अन्त्य नगरी व्यवसायीको भविष्य जोगाउन महासंघ गैर जिम्मेबार भएर बसेको छ, सुन नपाएर व्यवसायीहरू आमरण अनसनमा बस्नु दुखको कुरा हो ।’