खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका थिए । यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा( माओवादी केन्द्र ) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिए । त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन् । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरेका हुन् । मत गणना जारी छ । रासस

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

काठमाडाैं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन् ।