मत बदर नहुने गरी यसरी मतदान गरौँ

काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिका र नगरपालिकामा एक/एक जना अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख निर्वाचित हुनेछन् । यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ । आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउछन् । मतसङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ । मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन् । आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ । यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन् । मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ । मतपत्रको पहिलो कोलममा अध्यक्ष÷प्रमुख, दोस्रोमा उपाध्यक्ष÷उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौँमा दलित महिला वडा सदस्य र छैटौँको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ । प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मतसङ्केत गर्नुपर्छ । स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ । मतदाताले अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन् । कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ । यसैगरी स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ । मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ । मत बदर हुने अवस्थाहरुः १) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको २) औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसङ्केत गरिएको ३) मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको ४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यन्त्र मत सङ्केत गरिएको ५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको ६) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको ७) निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मतसङ्केत गरिएको ८) मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको ९) आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको १०) मतपेटिका भन्दा बाहिर राखिएको ११) जाली मतपत्र

‘चुनावमा राेजगारी दिन्छु भनेकाले वैशाखी पनि दिएनन्’

जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उनलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए’, उनले दुःखेसो पोखे, ‘तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् ।’ यस्तै भेरी नगरपालिका–११ कटीगाउँका डेढसयभन्दा बढी घरपरिवार हाल ऋणगरी जिविकोपार्जन गर्न बाध्य भएको स्थानीय बताउँछन् । ऋण तिर्नका लागि स्थानीय भारतसहित अन्य मुलुकमा गइरहेका छन् भने केही परिवार गाउँबाट विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको कटिगाउँका नरबहादुर वरले बताए । ‘हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्’, उनले भने । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ । वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको वर बताउँछन् । ‘गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुख्यौली पेशा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्’, उनले भने । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन–चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौँदेखि बिर्सिरहेको उनीहरुको गुनासो छ । ‘गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ’, कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले भने । लिखित प्रतिबद्धताविना मत नदिने उनको तर्क छ । ‘अहिले त हामी गाउँका सबैले उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ’, उनले थपे, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।’ यस भेगका दुई हजारभन्दा बढी परिवार मजदूरी गर्न बाहिर गएको नेपालीले बताए । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको नलगाड नगरपालिका–३ का गङ्गराम नेपालीले बताए । ‘यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन्’, उनले भने, ‘अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’ रासस

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

फाइल फोटो बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनको भनाइ छ । एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न÷नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ । दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए । रासस