पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु
काठमाडौं। पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए। क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको चर्चा गर्दै उनले यसविरुद्धको खोप शुरु गर्न लागिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञले नेपालका विभिन्न अस्पतालका करीब २५० चिकित्सक र स्वास्थ्यकर्मीलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले बताए। गोष्ठीमा अमेरिकाका पाँच, भारतका पाँच, चीनका तीन र नेपालका २६ गरी ३९ क्यान्सर विशेषज्ञले प्रशिक्षण एवं क्यान्सरको अवस्था, चुनौती र समाधानबारे जानकारी गराउने उनले जानकारी दिए। कात्तिक १७ गतेसम्म सञ्चालन हुने गोष्ठीमा नेपालमा महिलामा हुने पाठेघर मुखको क्यान्सरको न्यूनीकरण र उपचार पद्वतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणसमेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए। रासस
नेपाल क्यान्सर अस्पतालकाे तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’
काठमाडौं। नेपाल क्यान्सर अस्पतालले तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’ गरेको छ। मंगलबार अस्पतालमा कार्यक्रम गरी स्तन क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया गएिको हो। कार्यक्रममा स्तन क्यान्सर सर्भाइभर वन्दना शर्माले आफ्नो अनुभव सुनाइन्। ‘रोगले भन्दा बढी डरले गाल्ने रहेछ’, उनले भनिन्’, त्यसैले क्यान्सर राेगीले उपचारसँगै आत्मबल पनि बलियो बनाउनुपर्छ।’ कार्यक्रममा हेल्थ ह्यापिनेस ट्रेनर सिमन न्यौपानेले कारणविनै खुशी हुने अभ्यास गरे शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्ने तर्क गरे। ‘जो हाँस्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन’, उनले भने, ‘जब रोगले च्याप्दै जान्छ तब स्वास्थ्य ठूलो भन्ने थाहा हुन्छ।’ कार्यक्रममा ६० भन्दा बढी क्यान्सर सर्भाइभर रोगी सहभागी भएको अस्पतालले जनाएको छ। सुदीप्त (जीवनको नयाँ बिहानी) नेपाल क्यान्सर सहयोग समूहको इकाइ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम गरिहेको हो। अक्टुबर महिनाभर स्तन क्यान्सरसम्बन्धी विभिन्न कार्यक्रम गरेको अस्पतालले जनाएको छ। अस्पतालले भदौदेखि क्यान्सर सर्भाइभर मिट गर्दै आएको छ।
बीपी कोइरालाका तत्कालीन अध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचारको मुद्धामा दोषी ठहर
काठमाडौं। विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उनलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको (अवैध) सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले रु ४८ लाख ९० हजार ३३७ बैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ । डा श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए। रासस