निःशुल्क सेयर आवेदन बुझाउने यूगको अन्त्य, प्रतिआवेदन न्यूनतम १०० र ५० हजार भन्दा बढीको आवेदनमा २५० सेवा शुल्क लाग्ने
काठमाडौं, २३ मंसिर । सर्बसाधारणका लागि निष्काशन गरिएको सेयर लिनको लागि निःशुल्क आवेदन बुझाउने यूगको अन्त्य भएको छ । माग १ गतेदेखि साधारण सेयर लिन आवेदन गर्नेले प्रति आवेदन १०० रुपैयाँ र ५० हजार रुपैयाँ भन्दा बढी रकमको सेयर आवेदन बुझाउँदा प्रति आवेदन २५० रुपैयाँ सेवा शुल्क बुझाउनु पर्नेछ । धितोपत्र बोर्डले पछिल्लो समय जारी गरेको धितोपत्र दर्ता तथा निष्काशन निर्देशिका २०७३ले उक्त व्यवस्था गरेको छ । आस्वा प्रणाली अनुसार सेयर आवेदन गर्नेले तोकिएको शुल्क बुझाउनु पर्नेछ । बैंकहरुले तोकिएभन्दा कम शुल्क लिन पनि सक्नेछन् । यसअघि साधारण सेयर आवदेन बुझाउँदा सेवा शुल्क बुझाउनु पर्ने थिएन । लगानीकर्ता सेयर फारमको लागि प्रति फारम २ रुपैयाँदेखि ५ रुपैयाँसम्म तिर्नुपथ्यो । आवेदन बुझाउँदा सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई सेवा शुल्क बुझाउनु पर्ने थिएन । बिक्री प्रबन्धकले सेयर निष्काशन गर्ने कम्पनीसँग निश्चित सेवा शुल्क लिएर काम गर्दै आएका थिए । झट्ट सुन्दा आवेदन शुल्क महँगो लागे पनि लगानीकर्ताको लागि यो आस्वा प्रणाली अत्यान्तै लाभदाही भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की बताउँछन् । ‘आस्वा प्रणाली अनुसार सेयर आवेदन गर्नेले बढीमा १ घण्टामा सबै प्रक्रिया पुरा गरेर आवेदन बुझाउन सक्छ । दिन भर लाईन बस्नु पनि पर्दैन । सेयरको फारम लिन, फारम बुझाउन लाईन बस्नु पर्दैन । सेयर नपरेपछि पैसा फिर्ता लिन, बैंकमा जम्मा गर्न, सेयर लिन बैंक तथा बिक्री प्रबन्धकको कार्यालयमा जानु पनि पर्दैन’ अध्यक्ष कार्की भन्छन्–सेयर आवेदन बुझाउने देखि पैसा फिर्ता लिने सबै प्रक्रिया पुरा गर्दा लगानीकर्ता धेरै समय र श्रम खर्च गर्नुपथ्यो । त्यो दुःख अब हुँदैन ।’ निःशुल्कको युगले दुनियाँबाट विदा लिईसकेको बताउँदै अध्यक्ष कार्कीले भने–नाफा आर्जन गर्ने उदेश्यले सेयरमा लगानी गर्नेले निःशुल्क सेवाको खोजी गर्न नहुने उनले बताए । आवेदकले बुझाएको सेवा शुल्कको ८२ प्रतिशत बैंकले लिने, १५ प्रतिशत सेयर निष्काशन तथा बिक्री प्रबन्धकले लिने र तीन प्रतिशत धितोपत्र बोर्डले पाउने व्यवस्था गरिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशन परिष्ट पौड्यालले बताए । हाल सेयर निष्काशनदेखि नेप्सेमा सूचिकरण गर्नेसम्मको प्रक्रियाले ६ महिना लिने गरेकोमा अस्वा प्रणाली लागू भएपछि २ महिनामा सबै काम गर्न सकिने उनले जनकारी दिए । आस्वा प्रणाली कार्यान्वयनको विषयमा सरोकार निकायहरुसँग बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले भने–आस्वा प्रणालीमा भाग लिन धितोपत्र बोर्डले आह्वान गरेकोमा ६ वटा वाणिज्य बैंक र ६ वटा राष्ट्रिय स्तरको विकास बैंकले आवेदन गरिसकेको छन् । माघ १ गतेदेखि आस्वा प्रणाली पूर्ण रुपमा लागू हुन्छ । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आस्वा प्रणाली लागु भएपछि एक भन्दा बढी कम्पनीको साधारण सेयर एकै पटक निष्काशन भएको अवस्थामा लगानीकर्तालाई समस्या पर्न सक्ने बताए । एउटा कम्पनीको सेयर आवेदन गर्दा उसका एकाउण्ट लक गरिएको हुन्छ । यो अवस्थामा दोस्रो कम्पनीको सेयर आवेदन गर्नु पर्दा लगानीकर्ता र एकाउण्ट म्यानेज गर्ने बैंक दुबैलाई समस्या आउन सक्ने उनको टिप्पणी छ । नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रविणरमण पराजुलीले लगानीकर्तासँग लिएको सेवा शुल्कको १५ प्रतिशत मात्र निष्काशन तथा बिक्री प्रबन्धकलाई छुट्याउनु कम भएको बताउँदै त्यसलाई वृद्धि गर्न आग्रह गरे । साधारण सेयर निष्काशन गर्दा ३४० गुणा बढीसम्म आवदेन परेको उदाहरण पेश गर्दै उनले आवेदन गर्ने समय पनि छोट्याउनु पर्ने बताए । ‘साधारण सेयरको लागि आवदेन समय ५ दिनलाई छोट्याएर ३ दिन बनाउँदा समग्र प्रक्रिया छोटो हुन्छ’ उनले भने । अनलाईनबाट सेयर आवदेन खुला गरिसकेपछि डिजिटल सिग्नेचर प्रयोगलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए । तर बोर्डका अध्यक्ष कार्कीले समग्रमा पूर्वाधारको कमी रहेकोले अहिले डिजिटल सिग्नेचरको प्रयोग नगरिएको बताए । ‘प्रविधिको प्रयोगमा लगानीकर्ता अझै पछाडि छन्, धितोपत्र बोर्ड, सेयर निष्काशन गर्ने कम्पनीहरुको पूर्वाधार पनि प्रयाप्त छैन । त्यसैले अहिले नै डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने अवस्था छैन’ उनले भने । के हाे अास्वा प्रणाली ? लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका
नेपाल इन्भेष्टमेन्ट बैंकले पायो बैंक अफ द एयर अवार्ड २०१६, अहिलेसम्म पाँच पटक जित्यो
काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक यो अवार्ड प्राप्त गरेको छ । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ ।
‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’
काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’ प्रबलजंग पाण्डे हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ । आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’ ‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’ व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने । उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए । उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’ ‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे । उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।