‘जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिन भन्छन्’

काठमाडौं । ‘भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्’, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिन् । काठमाडौं महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उनले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन् । जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोस पनि व्यक्त गरिन् । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उनको गुनासो थियो । जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाइन् । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गरिन् । ‘मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उनले भनिन् । वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौं सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो, जसले जीते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस् उनले शुभकामना दिँदै भनिन् । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भने, ‘नेताको व्यवहार निर्वाचनअघिकै झैँ भए नगरको मुहार फेरिथ्यो ।’ मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएका हुन् । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनका लागि कामपामा १५६ मतदानस्थल र ३६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । रासस

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा गएर मत हालेका हुन् ।

मतगणना सुरु भएको ५ दिनभित्र मतपरिणाम आइसक्ने

काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको ५ दिनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतगणना आज ५ बजेसम्म जारी रहनेछ । मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गर्ने गरी तयारी भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मदतान सकिएको केही बेरमा देशभर कति मत खस्यो भनेर तथ्याङक आइसके पछि मतगणनाको सुरु हुने छ । मतपत्र थोरै भएको ठाउँमा आज साझनै मतगणना भइसक्ने पनि निर्वाचन आयोगले जानकारी दिएको छ । गत चुनावमा काठमाडौं महानगरको मतगणना सकिन १७ दिन लागेको थियो । आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ । उक्त केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् ।