सामान्य रुपमा महिनावारी रोक्न पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन : डा. नुतन शर्मा
डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ काठमाडौं। चाडबाडको समय छ र यस समयमा धेरै महिलाको चिन्ताको बिषय हो महिनावारी। हाम्रो समाजमा अझै पनि महिनावारीलाई लिएर मानिसहरुमा नकरात्मक धारणा रहेको छ। चाडवाडको समयमा महिनावारि भएको खण्डमा पूजाआजा गर्न नमिल्ने, टिका लगाउन नमिल्ने भनेर समाजले एकप्रकारको बन्देजनै लगाएको छ। कोही मानिसहरु यस सोचबाट माथि उठीसकेका छन् भने अझै पनि धेरै मानिसहरु यही बन्देज भित्र छन्। यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ र धेरै महिलाहरुले त्यसको प्रयोग पनि गर्छन् तर भित्रभित्रै यसले समस्या उब्जाउने पो हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुने गर्छ। पछी गएर बच्चा नबस्ने पो हो कि, महिनावारीमा गडबडी पो हुने हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुनेगर्छ। महिनावारि केही दिन पर सार्ने पिल्सको बारेमा उनिहरुको एकदमै गलत धारणा रहेको छ। यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन र स्वास्थ्यका लागि हानीकारक हुन्छन् भनेर धेरै भनिन्छ तर कुन र कस्तो अवस्थामा भनेर भनिदैन। सामान्य रुपमा पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई यसले कुनै प्रकारको असर गर्दैन। पिल्स महिनावारि सुरुहुनु भन्दा २ दिन अगाडी प्रयोग गर्न सकिन्छ। त्यसपछी आफुलाई कति दिनसम्म चाहिने हो त्यस अनुसार प्रओग गर्दा हुन्छ। ७-८ दिन भन्दा उता पिल्स प्रयोग नगर्दा राम्रो हुन्छ। यसको अत्याधिक प्रयोग भएको खण्डमा मात्र समस्या उतपन्न हुनसक्छ।
आफ्नो मुटु स्वस्थ राख्न दशैंमा कस्तो मासु खाने? हार्टअट्याक भएमा अपनाउनुस् यी कुरा
अनिल भट्टराई, वरिष्ठ मुटुरोग विशेषज्ञ काठमाडौं। बिशेष गरेर दशैंमा चिल्लो, बोसो युक्त अझै बिशेष गरेर रातो मासु खाने चलन रहेको छ। त्यसबाहेक यो समयमा मानिसहरुले रक्सी जाँडको पनि बढी सेवन गर्ने गर्छन्। चाडबाडको समयमा जती बेला हरेक कुरा अत्याधिक खाईन्छ यसैले गर्दा पनि बिशेष गरी सबैले आफुलाई स्वस्थ राख्ने भन्ने बिषयमा सजक रहन जरुरी छ। मासु दशैंको समयमा अत्याधिक खाइने/मन पराइने परिकार हो। मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । भुटेको, तारेको मासु भन्दा पनि ग्रेभीवाला मासु खाँदा राम्रो हुन्छ। त्यो बाहेक लिङ मिट जुन छाला र बोसो रहित हुनेगर्छ त्यसको प्रयोग गर्दा पनि सामान्य मासुभन्दा स्वस्थकर हुने गर्छ। सकेसम्म खसीको मासु प्रयोग नगर्दा अझै राम्रो हुन्छ। मासु खाए पनि सेतो मासु खादाँ धेरै स्वस्थकर हुन्छ। हाम्रो प्रचुर रुपमा मासु खाने जुन चलन छ त्यसलाई सक्दो कम गर्न जरुरी छ। मदिरा र धुम्रपान सकेसम्म कम गर्नुपर्छ। त्यस्तै चाडबाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ। जुवातास खेल्ने मानिस लामो समय सम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन्। यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, प्रेसर हाई भएर मुटुको नलीहरु पनि फुटिएको देखिन्छ। त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ। दशैंको समयमा मुटु रोगीमा अझै जटिलता थपिन्छ – दुई दिनमै रोगी बढीहाल्ने भन्दा पनि जसलाई पहिले देखी नै मुटुरोगको समस्या छ, उच्च रक्तचाप छ र पहिले देखी नै औषधी सेवन गरिरहेका छन् उनीहरुलाई चाँही यो समयमा अझै जटिलता थपिन्छ । किनभने मुटुरोगीले त्यसरी बढी चिल्लो रहित मासु, रक्सी खायो, वायम गरेन, रातभर जाग्राम बसेर तास खेल्छ भने पक्कै पनि उसको रक्तचाप बढ्छ वा औषधीको रिक्वायरमेन्ट बढेर जान्छ। त्यस्तै, पहिले नै मुटुको नलीमा केही फरकपन आईसकेको अवस्थामा धेरै लामो समयसम्म चिल्लो भएको मासुजन्य खानेकुरा खाएको अवस्थामा त्यसले चाँही शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाउँछ जसले गर्दा अझै जटिलता थपिने, मुटुको नली साघुँरो हुने र हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढेर जान्छ। कार्बोहाईड्रेट खानामा कम गर्ने – हाम्रो दिनहुँको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको भात र आलु हो। तरकारीमा पनि आलु, अचारमा पनि आलु, हुँदाहुँदा दिउँसो खाजाको रुपमा पनि आलु फ्राइ बनाएको पाईन्छ। यसले गर्दा आलु र भातको मात्रा घटाउन जरुरी छ किनभने यसमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ। सुगर शरीरमा गईसकेपछी पछी गएर चिल्लोमा परिवर्तन हुने गर्छ। त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी छ। यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाईन्छ र आफ्नो स्वास्थ्य पनि राम्रो रहन्छ। अचानक हार्टअट्याक आएमा अर्थात डाक्टर नआईपुगेको खण्डमा के गर्ने ? – यसमा दुईवटा कुरा छ। घरमा यदि कोही मेडिकल पर्सण छन् भने उसलाई यस बिषयमा थोरै भए पनि जानकारी हुन्छ । तर यदि घरमा त्यस्तो मान्छे छैन भने उसलाई यस बिषयलाई लिएर त्यती ज्ञान नहुनसक्छ। एउटा मुटु बन्द भईसकेको हुन्छ भने अर्को बन्द हुनुभन्दा अगाडिको अवस्था हुनसक्छ। हार्टअट्याक आएको मानिसलाई सामान्य अवस्थामा ल्याउनको लागि अथवा डाक्टर नआईपुगेको खण्डमा छातीको देब्रे पट्टी १ मिनेटमा ६०- ७० चोटि थिच्न जरुरी छ। त्यसमा यदि मानिसले सास लिएको छैन भने प्रत्येक ५ चोटि थिचेपछी नाक बन्द गरेर मुखमा कृतिम श्वासप्रश्वास गर्न सकिन्छ। यसो गर्दा उक्त बेहोस भएको मानिसको फोक्सोमा पनि हावा जान्छ। कसैलाई हार्टअट्याक आएको अवस्थामा यो गर्न सकियो भने धेरै हदसम्म मानिसको ज्यान जोगिन्छ। हृदयघातको लक्षण – कडा रुपमा छातीकोबीच भागमा त्यसमाथी पनि देब्रे भागमा कडा दुखाई महसुस – पसिना चिटचिट आउने – चक्कर लाग्ने – वाकवाक हुने – मुटुको धड्कन तेज रुपमा बढ्ने – बेहोस भएर ढल्ला जस्तो हुने (वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईसँगको कुराकानीमा आधारित )
युवा तथा बालबालिकामा मानसिक समस्या बढी, आत्महत्या बढ्दो
काठमाडौं। पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं सोचाइमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ । मानसिक स्वास्थ्य समस्याले असामान्यरुपमा व्यक्तिको भावना, सोचाइ र व्यावहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन्। स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिए। पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत रहेको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । उहाँका अनुसार बाल्यकालमा नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्ता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । “स–साना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवामा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउँछन्। मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न उनी भन्छन्, “अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्नुपर्छ । ती कुरालाई सकभर पूरा गर्ने बानी बसाल्नुपर्छ । पूरा नभए के कारणले नहुने हो जवाफ दिनुपर्छ । अभिभावकले उनीहरुको कार्यबोझ हटाइदिनुपर्छ ।” आत्महत्या बढ्दो मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरेका थिए । तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए । विश्व स्वास्थ्य सङ्गठनले विश्वका १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण र नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको जनाएको छ ।