नाम दर्ता परीक्षामा असफल हुँदै नर्स पिसिएल नर्सिङमा १७ प्रतिशतमात्र पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको नाम दर्ता परीक्षामा १७.४४ प्रतिशत नर्समात्र उत्तीर्ण भएका छन् । कात्तिक १६ गतेदेखि १८ सम्म लिएको परीक्षामा ६ सय २ पिसिएल नर्सिङ मध्ये १ सय  ५ जनामात्र उतिर्ण भएका छन् ।  नर्सिङ परीक्षाका लागि ६ सय ४५ जनाले फारम भरेका थिए । यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.७१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षाका बेला २ सय १० जना मध्ये ९६ जना मात्रै पास भएका छन् । बीएस्सी नर्सिङमा  २ सय १७ जनाले फारम भरेका थिए ।  विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा भने ५६.१८ प्रतिशत पास भएका नेपाल नर्सिङ परिषदले जनाएको छ ।  परीक्षामा ८९ जना सहभागी मध्ये ५० जना मात्रै पास भएका छन् । बीएमएस (व्याचलर अफ मिडवाइफ्री)मा भने परीक्षामा सहभागी २७ जना नै उत्तीर्ण भएका हुन् ।  

स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखामा निर्देशक हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहत रहेका विभिन्न महाशाखा तथा केन्द्रका प्रमुखको जिम्मेवारी फेर गरेको छ । स्वास्थ्यमन्त्रीको रुपमा आएकी मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार नयाँ तथा केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी हुन् ।  जस अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा वीर अस्पतालमा कार्यरत डा. मदन कुमार उपाध्ययलाई जिम्मेवारी दिएको छ । यसअघिका निर्देशक डा. विवेकलाल कर्ण निलम्बनमा परेपछि रिक्त पदमा उपाध्यायलाई पठाएको छ ।  यस्तै देवकोटाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा पठाएको छ । कोशी अस्पतालको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत गराएर भन्द्रभाललाई निर्देशकको जिम्मेवारी दिइएको छ ।  यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु, दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए ।  नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।  सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।