म्याक्स हेल्थकेयर नेपालमा आयो; मेडिसिटी, बिएनबि र स्टार हस्पिटल स्थानीय साझेदार
काठमाडौं । उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक संस्था म्याक्स हेल्थकेयरले नेपालमा सेवा विस्तार गरेको छ । कम्पनीले शनिवार एक समारोहबीच काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको हो । केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र उजवेकिस्तानमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले नेपालमा पनि सेवा विस्तार गरेको हो । उपचारका लागि भारत जाने नेपालीहरुको संख्या उल्लेख्य भएकोले नेपालमा सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नेपालमा स्वास्थ्योपचार क्षेत्रमा निजी हस्पिटलहरु र डायग्नोस्टिक केन्द्रहरुको संख्यात्मक वृद्धि भएको अवस्थामा म्याक्स हेल्थकेयर नेपालमा आएको हो । ‘हामीले म्याक्स हेल्थकेयरमा नेपालबाट मात्रै वर्षेनी सयौं विरामीहरुलाई स्वास्थ्य सेवाप्रदान गर्ने गरेका छौं । यो नयाँ विरामी सहायता केन्द्र म्याक्स हेल्थकेयरले विश्वभरका विरामीहरुलाई विश्वस्तरीय स्वास्थ्यउपचार सेवा गर्न गरेको प्रतिबद्धताकै एक बिम्ब हो’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कम्पनीका अनुसार विरामी सहायता केन्दको शुभारम्भसँगैं म्याक्स हेल्थकेयर, नयाँ दिल्लीद्वारा उपलब्ध गराइरहेको विश्वस्तरीय स्वास्थ्य उपचार सेवामा नेपालका जनताहरुको पनि पहुँचपुग्नेछ । विरामीहरुले टाढै बसेर टेलि–परामर्शको मद्दतले सम्भावित जिज्ञासाहरुको समाधान प्राप्त गर्न समर्थ हुनेछन् । यस विरामी सहायता केन्द्रले नेपालमा म्याक्स हेल्थकेयरका डक्टरहरुद्वारा शल्यक्रिया सम्बन्धी सुविधा पनि प्रदान गर्नेछ र म्याक्स हेल्थकेयरमा उपचार गराई फर्किएका नेपाली विरामीहरुलाई फलो–अप उपचार सेवा पनि उपलब्ध गराउनेछ । ‘हामीले प्रत्येक महिना ४० जना विरामीहरुलाई नजिकबाट हेरिरहेका छौं’ कम्पनीले भनेको छ ‘हामीसँग हरेक महिना ७०–८० जना विरामीहरुले सेवा लिने अपेक्षा गरिरहेका छौं ।’ ‘हाम्रो लक्ष्यभनेको स्थानीय स्वास्थ्योपचार सेवा प्रदायकहरु बिएनबि हस्पिटल, स्टार हस्पिटल, मेडिसिटी, आदिसँग नजिकमा रहेर काम गर्ने, क्लिनिसियनहरु र नर्सिङ स्टाफहरुको एक कार्यदल खडा गर्ने रहेको छ । एकीकृत कार्यक्रमअन्तर्गत डक्टर र स्टाफ प्रशिक्षण कार्यक्रमहरु, म्याक्स हेल्थकेयरका विज्ञहरुबाट स्थलगत परामर्शहरु र प्रक्रियाहरु एवं हस्पिटल व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने रहेका छन्’ सिटिभिएस दिल्ली एण्ड एनसिआर, कार्डियाक साइन्स–कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी, म्याक्स सुपर स्पेसियालिटी हस्पिटल, साकेतकासिनियर डाइरेक्टर डाक्टर रजनीस मल्होत्राले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने । म्याक्स हेल्थकेयरले उत्तर भारतको १२ स्थानहरुमा ३० वटाभन्दा बढी मेडिकल तहहरु संचालन गर्दछ । यसमध्ये दिल्ली र एनसिआरमा ९ वटा छन् भनें बाँकी अन्य मोहाली, बथिण्डा र देहरादुनमा रहेका छन् । म्याक्स हेल्थकेयरको सञ्जालमा रहेका १२ वटा हस्पिटलहरुसँग २,२०० डाक्टरहरु, ९,३ ०० कामदारहरुको संलग्नता छ भनें ८० भन्दा बढी राष्ट्रका २५ लाख विरामीहरुले उपचार गराएको रेकर्ड छ ।
नेपालमा वाथ रोगीको संख्या बढ्दो; धुम्रपान, बढी तौल र विलासी जीवनशैली मुख्य कारण
काठमाडौ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ ।विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् । बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्नेआदि समस्या देखा पर्दछ । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करीब १५० जनाको सहभागिता थियो । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए। बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताए।नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ । रासस
नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन, २०२० सम्म २५ प्रतिशत घटाउने लक्ष्य
काठमाडौं। सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔ’, भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो । नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ । दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए। यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए। नेपालमा आँखासँग सम्वन्धी केही तथ्य प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् । न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ० दशमलव ६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो। अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ । विश्वमा आँखा स्वास्थ्य सम्वन्धी केही तथ्य विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिीबिहीन छन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् । एक अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । एक करोड ९० लाख बालबालिकामा दृष्टि दोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झण्डै ६५ प्रतिशत मानिस ५० वर्ष र माथिका उमेरका छन् । अन्धोपना र दृष्टिदोषको भार सन् १९९० को ४ दशमलव ५८ प्रतिशतबाट कम भएर २०१५ मा ३दशमलव ३७ प्रतिशतमा झरेको तथ्याङ्क छ । आँखा स्वास्थ्य सन्देश आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाइहाल्नुपर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव छ । तसर्थ नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बचौँ र बचाऔँ ।