५२ वर्षपछि स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्र, मन्त्री र सचिवसहितका कर्मचारीको कार्यकक्ष कटेजमा
काठमाडौं । सिंहदबार बाहिर रहेर सेवा दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ५२ वर्षपछि फेरि सिंहदरबारभित्र फर्किन लागेको छ । सिंहदरबारभित्र रहेको नेपाली सेना नर्सिङ दल गणको पुरानो खाली जग्गामा अस्थायी संरचना तयार पारी मन्त्रालय सिंहदरबार भित्र फर्कन लागेको हो । विश्व स्वास्थ्य संठन (डब्लूएचओ) र नेपाल सरकारको सहयोगमा ६ वटा प्रिफ्याब भवन तयार भइसकेकाले स्वास्थ्य मन्त्रालय सिंहदरबार फर्किन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डब्लूएचओले भवन निर्माणको काम सकेर आजै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाले भोली बुधबारदेखि मन्त्री र सचिवले सिंहदरबारबाटै सेवा दिने योजना रहेको बताए । बुढाथोकी भन्छन्, ‘निर्माणको सबै काम आज साँझसम्म सकिँदैछ, भोलि (बुधबार)देखि मन्त्रीज्यू र सचिवज्यूले सिंहदरबारबाटै सेवा दिनुहुनेछ ।’ भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा मन्त्रालय पूर्णरुपमा नष्ट भएदेखि स्वास्थ्य मन्त्रालय भवनविहिन बनेको थियो । मन्त्रालय बस्न मिल्ने अवस्था नहुँदा मन्त्रालय नजिकै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भवनमा शरणमा बसिरहेको छ । अस्थायी संरचना भए पनि अब सिंहदरबार भित्रबाटै सेवा दिने योजना रहेको बताउँदै प्रवक्ता बुढाथोकी भन्छन्, ‘हाम्रा सेवाग्राही, हाम्रा दैनिक क्रियाकलाप गर्न सबै मन्त्रालय भएको सिंहदरबारभित्र हुँदा सहज हुने, त्यहाँका बैठकमा भाग लिन पनि सहज हुने र हाम्रा स्वास्थ्य सम्बन्धी मुद्दामा पैरवी गर्न पनि सहज हुने भएकाले सिंहदरबारमै फर्किनुपर्छ भन्ने लागेको हो ।’ स्वास्थ्य मन्त्रालयको आग्रहपछि प्रधानमन्त्री कार्यालयले हाललाई नर्सिङ दल गणले छोडेर गएको खाली जग्गामा अस्थायी संरचना बनाउने र त्यसपछि विस्तारै स्थायी संरचनाहरूमा पैरवी गर्दै सर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अस्थायी संरचना निर्माण गरिएका हुन् । बुधबार पहिलो चरमा मन्त्री र सचिवको कार्यकक्ष सारिसकेपछि अन्य महाशाखा सार्ने तयारी मन्त्रालयको छ । सबै महाशाखालाई ठाउँ पुगेन भने सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने महाशाखालाई भने तत्कालकै (एनएचआरसी भवन) हाल रहेको भवनमै राखिने योजना मन्त्रालयको छ । प्रिफ्याव भवन २०/२५ वर्षसम्म टिक्ने भएकाले तत्काल त्यही संरचनामा रहेर भित्र उपयुक्त भवन खोजी गरिने उनको भनाइ छ । जलेको संरचना के हुन्छ ? रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको जलेको संरचना के गर्ने भन्ने विषयमा हालसम्म छलफल हुन सकेको छैन । जलेको भवन के गर्ने भन्नेमा शहरी मन्त्रालयले निर्णय गर्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । हामीले संरचना जलेको शहरी मन्त्रालयलाई जानकारी गराइसकेका छौं, अब भवन के गर्ने भन्ने काम उसैले गर्छ उनी भन्छन्, ‘यसलाई भत्काएर नयाँ भवन बन्छ कि अथवा यसैलाई पुर्ननिर्माण गरिन्छ भन्ने विषयमा शहरी मन्त्रालयले नै निर्णय लिन्छ ।’ नेपाल इन्जिनियरिङ एसोसिएशन, शहरी विभाग, भवन विभागले आर्किटेक देखाउने डिजायनको भवन भएकाले यसलाई भत्काउन नहुने भनेका छन् । कतिपयले यही भवन हेर्न, अध्ययन गर्न विदेशी इन्जिनियर आउने भएकाले भत्काउन हुँदैन भनिरहेका छन् भने कसैले संग्राहलय बनाएर राख्नुपर्ने सल्लाह दिइरहेका छन् । तर, के गर्ने भन्ने निर्णय भने हुन सकेको छैन । सेवाग्राहीलाई समस्या हुन्छ ? स्वास्थ्य मन्त्रालय नागरिकसँग धेरै जोडिने मन्त्रालय हो । अहिले मन्त्रालयमा आउजाउ गर्न सर्वसाधरणलाई निकै सहज छ । रामशाहपथमा हुँदा नागरिकलाई सहजै भित्र छिर्न जति सजिलो छ अब भने त्यो हुने छैन । सिंहदरबार भित्र सर्वसाधरणलाई जान सहज छैन । सिंहदरबारका कर्मचारी भन्दा बाहेक अरुलाई सिंहदरबारभित्र जान सहज छैन । पत्रकारलाई विभागको कार्ड देखाउँदा केही सहज भएपनि अरु नागरिकले भने अनिवार्य जुन मन्त्रालयमा काम छ त्यो मन्त्रालयको स्वीकृत देखाउनुपर्छ । यसो हुँदा सिंहदरबाभित्र छिर्न सर्वसारणलाई समस्या हुन्छ । सर्वसाधरणलाई सास्ती हुने विषयमा प्रवक्ता बुढाथोकी भने कुनै असर नपर्ने बताउँछन् । नागरिकता देखाउँदा सजिलै सिंहदरबार जान मिल्ने बताउँदै उनी आवश्यक कामका लागि मन्त्रालयमा पुग्ने सेवाग्राहीलाई कुनै असहज नहुने बताउँछन् । ‘सेवाकै लागि आउनेलाई भने कुनै गाह्रो हुँदैन,’उनी भन्छन्, ‘अहिले जस्तो चियाखान मन लाग्दा, शौच गर्न मनलाग्दा पनि स्वास्थ्य मन्त्रालय छिर्नेहरूलाई भने पक्कै असर पर्नेछ ।’ सिंहदरबार बाहिर हुँदा बढी क्षति सिंहदरबार बाहिर रहेर काम गर्दाको महसुस स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई बेलाबेला भइरहन्थ्यो । तर, जेनजी आन्दोलनमा सिंहदरबार बाहिर र भित्र रहेको सबै सरकारी कार्यालयमा आगजनी भयो त्यसपछि थप महसुस भयो । आन्दोलनमा आगजनी हुँदा जसरी मन्त्रालय जलेर नष्ट भयो, सिंहदरबार भित्र भएको भए यति नष्ट नहुने अड्कल कर्मचारीको छ । सिंहदरबारभित्रका जलेका भवन बस्न मिल्ने अवस्थामा रहे पनि स्वास्थ्य मन्त्रालयले भने पुरै खरानी बन्यो । डा. बुढाथोकी यो घटनाले पनि स्वास्थ्य मन्त्रालय सिंहदरबार बाहिर हुँदाको क्षति हो भन्न मिल्ने बताउँछन् । उनी बाहिर भएकै कारण दुई दिनसम्म जलिरहँदा पनि आगो निभाउने प्रयास कुनै ठाउँ र व्यक्तिबाट भएन । उनी सुरक्षाको लागि पनि मन्त्रालय सिंहदरबार फर्किनुपर्ने अव्सथा सिर्जना भएको बताउँछन् । मन्त्रालयका बैठक हुँदा हामी सधै भित्र जानुपर्ने तर हामीले बैठकमा बोलाउँदा भित्रका कर्मचारीलाई गाह्रो भएको जस्तो महसुस हामीलाई भयो,’ उनी भन्छन्, ‘हाम्रा बैठकमा अन्य मन्त्रालयका नीतिगत तहका मान्छे आउन गाह्रो भएको र त्यो पर्खालभित्र जाँ केही सुरक्षित हुने भएकाले हामी फर्किनपर्छ भन्ने लागेको हो ।’ २०३० सालमा बाहिर सरेको थियो वि.सं २०३० सालमा सिंहदरबारमा आगलागी भएको घटनापछि स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट बाहिर सरेको थियो । कहिले टेकु, कहिले रामशाहपथमा सर्दै आएको स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र जानैपर्छ भन्ने महसुस जेनजी आन्दोलन पछि बढी भएको हो । ‘सबै मन्त्रालयभित्र हुँदा हामी पनि हुनुपर्छ भन्ने सोच त पहिले पनि नभएको होइन तर जेनजी आन्दोलन पछि हामी जसरी पनि जानुपर्छ भन्ने महसुस भयो,’ बुढाथोकीले भने । अहिलेको जग्गा स्वास्थ मन्त्रालयको नाममा आइसकेकाले अर्को संरचना नपाएपनि त्यही जग्गामा स्थायी संरचना बनाउने योजना मन्त्रालयको छ ।
फेरि बन्द भयो चन्द्रागिरि केबलकार, अस्ट्रियाबाट पाटपुर्जा आयात गरिँदै
काठमाडौं । जेनजी आन्दोलनले बन्द भएर सञ्चालनमा आएको चन्द्रागिरि केबलबार पुनः बन्द भएको छ । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । अहिले फेरि बन्द भएको छ । पुर्ननिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ । कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए । शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै विकासन्युजसँग भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’ उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ । ‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने । गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ । जेनजी आन्दोलनको झट्का गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केबलकारको बटम स्टेसनमा तोडफोड र आगजनी हुँदा रिसोर्टसहितका सेवाहरू करिब २ महिनासम्म ठप्प भएका थिए । यो घटनाले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी समेत भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कुल आम्दानी पनि १९ करोड ५८ लाख रुपैयाँबाट घटेर १३ करोड ८७ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।
रास्वपामा राजनीतिक भूकम्प, अब्बल ठानिएका नेताले नै किन छोड्दैछन् साथ ?
काठमाडौं । २०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्ति, नयाँ सम्भावना र पूराना राजनीतिक दलको विकल्पका रूपमा उदाएको थियो । पत्रकारितामा देखाएको खरो प्रस्तुति तथा लोकप्रिय छविको आधारमा रवि लामिछानेले नेतृत्व गरेको उक्त पार्टी पहिलो सहभागितामै प्रतिनिधि सभा चुनावमा चौंथो ठूलो शक्ति बन्न पुग्यो । नेपालजस्तो अस्थिर र संघीय संरचनामा राजनीतिक विकल्पको अभाव रहेको अवस्थामा रास्वपाले देखाएको आकस्मिक उभारले ठूला दलहरूमा समेत ठूलो हलचल ल्यायो । तर, पछिल्लो घटनाक्रमले रास्वपाको त्यो चमकदार उदय आज गम्भीर संकट र विश्वासघातको दलदलमा डुबिरहेको चित्र बनिसकेको छ । विशेषगरी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल परेपछि पनि पार्टीमा सुरु भएको रविकै नेतृत्वको केन्द्रीकरणले निम्त्याएको आन्तरिक असन्तुष्टि र गुटगत द्वन्द्वले अहिले आएर बहिर्गमनको पहिरोको रूप लिएको राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् । पार्टीभित्रका शीर्ष तहदेखि सामान्य तहका कार्यकर्तासम्म पार्टी छोड्ने लहर एकपछि अर्को थपिँदै जाँदा रास्वपाको अस्तित्वमै प्रश्न उठ्न थालेको छ । सबै छोड्न तयार छु । तर, पार्टी छोड्दिनँ भन्ने संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गरेपछि पार्टीमा जान थालेको पहिरोको आकार बढिरहेको देखिन्छ । पार्टीभित्रको निर्णय प्रक्रिया, कार्यशैली, पारदर्शिता र सभापति लामिछानेको व्यवहारका विषयमा निरन्तर प्रश्न गर्दै आएका ढकालले बारम्बार आफूले पार्टी नछोड्ने स्पष्ट पार्द आएका थिए । तर, नेतृत्वसँगको बढ्दो टकराव, आरोप–प्रत्यारोप र गुटगत किचलो चर्किँदै जाँदा अन्ततः उनी पार्टीबाट बहिर्गमन हुन बाध्य भए । पार्टीबाट निकालिएसँगै ढकालले नेतृत्वमाथि कडा आरोप लगाउँदै सार्वजनिक रूपमा प्रश्न उठाए । मुकुलको निस्कासनलाई धेरैले रास्वपाको ठूलो संरचनागत दरारका रूपमा व्याख्या गरिरहेका छन् । उनै मुकुलले खनेको डोबमा पार्टी सचिवसमेत रहेकी सुमना श्रेष्ठ पनि लागिन् । उनको राजीनामासँगै नयाँ राजनीतिको आशा धराशायी भएको बताउँछन् राजनीतिक विश्लेषक अर्जुन अर्याल । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापकसमेत रहेका अर्यालका अनुसार रास्वपाको उदयपछि सर्वाधिक आशा र अपेक्षा गरिने नेतामा श्रेष्ठ पनि थिइन् । नीति–निर्माणमा सक्रिय, भद्र छवि र संस्थागत सुधारका एजेन्डामा अडिग नेताकारूपमा देखिने सुमनाले पार्टीभित्रैका अपारदर्शिता, नीतिगत असहमतिहरू र एक व्यक्ति केन्द्रित निर्णयप्रक्रियासँग असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरिन् । सुमनाको राजीनामाले विश्लेषकहरूले रास्वपाको नयाँ राजनीतिक ब्रान्डको नैतिक पराजयका रूपमा व्याख्या गरिरहेका छन् । सदाचार र कडा छविका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि पार्टी छोड्ने थप महत्त्वपूर्ण पात्र बने । बारा-२ बाट उम्मेदवारी दिएर चुनावी मैदानामा होमिएका खरेलले पार्टीको आन्तरिक कार्यशैली, प्रचार–प्रसारको गैरव्यावसायिकता र नेतृत्व–केन्द्रीयताको विरोध गर्दै बाहिरिएको बताएका थिए । सभापति लामिछानेसँग उपसभापति डा. स्वर्णिम वाग्ले र रमेश खरेल । रास्वपामा प्रवेश गर्ने धेरैले खरेललाई शक्तिशाली अनुशासन र सदाचारको प्रतिनिधिका रूपमा हेरेका थिए । त्यसैले उनका आरोप र असन्तुष्टि सामान्य मान्न नहुने अर्का राजनीतिशास्त्री नीलकण्ठ तिवारी बताउँछन् । यस्तै, सबैभन्दा अनपेक्षित बहिर्गमन भने सन्तोष परियारको रह्यो । न गुनासो, न कुनै सार्वजनिक अभिव्यक्ति, न कुनै पूर्वतयारीको छनक कसैलाई जानकारी नै नदिई उनले चुपचाप पार्टी परित्याग गरे । उनको यो कदमले सभापति लामिछाने मात्र होइन, शीर्ष नेता तथा कार्यकर्ताहरू समेत चकित पारेको बताइन्छ । रास्वपाका प्रवक्ता मनिष झा रास्वपालाई कम्युनिष्ट बनाउन उद्दत भएकाहरू आफ्नो मिसनमा सफल नभएको बताउँछन् । उनै झा परियारको बहिर्गमनले पार्टीलाई क्षति भएको समेत स्वीकार गर्दछन् । झाका अनुसार परियारको बहिर्गमन पार्टीको वामपन्थीकरणको बहिर्गमन हाे । झाले भने, ‘अब रास्वपा पूर्ण लोकतान्त्रिक दल रह्यो।’ परियार पार्टीभित्र रविको नजिक मानिन्थे । तर, नेतृत्व संकट र निर्णय प्रक्रियामा आफ्नो भूमिका कमजोर हुँदै गएको महसुसका कारण उनी निराश बनेको बुझिन्छ । विश्लेषक अर्यालका अनुसार परियारको मौन बहिर्गमनले पार्टी भित्रको वातावरण पार्टी बाहिरभन्दा झनै बिग्रिएको छ भन्ने संकेत दिएको मान्न सकिन्छ । चिकित्सक तथा सांसदका रूपमा लोकप्रियता कमाएकी तोसिमा कार्की पनि अन्ततः पार्टी छाड्ने सूचीमा थपिने प्रक्रियामा रहेको स्रोतको दाबी छ । तोसिमा कार्कीले आफ्नो सर्कलमा बाहिरिने घोषणा गरेको बताइन्छ । उनको बहिर्गमनले रास्वपामा फेरी अर्को संकट निम्त्याउने निश्चित छ । अहिलेसम्म त समानुपातिकमा समेटिएकाहरूको बर्हिगमन भनिँदै आइएको छ । कार्कीले संगठनभित्रको अव्यवस्था, नीति र नेतृत्वको अस्पष्ट दिशाबोध तथा निरन्तर बढ्दै गएको अविश्वासका कारण छुट्टिने निर्णय गरेको बताइएको छ । यदि उनी पनि रास्वपाबाट बाहिरिएमा रास्वपामा विद्यमान शैक्षिक पेशागत युवा वर्गको प्रतिनिधित्व कमजोर हुँदै जाने टिप्पणी विश्लेषकहरुको छ । रास्वपाको स्थापनाकालदेखि नै रास्वपाप्रति अत्यन्तै उदार देखिएका घण्टी घरका घरबेटी भरतमणि देवकोटासमेत बाहिरिएपछि अहिले पार्टी थप संकटमा परेको छ । रास्वपाको केन्द्रीय कार्यालय रहेको भवनका घरबेटी देवकोटा समेतले पार्टीको साधारण सदस्यता त्यागेपछि यो बहिर्गमन केवल नेतासम्म सीमित नभई आम सदस्यस्तरमा पनि फैलिएको पुष्टि भएको छ । उनको बाहिरिने निर्णयले पार्टीभित्रको असन्तोष अब जरा–जरामा फैलिएको र असुविधा महसुस गर्ने सामान्य कार्यकर्तामात्र होइन, नेतृत्वसँग नजिक रहेका व्यक्तिहरू पनि निराश हुँदै गएको संकेत गरेको विश्लेषक तिवारीको दाबी छ । रास्वपाको हालको संकटको मूल कारण धेरैले सभापति लामिछाने सहकारी ठगी मुद्दामा जेल परेपछि नेतृत्व शून्यता हुँदा सुरु भएको अस्थिरतालाई देखाएका छन् । लामिछानेको अनुपस्थितिमा निर्णयप्रक्रिया थन्किनु, समन्वय कमजोर हुनु र गुटगत असन्तुष्टि बढ्नु नेतृत्वले पार्टी छोड्नुका तत्कालीन कारण रहेको राजनीतिशास्त्री तिवारीको बुझाइ छ । उनका अनुसार दल दलजस्तो नभएर एकल स्वामित्वको निजी कम्पनिजस्तो भएपछि दलमा संस्थागत स्थिरता हुँदैन, यसले पनि नेताहरूलाई पार्टी छोड्न अभिप्रेरित गरेको बताउँछन् तिवारी। एकातिर नेतृत्व विभिन्न आरोपमा जेलमा रहनु र अर्कोतिर पार्टीलाई पुनर्गठन गर्नुको साटो नेतृत्वको महिमा मण्डनमै केही मान्छे लाग्नुले पनि बहिर्गमनको पहिरो पैदा गरेको धेरै नेताहरूको भनाइ छ । आजको स्थितिमा रास्वपाले सामना गरिरहेको संकट केवल केही नेताहरूको विद्रोह मात्र होइन, पार्टी संरचना, नेतृत्वशैली र संगठनको दर्शनमै रहेको गम्भीर कमजोरीको परिणाम रहेको राजनीतिका विश्लेषक अर्याल बताउँछन् । अर्यालको मूल्यांकनमा व्यक्ति–केन्द्रित नेतृत्वले संस्थागत संरचना विकास हुन दिएन । नयाँ राजनीतिको आदर्श व्यवहारमा लागू नहुँदा निराशा बढ्यो । र पार्टीमा पहिरो गयो । विवाद र बलजफ्ती निर्णयहरूले गम्भीर असन्तुष्टि जन्माउँदा अहिलेको अवस्था आएको अर्याल बताउँछन् । उनका अनुसार नेतृत्व शून्यताले संगठनलाई दिशाहीन बनाएको छ । यी सबै कारण एकसाथ मिसिँदा अहिले आएको बहिर्गमनलाई धेरैले रास्वपाको अस्तित्वमा नै लागेको पहिरोका रूपमा बुझिरहेका छन् ।