चुनावमा ५० प्रतिशतले मात्र भोट हाल्ने

काठमाडाैं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४८०) को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरु विदेशमा छन् । कुल खस्ने मतको हिसावअनुसार यो आधा भन्दा धेरै हो । त्यस्तै मतदानको काममा खटिने कर्मचारीहरु २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् । लगभग ६५ लाख मतदाताहरुलाई मताधिकारबाट वञ्चित गराइ भइरहेको स्थानीय तहको निर्वाचनमा झन्डै आधा मतदाताहरु अनुपस्थित हुने निश्चित छ । संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सर्वोच्च अदालतको आदेशका बाबजुद सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न नसकेको बताए । स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नबाट लगभग ६५ लाख मतदाताहरु वञ्चित हुनु लोकतन्त्रको लागि राम्रो नभएको उनी बताउँछन् । उनले २०४ वटा मुलुकमध्ये १३७ वटा मुलुकमा बाहिरबाट पनि मतदान गर्न पाइने व्यवस्था रहेको भन्दै सरकारले मानवाधिकारको विषयलाई वञ्चित गराउन नमिल्ने बताए । संविधान सभा सदस्य देवकोटा अनलाइन भोटिङ, अर्ली भोटिङ र पोस्टल भोटिङमार्फत देश तथा विदेशमा रहेका मतदाताहरुलाई मताधिकारको व्यवस्था गर्न सकिने बताउँछन् । उनले सर्वोच्च अदालतले आजभन्दा ४/५ वर्ष अघि नै यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नू भनि परमादेश जारी गरिसकेको, तत्कालिन सरकारले गर्न सकिने उल्लेख गरे पनि निर्वाचन आयोगले तत्सम्बन्धी कानून संशोधन गर्नका लागि आवश्यक बन्दोबस्त गरेको अवस्थामा पनि सरकारले कानून संशोधन नगर्दा लगभग ६५ लाख मतदाता मताधिकारबाट वञ्चित हुनु दुःखद् रहेको उनकाे भनाइ छ । संविधान सभा सदस्य देवकोटाले बहुमत मतदाता अनुपस्थित रहेर अल्पमत मतदाताहरुले मतदान गरी अल्पमतमध्येको बहुमतलाई नेपालले लोकतन्त्र मान्नुपर्ने बिडम्बना देखिएको बताए । उनले यसबारेमा गम्भीर अध्ययन गरी तत्काल कानून संशोधन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । संविधान सभा सदस्य देवकोटाले अहिलेको कानूनमा पनि निविदा मतपत्रको उल्लेख गरिएको भन्दै त्यसबाट पनि निर्वाचनमा खटिएका व्यक्तिहरुको मतदानको अधिकारलाई सुनिश्चितता गर्न सकिने उल्लेख गरे । उनले मतदाताले कुनै मतदान केन्द्रबाट हालेको भोटलाई सीलबन्दी गरेर उसकै मतदान केन्द्रमा पुर्याउने व्यव्स्था गर्न सकिने बताए । संविधान सभा सदस्य देवकोटाले मतदान हुनुभन्दा एक हप्ता अगाडि मतदान गरी मतपत्र सील गरेर सम्बन्धित ठाउँमा गणनाका निम्ति पठाउन सकिने पनि बताए । यो काम राज्यले चाहेका खण्डमा असम्भव नरहेको तर आजको मितिसम्म राज्यले गर्न नचाहेको उनकाे भनाइ छ । सर्वोच्च अदालतले वि.सं. २०७५ स्थानीय निर्वाचन २०७९ मा लागू हुने गरी विदेशमा रहेका मतदाताले पनि मताधिकार पाउनुपर्ने निर्देशनात्मक आदेश दिएको थियो ।

काठमाडौं जिप्रकाको सेवा दुई दिन रोकिने

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंको सेवा प्रवाह दुई दिन प्रभावित भएको छ । वैशाख ३० गते हुने स्थानिय तहको चुनावको लागि कार्यलयमा कार्यरत कर्मचारीहरु खटिएको कारण कारण वैशाख २८ र २९ गते सेवा प्रभावित हुने कार्यलयले जानकारी दिएको हो । यस्तै वैशाख ३० गते स्थानिय तहको चुनावको कारण सरकारले सार्वजनिक बिदा दिएको छ । साे दिन सवारीसाधनहरु आवतजावतमा पनि रोक लगाइएको छ ।

मैले जितेपछि बेलकोटगढीको समानुपातिक विकास गर्छु– गुरुङ

बेलकोटगढी नगरपालिकाको मेयरमा सत्तागठबन्धनमा रहेको माओवादी पार्टीका नेता जगत गुरुङ उम्मेदवार बनेका छन् । राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय गुरुङ यो समय चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । सामाजिक कार्यमा पनि सक्रिय गुरुङ पार्टीको उच्चाई सँगसँगै अब बेलकोटगढी नगरपालिकाको विकास गर्न उम्मेदवारी बनेको बताउँछन् । मेयर पदका उम्मेदवार बनेका गुरुङ आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उम्मेदवार गुरुङसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी : स्थानीय तहको निर्वाचन हुन अब ३ दिन मात्रै बाँकी छ, निर्वाचनको तयारी कस्तो छ ? हामी वैशाख १८ गतेदेखि प्रचारप्रसार साथै घरदैलो अभियानमा छौं । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट माओवादी पार्टीबीचको गठबन्धनको तर्फबाट म उम्मेदवार बनेको हूँ । बेलकोटगढी नगरपालिकामा १३ वटा वडा छन् सो वडामा संयुक्त अभियान हिजोमात्र सम्पन्न गरिसकेका छौं । छुटेका वडा र टोलमा पुगि भोट मागिरहेका छौं । आम मतदाताहरूले पनि हामीलाई निकै उत्साह दिइरहनु भएको छ । घरदैलो अभियान गरिरहेको बेलामा मतदाताको माग र गुनासो के कस्ता पाउनु भयो ? यस नगरपालिकाका जनतासँग भेटघाट गर्दा गुनासाहरू धेरै भेटिए । हामीले जनताको आधारभूत आवश्यकता पनि पुराहुन नसकेको पायौं । विशेष गरी यहाँ कृषिमा आधारित जनसमुदाय भएकाले कृषिमा प्रयोग हुने मलको अभाव भएको धेरै सुन्यौं । बनेको सडक स्तारोन्नति हुन नसक्दा बर्षाको समयमा यातायात सेवा सञ्चालन गर्न कठिन पर्दा स्थानीयहरूले धेरै दुःख पाएका रहेछन् । स्थानीय सरकारले पनि संघीय विकास प्रणालीमा उत्कृष्ट काम गर्न नसेकेको भन्ने नै गुनासो देखियो । जसरी राजनैतिक दलबाट जनप्रतिनिधिको लागि तयारी भइरहँदा जनताहरूले पहिलाको जस्तै त होला नि भन्ने प्रश्नले हामी अलिकति नर्भस हुनुपर्याे । नगरको विकास र काम गर्ने उद्देश्यले उम्मेदवार बनिरहदा पनि हिजोका दिनमा जनप्रतिनिधिको कार्यशैलीले गर्दा र समस्या उस्तै रहेको मैले अनुभव गरेको छु । अघिल्लो निर्वाचित जनप्रतिनिधिले जनताको आधारभूत आवश्यकता पुरा गरिदिएको भए यी गुनासाहरू आउँदैन थियो होला । मेयर पदमा तपाईंले चुनाव जित्ने आधार के हुन् ? पहिलो कुरा त हाम्रो भिजन नै चुनाव जित्ने मुख्य आधार हो । संघीय प्रणालीको भावना र मर्म अनुसार हामीले जनताको लागि गर्नुपर्ने सानाभन्दा साना आधारभूत आवश्यकतालाई समेटेर घोषणापत्र तयार पारेका छौं । त्यो अनुसार नै म निर्वाचित भए भने काम गर्छु । यस नगरपालिकामा ९९ प्रतिशत जनता कृषि पेसामा आधारित छन् । त्यसैले मैले किसानसँग मेयर भन्ने नारा पनि तयार गरेको छु । उहाँहरूले उत्पादन गरेको कृषि उपजको बजार व्यवस्थापनदेखि खाद्यान्न उत्पादनसम्मका कुराहरू घोषणापत्रमा लिएर जनतासामु गएको छु । यहाँका मतदाताले पनि यस्तै भिजन भएका र काम गर्न सक्ने जनप्रतिनिधि खोजिरहनु भएको छ । हामीले सबैभन्दा पहिले बेलकोटगढीलाई व्यवस्थित बनाउनु पर्छ । त्यसपछि सुशासनको कुरा छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौं । जगत गुरुङ साचिँकै जनमुखी हुन् भन्ने जनताले विश्वास गर्ने आधार दिएको छु । यहाँका जनताले मलाई समाजसेवीको रूपमा चिन्छन् । त्यो हिसाबले मैले यहाँको जनताको विश्वास जित्छु । उहाँहरूको अभिमत मैले प्राप्त गरी जिताउनु हुन्छ भन्ने विश्वास लिएको छु । र, यी सबै कारण नै हाम्रो जितको आधार हो । भनेपछि तपाईंले मेयर जित्ने पक्का हो ? मैले त आफू सुरक्षित छु भनेर दाबी गर्छु । अहिले हामी गठबन्धनमा छौं । साढे ३३ हजार मतदाता भएको यस नगरपालिकामा हाम्रो अनुमानमा कम्तीमा पनि २५ देखि २८ हजार मत खस्छ । जसमध्ये १४ देखि १६ हजार मत लिएर निर्वाचित हुन्छु जस्तो मलाई लाग्छ । जनताले दिएको आश्वासन र जनलहर हेर्दा मैले अत्यधिक बहुमत लिएर जित्छु भन्ने मेरो अपेक्षा छ । राजनीतिप्रति युवा पुस्ता त्यति आकर्षित छैनन्, उनीहरूलाई पनि राजनीतिप्रति आकर्षण बढाउन तपाईंका के कस्ता योजना छन् ? मैले ल्याएका एजेण्डा र मेरा प्रतिबद्धताहरू युवालाई आकर्षित गर्ने खालका छन् । कृषिलाई आधार बनाएर कृषिमा जनशक्तिको उत्पादन गर्नुपर्छ । त्यो भनेको हाम्रो विद्यालयहरूमा ८ देखि १२ कक्षासम्म कृषि विषयमा वा व्यवहारिक शिक्षा समावेश र अनिवार्य अनि निःशुल्क गर्नुपर्छ भनेर भनेका छौं । कृषि विषयलाई हामीले अनिवार्य स्कुल लेबलमा नै गर्न सक्यौं भने भोलिका दिनमा कृषिका लागि दक्ष जनशक्ति स्थानीयस्तरमा नै उत्पादन गर्न सक्छौं । र, कृषि नै संवृद्धि र परिर्वतको आधार हो भन्ने नारा तयार पारेका छौंं । अहिले हजारौं युवा रोजगारीको खोजीमा बिदेसिएका छन् । ती युवालाई नेपालमै कृषिमा आधारित पेशा अपनाई रोजगारीमूलक बनाउन सक्छौं । शिक्षाको क्षेत्रमा पनि व्यवहारिक शिक्षा दिन सकिन्छ भन्ने खाल्का कार्यक्रमले गर्दा युवाहरू अलिक बढी आकर्षित भएको पाइन्छ । यहीँ रोजगारीको अवसरहरू सिर्जना गरी युवाहरू विदेशिनु पर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्नेछौं । ५ वर्षभित्रमा राम्रो काम गरेर युवालाई पनि राजनीति चासोको विषय बनाएर देखाउने छौं । गरिब, असहाय, तथा विपन्न वर्गका नागरिकको लागि विकासको मूल प्रवाहमा ल्याउन के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ? हामीले गरिब, असहाय, जनजाति, जेहेन्दार तथा विपन्न वर्गका परिवारका बालबालिकाहरूलाई उच्च शिक्षासम्म निःशुल्क गराउने भनेका छौं । हामीले ज्येष्ठ नागरिक, बालबालिकाको संरक्षणको जिम्मेवारी लिनेछौं । अपाङ्ग, असक्त भएका व्यक्तिहरूलाई पनि सहयोग गर्नेछौं । गरिबीको रेखामुनि भएका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाउने छौं । निर्माण भएका सडकलाई कृषि सडकको रूपमा स्तरोन्नति गर्ने, सहुलियत नगर यातायात सञ्चालन गर्ने, इन्टरनेटको सेवा सुविधा सबैतिर पुर्याउने छौं । विद्युतलाई कृषि अनुदानको रूपमा वितरण गर्ने जस्ता सहुलियत प्रदान गर्ने कार्यक्रमले गर्दा लक्षित वर्गलाई धेरैभन्दा धेरै सम्बोधन गर्नेछौं । सडक, ढल, खानेपानीको व्यवस्थापन तथा व्यवस्थित सहरीकरण गर्न तपाईसँग के कस्ता कार्यक्रम छन् ? यो ग्रामीण नगरपालिका हो । ग्रामीण इलाका भएको कारणले गर्दा ढलको त्यति धेरै आवश्यकता पर्दैन । जति पनि यहाँका सडकहरूले हाइवेसम्म छुन्छन् ती सडकहरू पक्की बनाउनु पर्छ । यी कुरा गर्नको लागि नगरको बजेटले मात्र सम्भव हुँदैन । तर, वाह्य स्रोत तथा संघ र प्रदेश सरकारको सहयोगमा आर्थिक स्रोत जुटाएर सबै सडक कालोपत्रे गर्नेछौं । खेतीयोग्य जमिनमा घरहरू बन्दै छन् भने त्यसलाई अलिकति निरुत्साहित गरी करको दायरमा ल्याउने हो । सामुदायिक रूपमा आयआर्जन गर्ने खालका जस्तै रुखहरू तथा चिराइतोका बिरुवाहरू रोपी आर्थिक उपहज गर्न सकिन्छ । तपाईंको प्रतिस्पर्धीलाई के भन्न चाहनु हुन्छ ? २०७४ सालका निर्वाचित मेयर राजेन्द्ररमण खनाल मेरा प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट मेयर पदमा पुनः उठ्नु भएको छ । म उहाँलाई के भन्छु भने तपाईं निर्वाचित हुँदा नगरपालिकामा के काम गर्नुभयो र तपाईले परिकल्पना गरेको काम भयो त भनेर जनतालाई गएर सोध्नुहोस् । तपाई नामको मात्रै मेयर बन्नुभयो कि कामको मेयर हुनुभयो भनेर भन्नुहोस् । यस नगरलाई नमुना बनाउने तपाईंको योजना जनतालाई सुनाउनुहोस् । तपाईंले गरेको विकासको एकचोटी आत्मासमीक्षा गर्नुहोस् र अगाडि बढ्नुहोस् भन्न चाहन्छु । किनकि उहाँलाई जनताले स्विकार्ने परिस्थिति देखिँदैन । निर्वाचित हुनुभयो भने शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई कसरी अगाडि बढाउनु हुन्छ ? स्वास्थ्य सर्वसुलभ र जनमुखी सेवा हुनुपर्छ । प्रत्येक वडामा प्रसूति सेवा सहितको स्वास्थ्य केन्द्रदेखि लिएर एम्बुलेन्सको सुविधा सञ्चालन गर्नेछौं । घरदैलो छोडेर बाहिर हिँड्न नसक्ने वृद्ध वृद्धालाई घरघरमा स्वास्थ्य सेवा पुर्याउने छौं । गुणस्तरीय शिक्षा भनेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाको लागि चाहिने पूर्वाधारहरू निर्माण गर्नेछौं । अहिले पाइरहेको शिक्षा भनेको परम्परागत शैलीको छ । यसलाई हामीले परिवर्तन गर्नुपर्छ । गुणस्तरीय शिक्षाको लागि प्रविधिमैत्री वातावरण मिलाउने छौं । निर्वाचित हुनुभयो भने ५ वर्षभित्रमा बेलकोटगढी कस्तो नगरपालिका हुन्छ ? पाँच वर्षमा जादुको छडी जस्तो दिनको रात, रातको दिन गर्न सकिदैन । तर, यो समयभित्रमा पूर्वाधार विकास, जनताको आधारभूत कुराको पुरा गर्न सकिन्छ । बेलकोटगढीको सबै क्षेत्रमा समानुपातिक विकास हुनेगरी परियोजनाहरू सञ्चालन गर्नेछौं । पर्यटकीय सहरको रूपमा विकास गर्नेछौं । उर्वर जमिनमा उत्पादकत्व बढाउनको लागि आधुनिक तरिकाबाट खेती गर्ने हो । अन्त्यमा, मतदाताहरूलाई केही भन्न चाहनुहुन्छ ? हामी निर्वाचको मुखैमा छौं । वैशाख ३० गते मतदाताको लागि एउटा अवसर पनि हो । यस चुनावमा तपाईंहरुको अपेक्षा, समस्याको समाधान गर्न सक्ने जनप्रतिनिधि चुन्न सक्नु भएन भने तपाईहरुले सधै भोगेको देखेको अभाव उस्तै हुन्छ । हाम्रोलाई होइन, राम्रोलाई चुन्नुहोस् । काम गर्न सक्ने भिजन भएको जनप्रतिनिधि चुन्नु होला भन्न चाहन्छु । र, मलाई मतदान गरी जिताउनु हुन्छ भन्ने कुराको पनि विश्वास लिएको छु ।