एक वडाको मतगणनालाई ४० घण्टा
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए । यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ । वडा नं १ मा तीन हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले सुनाए । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ । आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ । वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा ९एमाले०ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन् । मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा रहेकाे जनाइएको छ ।
बझाङको साइपाल अध्यक्षमा एमाले विजयी
बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेका हुन् । यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएकाे जनाइएको छ ।
षडानन्द नगरपालिकामा गठबन्धनकाे अग्रता
काठमाडौं । षडानन्द नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बीरबल राईले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार उनले १३२३ मत ल्याई अग्रता कायम गरेका हुन् । र, एमाले उम्मेदवार सुरेन्द्रकुमार उदासले १२५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाल कम्यूनिष्ट पार्टी माओवादीकी प्रमिला राईले १३२३ मत ल्याई अग्रता कायम गरेकी छिन् । यस्तै, उपमेयरमा एमाले उम्मेदवार मेरीका राईले ९४९ प्राप्त गरेकी छन् । नगरपालिकाको उमेदवारहरुको मतगणना जारी छ ।