भारतको आन्तरिक समस्याका कारण छ महिनादेखि देशमा टिटी खोपको अभाव

काठमाडौं। दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पुर्याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन । अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ । काठमाडाैं विभिन्न औषधि पसलमा स्थलगत रिपाेर्टिङका क्रममा पुग्दा केही पसलमा पुरानो मौज्दात भ्याक्सिन भए पनि अधिकांश औषधि पसल तथा फार्मेसीमा भ्याक्सिन थिएन । काठमाडौँको त्रिपुरेश्वर, थापाथली, मैतीदेवी, पुतलीसडकका सात औषधि पसलमा पुग्दा पाँच पसलमा खोप नआएको महीनौँ भएको पाइयो । तिहारअघि नर्भिक अस्पतालमा भ्याक्सिन नआएको महीना नाघेको थियो । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ । काठमाडौँ पोलिक्लिनिक थापाथलीका सञ्चालक पङ्कज मेहता टिटी जस्तो महत्वपूर्ण भ्याक्सिन नहुनु दुर्भाग्य हो भन्छन्। लामो समयदेखि थोक बजारमै भ्याक्सिन नभएको मेहताले बताए। निम्स फार्मेसी, थापाथलीका राजु श्रेष्ठ तीन महीनादेखि भ्याक्सिन सकिएको बताउँछन्। औषधि व्यवस्था विभागका अनुसार करीब छ महीनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो । “अभाव भएको छ महीना भयो, हामीलाई खबर आएको भने एक महीना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।” विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, “विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ । उनका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।” बजारमा भ्याक्सिन अभाव भएको छ महीना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिन्छन्। भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टिटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ । मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनःनिर्माणमा रहेकाले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउँछन्। केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ । “हामीले ५०० प्याकेट (प्रतिप्याकेट दुई हजार ४०० एम्पुल) मगाउँछौँ, कम्पनीले जम्मा ५० प्याकेट पठाउँछ, अनि कसरी नेपालमा भ्याक्सिन सहज हुने”, राजभण्डारीले भने। यता सेरम इन्स्टिच्युटको नेपालस्थित आधिकारिक बिक्रेता श्रीओम ब्रदर्सका व्यवस्थापक सुवास अधिकारी भारत सरकारले मूल्य निर्धारण गरेपछि उक्त मूल्यमा घाटा लाग्ने भएकाले सेरमले उत्पादन नै नगरेको जानकारी आएको बताउँछन्। भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउँछन्। उनले यसको विकल्पका रुपमा टिडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पका रुपमा प्रयोग गर्न सकिने बताए। नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टिडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टिटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टिडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखाअन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताउँछन्। यो धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो । थापाका अनुसार सरकारी तवरबाट अहिले टिटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बिसिजी, डिपिटी, ओपिभी, दादुरा, रुवेलाविरुद्धको भ्याक्सिन, टिडी, जेइ, पिसिभी, आइपिभी खोप आपूर्ति गर्दै आएको छ । तर अत्यावश्यक मानिने टिटानसविरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टिटीको कुनै कार्यक्रम नभएकाले सरकारी तवरबाट वितरण नभएको बताउँछन्। यसको सट्टामा टिटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उनको भनाइ छ। रासस

नेपाल क्यान्सर हस्पिटलद्वारा स्तन क्यान्सरसम्बन्धि अभिमुखीकरण गोष्ठी

काठमाडौं। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कार्तिक १९ गते सोमबारका दिन वुमन चेम्बर अफ कमर्सुका सदस्यहरुलाई अक्टोबरको स्तन क्यान्सर सचेतना महिनाु अन्तर्गत स्तन तथा अन्य महिलाजन्य क्यान्सर रोगहरुको बारेमा अभिमुखीकरण कक्षा दिए। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । हजारौं मानिसले विभिन्न समस्याहरु झेलिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीबी, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्य श्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरु झन कष्टदायी जिवन विताउन बाध्य छन्। क्यान्सर रोगको सामना गर्न भौतिक, आर्थिक, सामाजिक, मानसिक र पारिवारिक रुपमा बलियो हुनुपर्ने तथ्यलाई मध्यनजर गर्दा यस रोगको रोकथाममा महिलाको भूमिका अत्यन्त महत्वपुर्ण हुने गर्दछ। अझ आजकालका कामकाजी महिलाहरुले आफ्नो व्यस्त जीवनमा आफ्नो शरीरको नियमित परिक्षण गराउनु जरुरि हुन्छ। यस सभामा स्तन क्यान्सरको निदान, रोकथाम, र उपचारको जनचेतना अभिबृद्दिका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकामा प्रकाश पारिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका तर्फबाट डा.सुदिप श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। उनले नेपालमा क्यान्सरजस्ता उपचार गर्न ठुलो स्रोतसाधन चाहिने रोगहरुका लागि सरकारले अझ सशक्त रुपमा स्वास्थ्य बिमाको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिए। यसै सन्दर्भमा उनले उपचार गर्न विदेशिने नेपालीको मानसिकतामा परिवर्तन ल्याउन नेपालीको क्यान्सर उपचार नेपालमा नै नारा लिई अस्पताल अगाडि बढेको पनि बताए। वुमन चेम्बर अफ कमर्सु का हेल्थ कमिटिु संयोजक तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरकी संचालिका श्रीमती स्वरुपा श्रेष्ठले आफ्नो मन्तब्य दिएकी थिईन्। मन्तव्यमा उनले क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रमा पुर्याउनुपर्ने र त्यसका लागि वुमन चेम्बर अफ कमर्सले नेपाल क्यान्सर हस्पिटल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासंग सहकार्य गरिरहेको बताए। कार्यक्रमको दोश्रो चरणमा हस्पिटलका सर्जिकल अन्कोलोजी बिभाग प्रमुख डा। कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुति दिएका थिए। सहभागीहरुको जिज्ञासा मेटाउदै उनले आजकल स्तन क्यान्सर लागिहालेमा पनि पुरै स्तन काटेर फाल्नु नपर्ने तथ्य उजागर गर्नुभयो। साथसाथै यस हस्पिटलमा अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीु पनि सुरु भैसकेकाले धेरै केसहरुमा नया स्तन बनाउने प्रबिधि र सीप नेपालमै उपलब्ध भएको पनि जानकारी दिनुभयो। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कम्प्रिहेन्सिभ ब्रेस्ट केअर क्लिनिकु उपलब्ध भएकाले स्तन क्यान्सरका जानकार डाक्टर हरुको समुहद्वारा हरेक बिरामी र क्यान्सरको बिशिष्ट उपचार हुने डा. अमात्यले बताए। यसका लगत्तै भेलाका सहभागीहरुले आ(आफ्ना मनमा लागेका क्यान्सर सम्बन्धि प्रश्नहरु सोधेका थिए।

सूर्यविनायक क्षेत्रका ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई

काठमाडौं। तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो । केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिए। सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार एवं फुड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो । मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई रु पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिए। मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उनले बताए। रासस