डोटीमा ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी
डोटी । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त नगरपालिकाको नौ वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए । शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । सो नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ । पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६, सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जना, आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जना, केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८ जना, बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि ११५, बडिकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जना तथा जोरायल गाउँपालिकामा ३२ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । डोटीमा सात पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीका नौ स्थानीय तहमा कूल ६५ वडा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । सबै पार्टी घरदैलो अभियानमा जुटेका छन् ।
महानगरहरूका मेयर उम्मेदवार, कस्ता कस्ता छन् विकासका मुद्दा ?
काठमाडौं । स्थानीय तह निर्वाचन आउन १७ दिन बाँकी छ । सबै स्थानीय तहमा प्रत्यासीहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभरका ६ वटा महानगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता भइसकेको छ । जसमध्ये ३ महानगरपालिकामा निवर्तमान मेयर पनि चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचनमा महानगरहरूमा सत्तारुढ दलहरूर प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । देशको राजधानी पनि रहेको काठमाडौं महानगरको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस नेतृ सिर्जना सिंह उम्मेदवार बनेकी छन् भने एमालेले केशव स्थापितलाई छनोट गरेको छ । बागमती प्रदेशको प्रदेशसभा सांसद जितेका स्थापित मुख्यमन्त्रीका दाबेदार थिए । पछि भौतिक पूर्वाधारमन्त्री बनाइए । तर, यौन दुर्व्यवहारको विवादमा परेपछि पदबाट बर्खास्त गरिए । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी सिंह कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । निर्वाचित भएपछि काठमाडौंलाई सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्ने योजना रहेको सिर्जना सिंह बताउँछिन् । उनले आफू महिला भएकाले महिलाका समस्या सम्बोधन गर्ने जानकारी दिइन् । काठमाडौंको उत्थान, विकास, स्वास्थ्य र सुरक्षित सहर बनाउने कुरामा जोड दिने सिंहले जानकारी दिइन् । ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उनले बताइन् । महानगरका तर्फबाट सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र बालबच्चाका लागि विशेष कार्यक्रम लिएर आउने सिंहको योजना छ । एमालेबाट उम्मेदवार बनेका स्थापित भने यसपालि जसरी पनि आफूले चुनाव जित्ने दाबी गर्छन् । काठमाडौं महानगरको मेयर पहिला पनि भएकोले आफूले पहिला सुरु गरेका र थप नयाँ योजना कार्यान्वयन गर्ने स्थापितले जानकारी दिए । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका थिए । महर्जन ललितपुर महानगरको निवर्तमान मेयर पनि हुन् । महर्जनले घोषणापत्रमा स्मार्ट महानगर बनाउने घोषणा पहिला नै गरेका थिए । यसअघि ललितपुरको मेयरमा चिरिबाबुसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन पनि दाबेदार थिए । तर, चिरिबाबुले बाजी मारेका हुन् । पाइपलाइनमा थुप्रै विकासका योजनाहरू बनाई अगाडि बढेको चिरिबाबु महर्जन बताउँछन् । सो पाइपलाइनमा वातावरणीय सुधारदेखि लिएर स्वास्थ्य, शिक्षा लगायतका विषयहरू समेटिएका छन् । ‘पहिला निर्वाचित भएर आउँदा कुनै पनि योजनाहरू पाइपलाइनमा थिएन, विगत ५ वर्षको दौरानमा धेरै कुराहरू घोषणापत्रमा राखेको छु, पुन: निर्वाचित भएर जानासाथै कार्यान्वयन गर्ने छु,’ उनले भने । उनले स्थानीय तहको निर्वाचनमा महानगरको मेयर पदमा निर्वाचित हुने दाबी गरे । विगतमा गरेको कामभन्दा २ गुणा बढी विकास निर्माणको काम गर्ने शक्ति प्राप्त भएको महर्जन बताउँछन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । उनी यसअघिको स्थानीय तह निर्वाचनमा पनि प्रत्यासी थिए । स्थानीय समस्या समाधान गरी विकास निर्माणका कार्य अघि बढाउने आफ्नो योजना रहेको व्यञ्जनकार बताउँछन् । वीरजञ्जको मेयरमा एमालेले विजय सरावगीलाई उम्मेदवार बनाएको छ । उनी वीरगञ्जका निवर्तमान मेयर पनि हुन् । स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित विजयी सरावगी दुई महिनाअघि एमालेमा प्रवेश गरेका हुन् । उनीमाथि ५ वर्षको अवधिमा राम्रो र अघिल्लो निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा नगरेको आरोप लाग्ने गरेको छ । उनले १६ वटा ग्रामीण इलाकालाई स्याटलाइट सिटीको रूपमा विकास गर्ने, पुरानो वीरगन्जलाई नयाँ सहरको विकास गर्ने, पहिला सञ्चालन गरेका कामको पूरा गर्ने, बालमैत्री वीरगन्जको रूपमा विकास गर्ने योजना रहेकोले पुनः मेयरको प्रत्यासी भएको बताए । ‘नगरपालिकामा ५ वर्षमा धेरै काम गरेका छौं तर, स्रोतको कमी भएको कारण अपेक्षित काम भने गर्न सकिएन, जस्तो साढे ४ वर्ष भयो महानगरमा डिजिटल इन्जिनियरको व्यवस्थापन गर्न नेपाल सरकारले सकेन, लोकसेवाले पनि कर्मचारी व्यवस्थापन रोक्यो, करारमा नियुक्ति गरे भए पनि महानगरको काम अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने । वीरगन्ज महानगर आर्थिक र औद्योगिक क्षेत्र हो । आफू निर्वाचित भए भने ५ वर्षभित्र महानगरका विद्यार्थीले जुनसुकै विषय पनि पढ्न पाउने, स्मार्ट सहरको रूपमा महानगरलाई विकास गर्ने जस्ता योजना रहेको सरावगीले बताए । सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दिएका हुन् । केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर उनी जनता समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका हुन् । उनले पनि विकास निर्माणका एजेन्डालाई नै प्राथमिकता दिएका छन् । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहालले उम्मेदवारी दिएकी छन् । उनी निवर्तमान मेयर पनि हुन् । दाहालको कार्यकालमा भरतपुर महानगरमा विकास निर्माणका कार्यले गति लिएको र नेपालकै राम्रो महानगरमा भरतपुर परेको मेयर दाहालको दाबी छ । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुन् । एमालेले भने विजय सुवेदीलाई मेयरको टिकट दिएको छ । सुवेदीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ‘सुन्दर र समृद्ध भरतपुर’ शीर्षकमा २३ पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । सुवेदीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दिएका हुन् । निर्वाचित भए भने गुरुयोजना बनाई काम अगाडि बनाउने उम्मेदवार विजय सुवेदी बताउँछन् । सम्पूर्ण नागरिकको अभिलेखीकरण गरेर गरिबीको रेखामुनि रहेकाहरूको रोजगारीको व्यवस्थापन गर्ने योजना रहेको सुवेदीले बताए । समृद्धिको लागि रोजगारीको सिर्जना गरी उद्यमशील समाजको विकास गर्ने सुवेदीले जनाए । सुवेदीका अनुसार भरतपुरलाई समृद्ध र मानवीय सहरको अगाडि बढाउने योजना छ । ‘निर्वाचित भए भने ५ वर्षमा महानगरको कुनै पनि ठाउँमा फोहोर देख्न पाउनु हुने छैन, खान, लाउन र बस्न नपाउने अवस्था हुने छैन, हरियाली स्वाछ र समृद्ध सहर बनाएर देखाउने छौं,’ उनले भने । संसारको राम्रो सहरमध्येको भरतपुरलाई एक बनाउने परिकल्पना गर्दै अगाडि बढाउने पनि उनले दाबी गरे । प्रदेश १ अन्तरगत पर्ने विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता नागेश कोइराला मेयरको उम्मेदवार बनेका छन् । यसअघि काँग्रेसकै तर्फबाट उम्मेदवार बनेका भीम पराजुलीले मेयरमा चुनाव जिते पनि काँग्रेसले उनलाई दोहोर्याएन । उनले आफू निर्वाचित भएमा करको दर कम गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रको उल्लेख्य विकास गर्ने, पार्क लगायत खुला स्थानको विकास गर्ने, सडक पूर्वाधार निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने र तटबन्द निर्माण गर्ने योजना रहेको सुनाए । एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेश अन्तरगतको पोखरा महानगरको मेयर पदमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य उम्मेदवार बनेका छन् । एमालेको तर्फबाट भने कृष्ण थापा उम्मेदवार बनेका छन् ।
नेपाली सेनाको स्कटीङमा मतपत्र ढुवानी हुँदै
काठमाडौं । निर्वाचन आयोगले स्थानीत तह निर्वाचनका लागि मंगलबारदेखि ६३ जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगले सोमबारसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएपछि ढुवानी सुरु गर्न लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छपाई भएका मतपत्र आजदेखि सम्बन्धित जिल्लामा ढुवानी गर्न लागिएको जानकारी दिए । आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । ‘जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको कडा सुरक्षा निगरानीमा मतपत्र छपाईको काम हुँदै आएको छ, आजदेखि सेनाको स्कटिङमा ६३ जिल्लामा मतपत्र ढुवानी सुरु हुन्छ’, उनले भने, ‘मतपत्र छपाईदेखि जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेनाकै कडा सुरक्षा निगरानीमा मतपत्र राखिन्छ । मतपत्र ढुवानीदेखि रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिईएको छ ।’ निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । पहिलो चरणको ढुवानी कर्णाली प्रदेशमा आयोगले पहिलो चरणमा मतपत्र ढुवानी कर्णाली प्रदेशका लागि गर्न लागेको छ । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो । आयोगले हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट मतपत्र ढुवानी गर्ने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत चैत १६ गतेबाट मतपत्र छपाइको काम शुरू भएको थियो ।